×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंक किर्ते काण्ड : ‘विवादित’ अनुजमणिलाई सीइओ बनाउने बोर्डको तयारी, मनिसलाई ‘बिटो थमाएर’ बिदा !

काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागज बनाएर ऋण लिएको प्रकरणमा अनुसन्धानमा तानिएका कुमारी बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीनालाई नैतिक आधारमा राजिनामा गराउनुपर्नेमा बैंकले उल्टै सीइओको जिम्मा दिने तयारी गरेको छ । हाल बिदामा बसेका अनुजमणि तिमिल्सीनालाई बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेगरी आगामी बोर्डमा एजेन्डा लैजान लागेको बैंकका एक संचालकले दाबी गरेका छन् । बैंक लामो समयदेखि सीइओविहीन भएको अवस्थामा बैंकले अनुजमणिलाई नै सीइओको जिम्मा दिएर काममा फर्काउने तयारी गरेको उनको दाबी छ । बैंकका हालका डेपुटी सीइओ मनिस तिमिल्सीनालाई भने भीआरएसका नाममा बैंकबाट बिदा गर्ने रणनीतिबारे छलफल भईरहेको उनको भनाइ छ ।

‘बैंक लामो समयदेखि सीइओविहीन छ ।  थर्डम्यानका भरमा बैंक धेरै चल्नु हुँदैन भनेर सीइओको एजेन्डा आगामी बोर्डमा जान लागेको कुरा सत्य हो । अनुजमणिलाई नै सीइओ दिने कि अरु नै ल्याउने भन्ने विषयमा पनि छलफल भएको हो । तर अहिले धेरै बैंकमा सीइओको पद खाली भएकाले र बाहिरबाट पनि कुमारी खासै कोहि आउन तयार नदेखिएकाले अनुजमणि तिमिल्सीनालाई नै बैंकको सीइओ बनाउने तयारी भएको हो ।’ बैंकका एक संचालकले अर्थ सरोकारसँग भने- ‘किर्ते प्रकरणमा अनुजमणि तिमिल्सीना सम्बन्धि राष्ट्र बैंकको रिपोर्टले उनलाई सफाई नै दिएको बुझेका छौं । त्यसैले अव तिमिल्सीनालाई सीइओ बनाउन कुनै पनि समस्या छैन ।’

‘अनि किर्ते प्रकरणमा आफैं तानिएका र प्रकरणका मुख्य योजनाकार नै उनका साथी भएको अवस्थामा यस्ता विवादित व्यक्तिलाई सीइओको जिम्मेवारी दिएर हुन्छ त ?’ हाम्रो प्रश्नमा उनले भने- ‘यो तपाईं, म वा कसैले भन्नेचीज होइन । राष्ट्र बैंकले नै यो प्रकरणमा उनको बदनियत छैन भनेर रिपोर्ट दिएपछी हामीले त त्यसैलाई मान्नु परिहाल्यो नि ।’ ‘राष्ट्र बैंकको प्रतिवेदनले त उनको बदिनियत देखिएको प्रारम्भिक रिपोर्ट बनाएको छ भन्ने समाचार बाहिर आएको होइन र ?’ हाम्रो प्रश्नमा उनले भने, ‘प्रारम्भिक रिपोर्ट र अन्तिम रिपोर्टमा फरक छ नि । तपाईं आफैं सिए पढेको मान्छे, अडिटरले लेखेका सबै कुरा फाइनल रिपोर्टमा आउंदैनन् नि, त्यस्तै बुझ्नुहोस् न !’ ‘ भनेपछि राष्ट्र बैंकसँग कुरो मिलेछ… यसरी बुझ्नुपर्यो हो ?’ हाम्रो प्रश्नमा ती संचालकले भने, ‘राष्ट्र बैंकसँग कुरो मिल्यो भन्दा पनि अनुजमणिको बदनियत छैन रहेछ भन्ने केहि थोरैले गरेको शंकाचाहिं मिल्यो भनौं न ।’

अनि मनिस तिमिल्सीनाको के हुन्छ ? हाम्रो प्रश्नमा उनी हाँस्दै भन्छन् ‘मनिसजीले त सीइओलाई कारवाही गर्नुपर्छ भनेर तपाईंकै मिडियामा बोलेको होइन र ? अव कारवाही हुनुपर्छ भनेको मान्छे सीइओ भएपछी उनी त बैंकमा बस्दैनन् होला नि !’

‘भनेपछि उनलाई निकाल्ने योजना हो ?’ हाम्रो प्रश्नमा ती संचालकले भने बैंकमा डेपुटी सीइओ भएको मान्छेलाई निकाल्न मिल्दैन । निकाल्न मिल्ने भएको भए उहाँ अहिलेसम्म त्यहाँ हुनुहुन्नथियो पनि होला । अव उहाँलाई भीआरएसको विकल्प दिनेबारे छलफल गरेका छौं । तर अनुजमणिले फेरी मनिस त नभई हुन्न भने भने हामीले मनिसलाई पनि कुमारीमा राख्नुपर्ने हुन्छ ।’

‘भनेपछि अव अनुजमणि काममा फर्किंदैछन् ?’ हाम्रो प्रश्नमा उनले भने- ‘अव सबैठाउँबाट सफाई पाएपछी घरमा बसेर भएन नि ! सीइओकै जिम्मेवारी लिएपछी काममा त आउनुपरिहाल्यो नि !’

‘त्यसो भए सबै कुरा मिल्यो, अव यो प्रकरणमा ठुलाको केहि हात छैन भन्ने बुझ्नुपर्यो ?’ हाम्रो प्रश्नमा उनले थपे – ‘त्यसो पनि नभनौं । सीआइबीले यो केसमा अनुसन्धान गरिरहेको छ । हाम्रा कर्मचारी हिरासतमा छन् । भ्यालुएटर अझै पनि बाहिर निस्किन सकेका छैनन् । हाम्रो बैंकलाई भ्यालुएटरहरुले अहिले बहिस्कार गरेका छन् । सबै कुरा कहाँ मिलेको छ र !’

यता सीइओ तिमिल्सीनाले भने यस प्रकरणमा कुनै धारणा दिएनन् । हामीले यस विषयमा बुझ्न अनुजमणि तिमिल्सीनालाई फोन गर्दा उनले एसएमएस पठाए- आइ विल कल यु लेटर’ तर उनको ‘लेटर’ यो समाचार तयार गर्दासम्म आइपुगेन । डेपुटी सीइओ मनिस तिमिल्सीनाको भने फोन अफ छ ।

कुमारी बैंकको किर्ते काण्डको थप फलोअप सिरिज यो लिंकमा पढ्न सक्नुहुनेछ

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: