×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा बिकास बैंकमा करोडौंको ‘ऋण काण्ड’ : भ्यालुएटरले आत्महत्या गरेपछि यसरि खुल्यो पोल… !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

कामना सेवा बिकास बैंकमा करोडौंको ‘ऋण काण्ड’ : भ्यालुएटरले आत्महत्या गरेपछि यसरि खुल्यो पोल… !

काठमाडौँ । केहि समय अगाडी प्रदेश नम्बर १ का नेपाल थरका चर्चित भ्यालुएटरले आत्महत्या गरे । महिनाको लाखौँ कमाउने उनले आत्महत्या गर्नुको कारण र वरपरका घटना चर्चा गर्न लायकका छन् । उनले डिप्रेसनका कारण आत्महत्या गरेको भनिएको छ । र उनको डिप्रेसनको कारण भने कामना सेवा बिकास बैंक लिमिटेडको एउटा प्रकरणसँग जोडिएको छ भन्ने चर्चाका आधारमा प्रहरीले कामना सेवा बिकास बैंकका विभिन्न अधिकारीहरुसँग बयानसमेत लिएको छ । र यहि उनको आत्महत्यासँगै कामना सेवा बिकास बैंकमा भएको करोडौंको ऋण काण्डको खुलासासमेत भएको छ ।
भएको के हो ?
पहिला नेपालले आत्महत्या गरेको दिनको पृष्ठभूमि हेरौं । केहि दिन अघि कामना सेवा बिकास बैंकका बिजनेश हेड सुरेश उप्रेतीसहितको टिम पूर्व पुगेको थियो । ७ बजे विहान नेपालले आत्महत्या गर्नु अगावै अर्थात विहानै कामनाको टिमले जिल्ला छोडीसकेको थियो । कामना सेवा बिकास बैंकका एक स्थानीय कर्मचारीले दिएको जानकारी अनुसार नेपालले झन्डै ३ करोड मात्र पर्ने जग्गाको भ्यालुएसन झन्डै ८ करोड गरेको पाईएपछि बैंकको टिम आएर उनलाई यस विषयमा आफुहरु कानुनी उपचारमा जाने भन्दै थर्काएका थिए । आफु करोडौंको केसमा जेल जाने डरले उनले आत्महत्या गरेको अनुमान सबैको भएको कामनाकै कर्मचारीहरु बताउँछन् । यस विषयमा बैंकका बिजनेश हेड सुरेश उप्रेतीले आफुहरुमाथि यस विषयमा प्रहरीले अनुसन्धान गरेको र आफुले यस विषयमा सम्बन्धित प्रहरी कार्यालयमै गएर बयान दिएको स्वीकारेका छन् । ‘नेपाल सरले सुसईड गर्नुभएपछि प्रहरीले हामीलाई यस विषयमा अनुसन्धान गरेको सत्य हो । हामीले बयानसमेत दिईसकेका छौं ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘तर बाहिर चर्चामा आएजस्तो हामीले उहाँलाई थर्काएको वा प्रेसर दिएको होइन । भ्यालुएसनमा समस्या आएको देखेपछि हाम्रो रेगुलर इन्सपेक्सन टिम पूर्व पुगेको थियो र सोहि अनुसार हामीले उहाँसँग कुरा गरेका मात्र थियौँ । बाँकी जानकारी हामीले प्रहरीलाई दिईसकेका छौं। ‘
साना साना फाइल गरी झन्डै ४० करोडको अनियमितता !
