×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटकको आकर्षण केन्द्र बन्दै फोक्सुण्डो ताल, मनै लोभ्याउने दृश्य देख्नको लागि पर्यटकहरुको ओहिरो

PRIME CA

पर्यटकको आकर्षण केन्द्र बन्दै फोक्सुण्डो ताल, मनै लोभ्याउने दृश्य देख्नको लागि पर्यटकहरुको ओहिरो

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

जाजरकोट । नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ । हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ । शे-फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पनि हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू-धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार-विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो शे फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे गुम्बा पनि यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाको चाहना अनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको छैन । डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।

तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ । पछिल्लो समय फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो छ । त्यस्तै हवाई मार्गमार्फत गएमा झनै मन लोभ्याउने दृश्य देख्न सकिने पर्यटकहरु बताउँछन् । बास बस्नका लागि ठाउँठाउँमा होटेलहरु निर्माण गर्ने क्रम जारी छ । बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा पर्यटकलाई लोभ्याउने प्राकृतिक क्षमता छ । डोल्पा मात्र होइन, छिमेकी जिल्लाको समृद्धिको ठूलो आधार ताल बन्न सक्छ । ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र छ । -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: