×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकल अंकमा आयो निक्षेपको ब्याजदर : अब वाणिज्य बैंकमा ९.३६% र विकास बैंकमा ९.५०% ब्याज, फाइनान्समा कति ?

काठमाडौँ । अन्ततः वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर एकल अंकमा झारेका छन् । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि यसअघि जारी गरेको ब्याजदर संशोधन गर्दै एकल अंकमा झारेका हुन् । वाणिज्य बैंक मात्र नभएर विकास बैंक र फाइनान्स कम्पनीले पनि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेका छन्, जुन बुधवार र बिहीवारदेखि नै लागू भइसकेको छ ।
संशोधित ब्याजदरअनुसार अब वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ९ दशमलव ३६ प्रतिशतसम्म ब्याज दिनेछन् । यसैगरी विकास बैंकहरूले ९ दशमलव ५० र फाइनान्स कम्पनीहरूले ९ दशमलव ६० प्रतिशतको अधिकतम ब्याजदर निर्धारण गरेका छन् ।
बैंकिङ क्षेत्रमा तरलताको अभाव कायमै भएपछि कात्तिकका लागि ७ वाणिज्य बैंकले मात्र दोहोरो अंकको निक्षेप ब्याजदर निर्धारण गरेका थिए । त्यसमा एनआईसी एशिया बैंकले सबैभन्दा बढी अर्थात् ११ दशमलव १० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्‍याएका थिए । यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि ब्याजदर ह्वात्तै बढाएका थिए ।
खासमा तरलताको अभाव भएपछि बैंकहरूले असोजदेखि ब्याजदर बढाउन थालेका थिए । असोजमा सनराइज बैंकले मात्र दोहोरो अंकको अर्थात् १० दशमलव ०७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । कात्तिकमा आएर सनराइजले ब्याजदर एकल अंकमा ल्याएपनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफूखुशी ब्याजदर बढाएर दोहोरो अंकमा पु¥याएका थिए ।
यसरी बैंकहरूले जथाभावी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले गत मंगलवार मासिक रूपमा १० प्रतिशतले मात्रा ब्याजदर तलमाथि गर्न निर्देशन दिएको थियो । साथै, कात्तिकका लागि निर्धारण गरिएको ब्याजदर तत्काल संशोधन गर्न पनि निर्देशन दिएको थियो । त्यतिले मात्रा नपुगेर राष्ट्र बैंकका अधिकारीहरूले बुधवार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशकहरूलाई फोन नै गरेर ब्याजदरका सीमा नै तोकिदिएका थिए । अहिले आएर बैंक तथा वित्तीय संस्थाहरूले सोहीअनुसार नै नयाँ ब्याजदर लागू गरेका हुन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको नीतिअनुसार निक्षेपको ब्याजदर एकल अंकमा झारेको बताए । ‘बैंकहरूले ब्याजदर बढाउन थालेपछि ब्याजदर स्थिरताको बहस उठ्यो । ब्याजदर स्थिरताका लागि दबाब पनि आउन थाल्यो,’ उनले भने, ‘त्यस अवस्थामा राष्ट्र बैंकबाट पनि ब्याजदर नियन्त्रण गर्न निर्देशन आयो । त्यसपछि हामीले ब्याजदर संशोधन गरेका हौं ।’
ब्याजदर घटेसँगै अब उद्योग व्यवसाय गर्नेहरूलाई सहजता प्रदान हुने उनको भनाइ छ । ‘निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्छ । यो अवस्थामा ऋण लिएर उद्योग व्यवसाय गर्नेहरूलाई थप सहज हुनेछ,’ उनले भने ।
ब्याजदर घटाउँदा केही बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतमा कायम गर्न चुनौती हुने उनको भनाइ छ । ‘ब्याजदर घटेपछि सीडी रेसियो ९० प्रतिशतभन्दा माथि भएका बैंकहरूलाई समस्या हुन सक्छ । यस अवस्था त्यस्ता बैंकहरूलाई राष्ट्र बैंकले केही सहयोग गर्न आवश्यक छ,’ उनले भने, ‘साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि ऋण किनिदिएर सहयोग गर्न पर्ने हुनसक्छ ।’ -आर्थिक अभियानबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: