काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । २०७७ माघको तुलनामा ४.९ प्रतिशतले रेमिट्यान्स घटेको हो ।माघ महिनामा मात्रै ७२ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो । सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।
साथै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बितेको सात महिनामा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतल घटेको थियो ।