×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंक लुट प्रकरण : फितलो सुरक्षा व्यवस्थापनले घटायो घटना, कर्सिया- बिराटनगर कनेक्सन खोज्दै प्रहरी !

विराटनगर ।सिटिजन्स बैंक लुट प्रकरण अहिले चर्चामा छ ।  मोरङको धनपालथान गाउँपालिका–२ कर्सियास्थित सिटिजन बैंकको शाखामा सोमबार दिउँसो भएको लुटपाटलाई लिएर अहिले त्यहाँको सुरक्षा व्यवस्थापनमाथि पनि ठुलो प्रश्न उठेको छ । दिउँसै लुटेरा समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्डमाथि गोली चलाएर, काउन्टरबाट झन्डै २१ लाख रुपैयाँ लुटेर फरार हुनु र घटना घटेको ३ दिनसम्म पनि पैसा नभेटिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । घटनामा संलग्नमध्ये प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगर–३ मुनालपथका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ त छ, तर पैसा अझै भेटिएको छैन भने अझै अन्य ६ जना लुटेरा फरार छन् ।

कमजोर सुरक्षा व्यवस्थापनको फाइदा उठाए लुटेराले…

यसो त मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याएकै बखत प्रदेश राजधानी रहेको जिल्ला मोरङका लागि यो दोस्रो लुटपाटको घटना हुनुलाई प्रहरीले गरेको सुरक्षा व्यवस्थापनसँग जोडेर पनि हेर्न थालिएको छ । यस अगाडी प्रदेश राजधानी विराटनगरको मध्य बजारमै लुटपाटको घटना भएको थियो । त्यहाँ एक गार्मेन्टमा प्रवेश गरेर ५० हजार नगद चोरिएको थियो । सो घटना भएको केहि दिन पछाडी नै कर्सियामा बैंक लुटिएको हो । विराटनगर–कर्सिया १५ किलोमिटरमात्र टाढा छ । प्रहरीले यो विषयलाई लिएर बिराटनगर र कर्सियाको कनेक्सनसमेत खोज्दैछ ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसी, प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ, प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्ग यो घटनापछि निरन्तर घटनाको अनुसन्धानमा आफैं सहभागी भएका छन् । तर यसअघि चाडपर्वका बेला तस्करसँग प्रहरी नै मिलेर सुरक्षास्थिति कमजोर बनाएको आरोप प्रहरीलाई लागिरहेको थियो । वितगमा समेत चाडपर्व नजिकीएपछि प्रहरीले तस्करीको लाइन खोल्ने गरेको थियो । यस पटक त्यो भन्दा फितलो निगरानीमा तस्करीको लाइन चलाउन दिएका कारण हतियारधारीको समूह प्रवेश गरेको दक्षिणवर्ती क्षेत्रका जनताको आरोप छ ।

अरु लुटेरा पनि छिट्टै पक्राउ पर्नेछन्… : प्रवक्ता श्रेष्ठ

मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले सुरक्षा योजना कार्यन्वयनमा समस्या नरहेको दावी गरेपनि निरन्तर लुटका घटना हुनुले सुरक्षास्थिति कति कमजोर थियो र छ भन्ने बुझिन्छ । तर श्रेष्ठ भने अरु लुटेरा पनि छिट्टै पक्राउ पर्ने दाबी गरिरहेका छन् । विराटनगरमा तीनदिन अगाडी पसल लुट्ने र कर्सियामा बैंक लुट्ने समूह एउटै हो वा फरक–फरक भन्ने विषयलाई पनि अनुसन्धानको विषय बनाएर प्रहरीले विराटनगर–कर्सिया कनेक्सनबारेसमेत अनुसन्धान भने गरिरहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: