×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानी र औद्योगिक विकासको वातावरण बनाउन सरकार प्रतिवद्ध छ, उपत्यकालाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउँछौ’ : प्रधानमन्त्री(भिडियो)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले काठमाडौं उपत्यकालाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताउनुभएको छ । मंगलबार सो बन्दरगाहको उद्घाटन समारोहमा बोल्नु हुँदै प्रधानमन्त्री देउवाले यो सेवा सञ्चालन हुँदा काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास हुने बताउनुभएको हो । उहाँले उपत्यकाबाट हुने व्यापारलाई सहजीकरण गर्न र व्यापारको लागत घटाउन बन्दरगाहले सहयोग गर्ने बताउनुभयो । त्यसैगरी वस्तु तथा सेवाको आयात र निर्यातलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सुख्खा बन्दरगाहले भूमिका खेल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘यसकारण सुख्खा बन्दरगाह सञ्चालनमा आएपश्चात मुलुकको आयात निर्यात व्यापारमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजीकरण गर्न, व्यापारको लागत घटाउन र वस्तु तथा सेवाको आयात निर्यातलाई थप व्यवस्थित गरी प्रतिस्पर्धा र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । यो सुख्खा बन्दरगाहको निर्माणले राजधानिलाई अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न कोसेढुंगा हुने मैले अपेक्षा लिएको छु ।’

प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरुको आवश्यकता पर्ने बताउनुभयो । उहाँले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सिपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बताउनु भयो । उहाँले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक बिलाशिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘बढ्दो व्यापार घाटालाई कम गर्न हामीले एकातिर स्वदेशी कच्चा पद्धार्थ र स्वदेशी श्रम र सिपमा आधारित उत्पादनमा जोड दिनुपर्ने अवस्था छ । यसको अतिरिक्त वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई न्यूनिकरण गर्दै लानुपर्ने अवस्था छ । वैदेशिक व्यापारमा रहेका विभिन्न प्रकारका समस्या समाधान गर्न सरकार निजि क्षेत्रसँग सम्वाद, सहकार्य गर्न तयार छ । व्यापार घाटा कम गर्न नेपालको प्रतिस्पर्धात्मक क्षमता भएको स्वदेशी कच्चा पद्धार्थमा आधारित उत्पादनशील क्षेत्रमा लगानी बढाई निर्यात क्षमता बढाउने र अनुत्पादक विलाशिताका वस्तु आयातलाई व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न म सम्पूर्ण उद्योगपति, व्यवसायीहरुलाई आग्रह गर्न चाहान्छु ।’

प्रधानमन्त्री देउवाले नेपालमा रेल आवश्यक भएपनि बनाउन धेरै खर्च लाग्ने बताउनुभयो । कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो व्याजदर अथवा ग्राण्टमा पाए रेल ल्याउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘रेल आवश्यकता छ तर रेल बनाउन धेरै खर्च लाग्नसक्छ । त्यसकारण कुनै दातृ राष्ट्रहरुसँग, दातृ संस्थाहरुसित हामीले एकदमै सस्तो व्याजदरमा होस् अथवा ग्राण्टमा होस् । त्यो भयो भने रेल फाइदाजनक हो । फाइदा हुनेछ । रेल ल्याएर महङ्गो भएर फेरी समस्यामा नेपाल नपरोस् । व्यापार घाटा बढेको बढेकै छ त्यसकारण यसमा ध्यान पुर्याउनुपर्छ भन्ने लाग्छ । यस सम्बन्धमा हामी सबै साथीहरुसँग सल्लाह गरेर के गनुपर्छ गर्छौ ।’ प्रधानमन्त्री देउवाले लगानी र औद्योगिक विकासको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: