×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंक किर्ते काण्ड : सिद्धार्थ बैंक पनि अनुसन्धानमा तानियो, केसलाई तोडमोड गर्न हाकिमसाप’हरु सक्रिय !

काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागज बनाएर कुमारी बैंक लिमिटेडबाट १९ करोड ऋण झिकीएको प्रकरणमा सिद्धार्थ बैंक पनि तानिएको छ । कुमारी बैंकबाट प्रवाह भएको कर्जा सिद्धार्थ बैंकमा रहेको खातामार्फत गएकाले सिद्धार्थ बैंक पनि यो प्रकरणमा तानिएको हो । अर्थ सरोकारलाई प्राप्त जानकारी अनुसार सीआइबीले सिद्धार्थ बैंकका अधिकारीहरुसँग पनि यस प्रकरणमा सोधपुछ गरेको छ । यस प्रकरणमा सिद्धार्थ बैंकको समेत मिलेमतो छ वा छैन भन्ने विषय पनि खोजीको विषय बनेकाले सीआइबीको अनुसन्धान त्यसतर्फ पनि सोझिएको बुझिएको छ ।

सिद्धार्थ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार कुमारी बैंक लिमिटेडले डायनिल ट्रेडिङको नाममा स्वीकृत गरेको १९ करोड रुपैयाँ कर्जा बिलुवाभूमि नामक कम्पनीको नाममा रहेको सिद्धार्थ बैंकको खातामा गएको थियो । सो रकम कुन प्रयोजनका लागि प्रयोग भएको थियो भन्ने विषय भने अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ ।

‘सिद्धार्थ बैंकको एक लोन सेटल गर्न सो रकम प्रयोग भएको हुनसक्ने शंकाका आधारमा सीआइबीले थप अनुसन्धान गरिरहेको छ । हामीले पनि सीआइबीलाई अनुसन्धानमा सघाईरहेका छौँ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘कुमारी बैंकले सिधै सो खाताबाट पैसा तानेको हल्ला पनि चलेको छ, जुनचाहिं सहि होइन । यो प्रकरण मिलाउन कुमारीले ऋणीसँग सक्कल धितो माग गरेको थियो र सोहि अनुसार ऋणीहरुले सक्कल धितो उपलब्ध गराएका थिए ।’

किन तानियो सिद्धार्थ ?

सिद्धार्थ बैंकले पनि सो रकम राखेको खाता सक्कली कागजातकै आधारमा खाता खोलाएको हो वा नक्कली कागजातका आधारमा खोलाएको हो भन्ने अनुसन्धान सुरु भएपछी सिद्धार्थ बैंक यस प्रकरणमा तानिएको हो । यो पूरै केसमा सिद्धार्थ बैंककै मिलेमतोको शंका पनि गरिएको छ । कुमारी बैंकका पूर्व सीइओ सिद्धार्थ बैंकबाट नै गएकाले त्यतिबेला बिकसित सम्बन्धका आधारमा सिद्धार्थ बैंकका अधिकारीहरुले पनि मिलेमतोमा यो घटना घटाएको हुन सक्ने शंकाका आधारमा सीआइबीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ । सिद्धार्थमा रहेको सो खातालाई अनुसन्धान गर्दा खाता एउटाको तर अख्तियारी अर्कैलाई दिइएको पाइएको उनको भनाई छ ।  डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमले कुमारी बैंकमा बुझाएको नक्कली कागजातको आधारमा सिद्दार्थ बैंकमा पनि नक्कली खाता खोलेर पैसा राखेको विषयमा सीआइबीले अनुसन्धान जारी राखेको छ । यो प्रकरणमा त्यसो नै गरिएको प्रमाणित भएमा सिद्धार्थ बैंकका कर्मचारी पनि यो प्रकरणमा तानिनेछन् ।

केस मिलाउन हाकिमहरु सक्रिय !

खास कुरा त के हो भने यो प्रकरणमा जग्गा राखिएको भनिएको लालपूर्जा नक्कली थियो भन्ने तथ्य बैंकलाई सुरुमै थाहा थियो । बैंकले यसरी पहिला पनि नक्कली कागजातउपर ऋण दिएको थियो । कुमारी बैंककै स्रोतलाई आधारमान्ने हो भने यो नक्कली कागजात राखेर ऋण दिएको सातौँ पटक हो । ६ पटकसम्म बैंकले यसरी किर्ते कागजउपर ऋण दिएको प्रकरण बाहिर आएको थिएन । यसपाली योगेश्वर अमात्यले सीआइबीमा उजुरी गरेपछि यो प्रकरण बाहिर आएको हो । मुख्य कुरा यहाँ हाकिमहरुको नियतको हो । उनीहरुले हामीलाई थाहा नै छैन भनेर यो प्रकरण मिलाउन खोजिरहेका छन् । यसका लागि कुमारी बैंकका हाकिमहरुले राजनीतिक शक्ति लगाएर सीआइबीको अनुसन्धानलाई पनि असर गर्न खोजेको पनि बुझिएको छ । अव सीआइबीले नियतको परिक्षण कसरी गर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । यसअघि बैंक अफ काठमान्डूमा यस्तै प्रकरण हुँदा सीआइबीले बैंकका पूर्व सीइओलाईसमेत पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर यसपाली बैंकका सीइओहरुलाई नियन्त्रणमा नलीई सीआइबीले प्रकरणमा अनुसन्धान भईरहेको छ भन्नुले पनि कतै अनुसन्धानमा प्रभाव त पारिएन ? भन्ने शंका गर्ने ठाउँ छ । यसो त कुमारी बैंकका सीइओ र डेपुटी सीइओ पनि बैंकमा बिदा लिएर पुन: बैंकमै पुगेर काम गरिरहनुले पनि अनुसन्धानमा प्रमाण नष्ट गर्ने काम भएको हुनसक्ने अनुमान गरिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: