म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण झरनाको रौनक बढ्दै गएको छ । बेनी-जोमसोम-कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत पर्ने रुप्से झरनामा रमाउन देशका विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढेको हो । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा समय बिताउने गरेका छन् । मोटरसाइकल र निजी सवारी तथा भाडाका सवारीसाधन हुँदै मुस्ताङ आउनेजाने पर्यटकको रोजाइमा रुप्से झरना पर्ने गरेको छ । गत वर्ष आएको भीषण बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । अग्लो पहाडबाट खस्ने यस झरनामा पर्यटकले तस्वीर खिचाउने र टिकटक बनाउने गरेका छन् ।
पूर्वाधार निर्माणसँगै चिटिक्क परेको रुप्से झरनालाई गत वर्ष बाढीले क्षति पुर्याएको भए पनि कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि रुप्सेमा रमाउन आएका पर्यटकका कारण रुप्से झरना पुनः पुरानै लयमा फर्किएको हो । विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । रुप्से झरना र अन्धगल्छी उच्च पर्यटकीय सम्भावना भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन् । पर्यटकलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन् । झरनामा रमाउनका लागि आएका पर्यटक सडकमै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ । रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यूटावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयसमेत व्यवस्था हुनुपर्ने पर्यटकको माग छ ।
विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । साविकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग तथा भ्यूटावर निर्माण गरेको छ । अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले आधारभूत आवश्यकताको पूर्वाधार विकासमा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोको बलि चढाउने गर्छन् । झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्