जव नेपालले आत्महत्या गरे, त्यहाँको माहोल यस्तोसम्म भईदियो कि नेपालका आफन्तले आफ्ना मान्छेलाई कामना सेवा बिकास बैंकमा काम गर्न दिन छोडे । अर्थात आफ्ना मान्छेलाई बैंक छोड्न पटक पटक दबाब दिए उनका आफन्तले । र यसको कारण थियो- कामना सेवा बिकास बैंकमा भएको करोडौंको घोटाला । कामना सेवा बिकास बैंककै कर्मचारीका अनुसार बैंकमा करोडौंको घोटाला भएको छ । एकातर्फ पूर्वमा २१ लाख रुपैयाँ कठ्ठा पर्ने जग्गालाई ७०-८० लाख भ्यालुएसन गरी करोडौंको कर्जा प्रवाह भएको छ, जसका कारण ठुलो ऋण जोखिमपूर्ण बनेको छ भने एउटाको नाममा अर्कोले ऋण खाएर तिर्न नै नसक्ने अवस्थामा रहेको ऋणसमेत झन्डै ४० करोडको छ । ‘२ करोड, ४ करोड, ३ करोड गरेर थुप्रै फाइल एउटाको नाममा लोन गएको छ, सम्पत्ति एउटाको छ, पैसा अर्कोले चलाएको छ, पैसाजति क्रिप्टोमा गएको आशंका छ, पैसा फिर्ता हुने सम्भावना निकै कम छ । यस्तो ऋण फाइलको संख्या नै प्रदेश नम्बर १ मा मात्र झन्डै ४० करोडको छ ।’ कामना सेवा बिकास बैंककै एक कर्मचारीले ऋणकाण्डबारे भने, ‘नेपाल सरले आत्महत्या गरेपछि यहाँ काम गर्ने वातावरण नै छैन । केहि साथीहरुले त कामना सेवा बिकास बैंकको आइडी कार्ड भिरेर गाउँमा हिड्नसमेत अफ्ट्यारो भएपछी राजीनामा दिनुभएको छ । नेपाल राष्ट्र बैंकले यहाँ इन्सपेक्सन गर्ने हो भने झन्डै ४० देखि ४५ करोडसम्म प्रोभिजन गर्नैपर्ने ऋण भेट्टाउँछ। ‘
कामना सेवा बिकास बैंकका प्रदेश नम्बर १ का पूर्व प्रमुखले एकाएक राजिनामा दिएर बस्नु, भ्यालुएटरले आत्महत्या गर्नु, बैंकमा कुनै पनि समय जे पनि हुन सक्ने भन्दै त्यहाँका स्थानीयले आफ्ना मान्छेलाई बैंकमा जागिर खान नदिनु, त्यहाँका कर्मचारीले पनि जागिर खानै नसक्ने स्थिति भएको भन्दै राजिनामा दिनुले बैंकभित्र कति ठुलो घोटाला छ भन्ने तथ्यलाई थप पुष्टी गर्ने जानकारहरुको ठम्याई छ । ‘साना-साना फाइल भएकाले ठुलो लफडा बाहिर आएको छैन । नेपाल सरले आत्महत्या गरेको विषय पनि खासै बाहिर आएन । सप्तकोशी बैंकमा १६ करोड घोटाला हुँदा कति ठुलो इस्यु बन्यो, कामना सेवा बिकास बैंकको झन्डै ४० करोड फसिसकेको छ ।’ कामना सेवा बिकास बैंकका एक उच्च अधिकारीले भने, ‘आन्तरिक रिपोर्टसमेत हामीलाई बैंकमा करोडौंको अनियमितता भएको भन्ने नै छ । तर बैंककै जागिरे भएकाले मैले यस विषयमा आधिकारिक रुपमा धेरै बोल्न मिल्दैन, सूचना अधिकारी र सीइओसँग जानकारी लिन सकिन्छ ।’
के भन्छ बैंक ?
यस विषयमा बैंकका सूचना अधिकारी एवम् सीइओ प्रविन बस्नेतले भने बैंकभित्र करोडौंको घोटालाबारे कुनै पनि आन्तरिक रिपोर्ट नभएको दाबी गरे । ‘हाम्रो इन्सपेक्सन टोली पूर्व पुगेको थियो । नेपाल राष्ट्र बैंकको इन्सपेक्सन पनि पुगेको थियो । कहीं कतैबाट पनि करोडौंको ऋणबारे रिपोर्ट आएको छैन । यद्यपी केहि कैफियतहरु भने देखिएका छन्, यसलाई विस्तारै सेटल गर्दैछौं ।’ यता बैंकका सहायक सूचना अधिकारी घनश्याम ढुंगेलले भने घुमाउरो पारामा बैंकभित्र घोटाला भएको प्रकरण स्वीकारेको अनुभूति हुनेगरी जवाफ दिए । ‘कैफियतहरु देखिएका छन् । नेपाल सरको आत्महत्या प्रकरणमा कामना सेवा बिकास बैंकका उच्च अधिकारीहरुको प्रहरीले बयान पनि लिएको हो । केहि फाइलहरु बिग्रेका भन्ने हामीले पनि जानकारी पाएका हौँ । त्यसबाहेक विस्तृत विवरण हामीसम्म आईपुगिसकेको छैन ।’ यता कामना सेवा बिकास बैंकका स्थानीय कर्मचारीले भने नेपाल राष्ट्र बैंकको इन्सपेक्सन टोली पछिल्लो केहि समय यता बैंकमा आएको भन्ने सीइओको भनाई गलत भएको दाबी गरेका छन् । ‘राष्ट्र बैंकको इन्सपेक्सन टोली आएको भए त हामीलाई थाहा भई नै हाल्थ्यो नि । झन्डै ४० करोड ऋण उठ्न नसक्ने अवस्थामा छ । दबाब थेग्न नसकेर भ्यालुएटरले आत्महत्या गरेपछि यहाँ हामीलेसमेत काम गर्ने स्थिति छैन। काठमाडौँमा बसेर यहाँको स्थिति कसरी थाहा हुन्छ ? राष्ट्र बैंकको टिम आओस्, दुधको दुध, पानीको पानी छुट्टीहाल्छ ।
(क्रमश:)     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: