×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दिनदहाडै ग्राहक कुट्ने कर्मचारीको बचाउमा एनआईसी एशिया, ‘मुक्का हान्ने संस्थागत नीति छैन, स्थिति नै त्यस्तै आइलाग्यो’

सुनसरी । दिनदहाडै ग्राहकमाथि हातपात गरेर दादागिरी देखाउने एनआईसी एशिया लघुवित्तले आफ्ना त्यस्ता उत्सृन्खल कर्मचारीको बचाउ गर्दै स्थिति त्यस्तै आइलागेकाले कर्मचारीले ग्राहकमाथि हातपात गरेको तर्क गरेका छन् । घटनाबारे संस्थागत धारणा दिंदै लघुवित्तका सूचना अधिकारी अर्जुन श्रेष्ठले ‘अवस्था नै त्यस्तै आइलागेको भन्दै’ आफ्ना कर्मचारीको बचाउ गरेका हुन् । केहि दिन अघि ग्राहकसँग किस्ताको विषयमा भनाभन हुँदा एनआइसी एशिया लघुबित्त बित्तीय संस्था लिमिटेडका कर्मचारीले महिलामाथि हातपात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सुनसरीको दुहबीस्थित एक पसलमा किस्ता उठाउन आएका एनआइसी एशियाका कर्मचारीले महिलामाथि हातपात गरेको, ग्राहकलाई कुटेर घाइते बनाएको, ग्राहकमाथि अश्लील गाली गरेको लगायतका विषयमा प्रहरीमा उजुरी परेको थियो ।
एनआईसी एशियाका कर्मचारी ग्राहकको पसलमा प्रवेश गरी किस्ताका विषयमा कुराकानी गर्दैगर्दा स्थिति असहज भएको हो । ग्राहकको पसलमा रहेको सिसिटिभीमा क्याप्चर भएको सिसिटिभी फुटेज हेर्दा एनआईसी एशियाका कर्मचारी र ग्राहकबीच हानाहान भएको देखिन्छ । एनआईसी एशियाका कर्मचारीले विना अनुमति ग्राहकको भिडियो खिच्न थालेपछी स्थिति असहज भएको प्रत्यक्षदर्शीहरुको भनाई छ । पछि बैंकका कर्मचारीले ग्राहकलाई भकाभक कुटेको देखिन्छ भने त्यसपछी ग्राहकले कर्मचारीलाई जुत्तैजुत्ताले हानेको देखिन्छ ।
घटना बाहिरिएपछि लघुवित्तले कर्मचारीलाई दिएको अनुशासनको तालिममाथि पनि प्रश्न उठेको छ । यसै बिषयमा अर्थ सरोकारले संस्थाका चिफ बिजनेश अफिसर तथा सूचना अधिकारी श्रेष्ठसँग कुराकानी गरेको छ । प्रस्तुत छ सोहि कुराकानीको अंश :
अर्थ सरोकार सम्बाददाता : तपाईंका कर्मचारीले त सुनसरीमा ग्राहकलाई हातपात नै गरेछन् नि ?
अर्जुन श्रेष्ठ : कहाँ बाट थाहा पाउनुभयो ?
सम्बाददाता : कहाँबाट थाहा पाउनु भयो भन्दा पनि घटना ठिक भएन नि होइन र ?
अर्जुन श्रेष्ठ : अँ ! ठिक भएन ।
सम्बाददाता : तपाईंहरुको कर्मचारीले हात नै हालेको देखिएको छ, यो फौजदारी कसुर लाग्ने काम भयो नि होइन र ?
अर्जुन श्रेष्ठ : अव यो फौजदारी भयो कि के भयो भन्ने कुरा त हाम्रो लिगलले हेर्छ, मलाई ठ्याक्कै थाहा भएन । हातपात भएको भन्नेचाहिं हो । अव उता पनि सोध्नुस न के भएको रहेछ भनेर ।
सम्बाददाता: अनि कर्मचारीले हातपात गर्नु त ठिक भएन नि ? कि मान्छे कुटेर भएपनि पैसा असुल्नुभन्ने नीति छ ?
अर्जुन श्रेष्ठ : तपाईंको प्रश्न नै मिलेन । संस्थाको कहाँ त्यस्तो नीति हुन्छ ? स्थिति नै त्यस्तो आइलाग्यो र घटना भयो ।
सम्बाददाता : तपाईंका कर्मचारीले मान्छे कुटेका छन्, कुनै कारवाही त हुनुपर्छ होला नि !
अर्जुन श्रेष्ठ : अव त्यो माथि सिनियर मेनेजमेन्टले के गर्छ, त्यो थाहा भएन । स्थितिचाहिं त्यस्तै आइलाग्यो र घटना भयो ।
सम्बाददाता : भनेको कुट्न छुट पनि हुन सक्छ । कर्मचारीलाई कारवाही नहुने सम्भावना पनि छ ? स्थिति नै त्यस्तै आइलाग्यो भनेर बचाउ गर्न खोज्नुभयो ?
अर्जुन श्रेष्ठ : म बाइक चलाउँदैछु । पछि कुरा गर्छु ।
(फोन काटिन्छ)
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: