×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेन्चुरी बैंकको खाताबाटै पैसा चोरी प्रकरण : बैंकले स्वीकार्यो आफ्ना कर्मचारीको बदमासी (Exclusive भिडियो)

काठमाडौँ । ग्राहकको किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेको प्रकरणमा बैंकले आफ्ना कर्मचारीले बदमासी गरेको स्वीकारेका छन्। अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका सूचना अधिकारी राजेश भण्डारीले यो प्रकरणमा बैंकको गल्ती भएको स्वीकारेका छन् । पार्वती विष्टलाई दिइएको नक्कली भौचरमा बैंकको छाप भने सक्कली भएकाले आफुले आफ्ना ग्राहकलाई जोगाउनुपर्ने भन्दै भण्डारीले पक्राउ परेका कर्मचारीको सम्पत्तिबाट असुलउपर गरी ग्राहकको पैसा फिर्ता गर्नेगरी तयारी भईरहेको बताउँदै यो प्रकरणमा बैंक नै दोषी भएको स्वीकारेका छन् ।

‘त्यो गाउँको ब्रान्च हो । त्यहाँ जसले पनि जसलाई पनि चिन्छ । यहि चिनजानका आधारमा गरिएको कारोबारमा अहिले समस्या देखिएको हो ।’ बैंकका सूचना अधिकारी राजेश भण्डारीले अर्थ सरोकारसँग भने, ‘हाम्रो कर्तव्य भएको ग्राहकको निक्षेप जोगाउनु हो र त्यो हामी जोगाउँछौं ।’ उनका अनुसार आफ्ना कर्मचारीले बदमासी गरेको पुष्टी भएपछी बैंकले नै उनीमाथि पुलिस केस गरेको थियो । ‘हामीले पार्वती विष्टको प्रकरण थाहा पाएपछि हामी आफैंले पनि पुलिस केस गरेको हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै भण्डारीले भने-‘सेन्चुरी कमर्सियल बैंक आफ्नो ग्राहकको निक्षेप फिर्ता गर्न प्रतिबद्ध छ ।’ साथै उनले यो प्रकरणमा पंकज न्यौपाने दोषी नभएको तर उनले आफ्नो चेक राईलाई दिंदा उनी फसेको आरोप लगाएका छन् ।

अहिलेका ब्रान्च मेनेजरमाथि पनि शंकै शंका, हेड अफिसका एक कर्मचारीले सिकाएको आरोप !

यसो त अहिलेका बैंकका चतरा शाखाका ब्रान्च मेनेजर पनि यो प्रकरणमा शंकाको घेरामा भने परेका छन् । यस प्रकरणबारे नजिकका मान्छेसंग घन्टौं गफिने उनी आफु निकटका मिडियाहरुलाई मात्र यस विषयमा धारणा दिने गरेका छन् । उनले सकेसम्म आफ्ना कर्मचारीलाई बचाउनुपर्छ, निक्षेपकर्ताको पैसा जे सुकै होस् भन्ने शैलीमा व्यवहार गर्दा उनीमाथि पनि अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ । यो प्रकरणमा फसेका पंकज न्यौपानेका साथीहरुले पनि बैंकका अन्य कर्मचारीहरुलाईसमेत छानविन गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाएका छन् । ‘यो प्रकरण केशब राई एक्लैको दिमागले भ्याउने कुरा होइन । बैंकका अन्य कर्मचारीहरुको मिलेमतो पक्कै हुनुपर्छ । उनीहरुमाथि पनि छानविन गरिनुपर्छ ।’ फिल्ड रिपोर्ट बनाउन घटनास्थलमै पुगेका अर्थ सरोकारकर्मीलाई न्यौपानेका आफन्तले भने ।

यता यस घटनाका विषयमा बैंकभित्रकै कतिपय कर्मचारीले भने हेड अफिसका एक सिनियर कर्मचारीले राईलाई यसो गर्न सिकाएको आरोप लगाएका छन् । बैंकका कर्मचारीहरुले बैंकका एक उच्च तहका कर्मचारीको नाम नै किटेर, फलानोले यस प्रकरणमा राईलाई यस्तो गलत धन्दा गर्न सिकाएको आरोप लगाएका हुन् । यता बैंकका सूचना अधिकारी राजेश भण्डारीले भने यो आरोपको खण्डन गरेका छन् । ‘तपाईले जसको नाम लिनुभएको छ उहाँ हाम्रो बैंकको सिनियर मान्छे हो । डिपोजिटसँग सम्बन्धित व्यक्ति भएकाले कसैले रिसका आधारमा उनलाई पोल्न खोजेको हुन सक्छ । तर उनी त्यस्ता व्यक्ति होइनन्  ।’ उनले भने । ‘तर तपाईंलाई ठिक लागेकै आधारमा आरोप लागेका व्यक्तिमाथि अनुसन्धान नै नगर्ने भन्ने पनि हुन्छ र ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यस्तो होइन, अनुसन्धान शंका लागेको मान्छेमाथि गरिनुपर्छ । तर उनीचाहिं मेरो विचारमा त्यस्ता व्यक्ति होइनन् ।’

काण्ड नै काण्डको बैंक बन्यो सेन्चुरी !

यसो त सेन्चुरी कमर्सियल बैंक काण्ड नै काण्डको बैंक बनेको छ । केहि बर्ष अगाडीदेखिको डलर काण्डदेखि अहिलेको पैसा चोरी काण्डसम्म आइपुग्दा सेन्चुरी कमर्सियल बैंक बाहिर बोक्रो भित्र खोक्रो जस्तो बनिसकेको बैंककै कर्मचारी बताउँछन् । केहि समय अगाडी एक इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पनि सेन्चुरी कमर्सियल बैंकलाई ‘डुब्न लागेको बैंक’ को संज्ञा दिएका थिए । त्यति बेला पनि सेन्चुरी र उनको दुबैको विरोध भएको थियो । बैंकमा केहि समय अगाडी एक संचालकको सर्टिफिकेटसमेत नक्कली भएको पाइएको थियो । अर्थ सरोकारले यस विषयमा समाचार प्रकाशन गरेपछि उनले राजिनामा दिएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: