×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सप्तकोशी बैंक घोटाला प्रकरण : ‘धितोपत्र बोर्डलाई घुस खुवाउन सीइओले अन्तिमपटक डेढ करोड लगे.…'(बयानसहित)

बिराटनगर । झन्डै १६ करोड रुपैयाँ घोटाला भएको सप्तकोशी डेभलपमेन्ट बैंकमा बैंकका तत्कानीन सीइओ नविन सुवेदीले धितोपत्र बोर्डलाई घुस खुवाउनका लागि पैसा चाहियो भन्दै करोडौं रुपैयाँ लैजाने गरेको खुलासा भएको छ । बैंकका तत्कालीन जनरल सर्भिस डिपार्टमेन्टका प्रमुख हिमाल भट्टराईलाई फसाएर बैंकका तत्कालीन सीइओ सुबेदीले बोर्डका उच्च अधिकारीहरुलाई घुस खुवाउनका लागि भन्दै करोडौं रुपैयाँ लैजाने गरेको बयान दिएपछि बैंकभित्रको यस्तो रहस्य खुलेको हो । नातामा भान्जा पर्ने भट्टराईलाई प्रयोग गरेर सुवेदीले बैंककोकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचन गरेको अभियोग पत्रमा उल्लेख छ ।

‘धितोपत्र बोर्डमा घुस बुझाउन १ करोड ५० लाख’
सुरुमा अभद्र व्यवहारको मुद्धा लगाएर हिमाल भट्टराईलाई मात्र फसाउन खोजेका सुवेदीले धितोपत्र बोर्डलाई घुस खुवाउन भन्दै १ करोड ५० लाख रुपैयाँ रकम लिएको बयान दिएका हुन् । सो बयान उच्च अदालतमा दर्ता भएको अभियोग पत्रमा उल्लेख छ । अर्थ सरोकारलाई प्राप्त अदालतमा पेश भएको अभियोगपत्रको पृष्ठ नम्बर ६ मा हिमाल भट्टराईले धितोपत्र बोर्डमा घुस खुवाउन भन्दै नविन सुवेदीले करोडौं रुपैयाँ लैजाने गरेको बयान दिएका छन् । ‘अचानक आजभन्दा करिब ३ महिनाअगाडि फेरि पनि धितोपत्र बोर्डलाई घूस दिनुपर्ने भयो भनी मेरो करेन्ट एकाउण्ट प्रयोग गरी करिब ७० लाखदेखि ८० लाख जति निकाल्न लगाई उक्त रकम नवीन सुवेदीले लानुभयो’–उनले दिएको बयानमा उल्लेख छ । उनको सो बयानले उनले यसअघि पनि धितोपत्र बोर्डमा घुस बुझाउन भन्दै करोडौं रुपैयाँ लैजाने गरेको संकेत गर्छ । सुवेदीले बैंकमा घोटाला गरेको रकम सेयरमा समेत हालेको चर्चा चलेका बेला उनको यो बयानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो घुस रकम धितोपत्र बोर्डका तत्कालीन अधिकारीसम्म पुगेको छ कि छैन भन्ने विषयमा भने प्रहरीले थप अनुसन्धान गरेको छैन ।

अभियोगपत्रमा उल्लेख भएको विवरणअनुसार हिमाल भट्टराईले विभिन्न मितिमा चार पटक रकम झिकेका छन् । भट्टाराईले ९९९००००६४४०११ नं. खाताबाट सन् २०२१ अक्टोबर २६ तारिखमा ७७ लाख ९७ हजार ८ सय ८० रुपैयाँ, २०१८ अप्रिल १ मा १९ लाख ३१ हजार १ सय ६९ र २०१६ मार्च २७ गते ४२ हजार ५ सय रुपैयाँ रेमिट र खर्च खाताबाट रकम झिकेको देखिएको छ । यस्तै उनले यसैगरी कमल दाहाल र मनोज भट्टराईको खाताबाट विभिन्न मितिमा २–२ पटक रकम झिकेको अनुसन्धानले देखाएको छ । यस्तै कमल दाहालको रेमिट खाताबाट २०१६ अगष्ट १ तारिखमा २ लाख ६० हजार, २०१६ मार्च ३० तारिखमा खर्च खाताबाट १ लाख १३ हजार ६ ८० रुपैयाँ झिकेका छन् । यस्तै अभियोगपत्रमा उल्लेख भएको विवरणअनुसार मनोज भट्टराईको खाताबाट २०१६ ओक्टोबर ६ तारिखमा रेमिट खाताबाट ३३ लाख ८१ हजार ६३ र खर्च खाताबाट सोही मितिमा १ लाख ९३ हजार ४८ रुपैयाँ अपचलन भएको देखिएको छ भने चुडाबहादुर निरौलाको खर्च खाताबाट २०१६ मार्च २१ तारिखमा ४१ हजार रुपैयाँ झिकेको देखिएको छ ।

अपचलन गरेको रकममध्ये रेमिट खाताको सन् २०१६ अगष्ट ७ तारिखदेखि बबिता बस्नेतको खाता नं. ९९९०००१५००१५ बाट १४ करोड ५ लाख २१ हजार ३ सय ६५ रुपैयाँ र खर्च खाताबाट सन् २०१६ अप्रिल २२ तारिखमा १ लाख ७२ हजार ३ सय ७० रुपैयाँ गरी ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन गरेको अभियोग पत्रमा उल्लेख छ ।

धितोपत्र बोर्डका अधिकारीमाथि पनि शंका !
यसो त यस प्रकरणमा प्रहरी धितोपत्र बोर्डसम्म पुगेको छैन । यद्यपी नविन सुबेदी बैंकमा रहेर सेयर बजारमा चलेखेल समेत गर्थे भन्ने चर्चा चलेका बेला र उनले अहिले घोटाला गरेको रकम पनि विभिन्न व्यक्तिका नाममा घरजग्गा र सेयरमा हालेको चर्चा चलिरहेका बेला बोर्डका अधिकारीहरुले उनले दिएको घुस खाए वा खाएनन् भन्ने विषय पेचीलो देखिएको छ । अजोड इन्स्योरेन्स प्रकरणदेखि अन्य इन्साइडर प्रकरणसम्ममा बोर्डका कर्मचारी घुस खाएरै केस मिलाउने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत पटक पटक उजुरी परेको छ । यसअघि बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले ३ करोड रुपियाँ लिएर अजोडको केस मिलाएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले यस विषयमा छानविन अगाडी बढाएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: