×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

“विद्युत स्वच्छ ऊर्जा हो, यसलाई जीवन व्याबहारमा सहज बनाउँदै लैजानुपर्छ” : ऊर्जामन्त्री भुसाल

GLOBAL IME BANK
SHREE KESH

“विद्युत स्वच्छ ऊर्जा हो, यसलाई जीवन व्याबहारमा सहज बनाउँदै लैजानुपर्छ” : ऊर्जामन्त्री भुसाल

२२ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनका लागि आफूले ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्ने नीति लिइएको बताएकी छिन् । भुसाल भन्छिन्, “विद्युत स्वच्छ ऊर्जा हो, यसलाई जीवन व्याबहारमा सहज बनाउँदै लैजानुपर्छ”, ।

नेपाल सौर्य विद्युत उत्पादक संघको २१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति आफूले अगाडि बढाएको बताईन् । उनी भनिछन्, “विद्युत् खपत हुँदा परम्परागत ऊर्जा खपतमा कमी आइ स्वच्छ ऊर्जाको प्रयोगमा बढोत्तरी हुन्छ ।”

प्रविधिका कारण तुलनात्मकरूपमा सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र छोटो समयमा उत्पादन गर्न सकिने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत सहयोगी हुने मन्त्री भुसालको तर्क छ । सौर्य ऊर्जा उत्पादन दिनको समयमा मात्रै हुने भए पनि पछिल्लो समय विकास भएका अवधारणाले त्यसलाई झनै सहज बनाउँदै लगेको उल्लेख गर्दै उनले, “पछिल्लो समय ‘वान शन, वान वल्र्ड, वान ग्रिड’को अवधारणा विकास भएको छ । यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ ।”

नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोतहरू भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौति पनि बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो । परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै मन्त्री भुसालले परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औंल्याईन् ।

नवीकरणीय ऊर्जा प्रवद्र्धनमा विश्व नै लागेको बताउँदै उनले नेपालले पनि नवीकरणीय ऊर्जा प्रयोगको नीतिलाई अबलम्बन गर्दै जानुपर्ने आवस्यकता रहेको बताईन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन(कोप–२६)मा नेपालले गरेको प्रतिवद्धता पूरा गर्नका लागि पनि नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न आवश्यक रहेको मन्त्री भुसालले उल्लेख गरिन् ।

सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रीत ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उनले १० प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताईन् । उनले,“वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यत सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख हुन् ।” हाल ऊर्जा प्रणालीमा करिब २१ सय मेगावाट विद्युत जडित क्षमता छ ।

दश प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत जडान गर्न सकिने मन्त्री भुसालको विश्वास छ । उहाँका अनुसार हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत खरिद बिक्री सम्झौता(पिपिए) गरिसकेका छन् । तीमध्ये करिब ४० मेगावाट सञ्चालमा आइसकेको छ । सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चूलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीहरूको प्रवद्र्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पर्याउन र जनताको जीवनस्तर माथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताईन् ।

छ वटा प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उनले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको बताउनुभयो । सौर्य विद्युत उत्पादकहरूले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेतना फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: