×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकका संचालक कर्णको Exclusive अन्तर्वार्ता : ‘मलाई फसाउने षड्यन्त्र हुँदैछ, १ पैसा पनि घुस मागेको छैन’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शुक्रबारदेखि निलम्वित छन् । स्वायत्त निकायमाथि नेपाल अर्थमन्त्रीले हस्तक्षेप गरेको भन्दै चौतर्फी विरोध भईरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले एक सार्वजनिक कार्यक्रयममै राष्ट्र बैंकका संचालकले घुस मागेको सुनेको भनेपछि यो प्रकरण चर्चामा छ । अर्थमन्त्रीले घुसबारे बोल्नु, गभर्नर निलम्बित हुनुजस्ता घटनाक्रमले सोही दिन दिउँसोदेखि नेपाल राष्ट्र बैंकका सञ्चालक तथा चार्टर्ड एकाउण्टेण्ट सुवोधकुमार कर्णले ३० हजार डलर घुस मागेको चर्चा छ । तर आजसम्म उनले कतै पनि यस विषयमा आफ्नो धारणा राखेका छैनन् । र त हामीले उनीसँग यस प्रकरणमा कुराकानी गरेका छौँ । प्रस्तुत छ अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले उनै कर्णसँग गरेको कुराकानी संक्षेपमा :
१. तपाईंले ३० हजार डलर घुस माग्नुभएको भन्ने विषय चर्चामा छ । खास कुरा के हो ?
मैले ३० हजार डलर त के एक रुपैयाँ पनि घुस मागेको छैन । यो मलाई फसाउने नियोजित षड्यन्त्र हो ।
२. हावा नचली कसरी पात हल्लियो होला र ? यदी घुस लिएको छैन भने किन त्यसको खण्डन गर्नुभएन ?
हावा नचली, राजनीतिक प्रतिशोध साँधेर पात हल्लाउने काम भएको छ । म एमालेको मान्छे भनेर अर्थमन्त्रीका मान्छेहरु म विरुद्ध लागेका छन् । सत्तामा कांग्रेस छ । कांग्रेसमा विनोद चौधरी छन् । उनै चौधरीको काम नगरिदिएपछि मविरुद्ध नियोजित षड्यन्त्र भएको छ । बाँकी खण्डन किन गर्नुभएन भन्ने सवाल छ, म आफ्नो निजी काममा गाउँ आएको छु । म विरुद्ध जे जे समाचार बाहिर आए, मलाई यस विषयमा कसैले सोधेन । तपाईंले सोध्नुभयो, म कुरा गर्दैछु त ।
 
३. विनोद चौधरीले तपाईंलाई किन फसाउनुपर्यो र ? 
नबिल बैंक लिमिटेडको बर्षौं अगाडीको सेयर स्वामित्व विवाद छ । यस प्रकरणमा एनबि इन्टरनेशनलको फाइल राष्ट्र बैंकको संचालक समितिमा आएपछि मैले यस विषयमा प्रश्न गरेको थिएँ । सो स्वामित्व प्रकरण टुंग्याएर अरवौं रुपैयाँ राज्यलाई घाटा पार्ने र चौधरीको झोला भर्ने काम भएको पाएपछि मैले सो केसलाई सेटल हुन दिइन । मलाई यो प्रकरणमा ‘सबैलाई मिलाईसक्यौं, तपाईं किन निहुँ खोज्नुहुन्छ ?’ भनेर पटक पटक  धम्कीसमेत आएको छ । तर म झुकिन । म झुक्दै नझुकेपछी मविरुद्ध षड्यन्त्र भएको छ ।
४. तपाईंले त घुस नदिए मर्जर नै हुन दिन्न भनेर थर्काउनुभएको हल्ला छ नि ?
यो हल्लामा कुनै सत्यता छैन । बैंकहरुलाई थोरै बनाउने राष्ट्र बैंकले नै बनाएको नीति हो । यसमा मैले गर्न दिने वा नदिने भन्ने कहाँ हुन्छ ? कुरा बैंकको सेयर स्वामित्वको प्रकरण हो । सो विवाद नटुङ्गिई, मर्जरको गर्न दिनु हुन्न भनेरचाहिं भनेको हुँ । अहिलेकै केसमा नबिलले एनबिलाई प्राप्ति गर्ने हो भने बैंक नै एउटा व्यापारिक घरानामा जान्छ र सो काम ठिक भएन भनेको हुँ । अर्कोतिर नबिलले एनबिलाई प्राप्ति गर्ने विषयमा मुद्धा पनि छ । त्यसैले यसको स्वीकृति दिईहाल्नु हुँदैन भनेको हुँ ।
५. तर राष्ट्र बैंकले स्वीकृति दियो त ? तपाईं किन बोल्नुभएन ?
सो स्वीकृतिपनि राष्ट्र बैंककै साथीहरुले जालझेल गरेर दिनुभयो । राष्ट्र बैंकले स्वीकृति दिएको दिनको बैठकमा स्वीकृति दिने एजेन्डा नै थिएन । म अर्को बैठकमा जानुपर्ने भएकाले म बाहिर थिएँ । त्यहि दिन विविधमा घुसाएर सो एजेन्डा पास गरिएछ । अव तपाईं आफैं भन्नुस्, यसो गर्न दिनु हुँदैन भन्ने मैले घुस मागें होला कि, सुटुक्क हुँदै नभएको एजेन्डा पास गर्नेले घुस खाए होलान् ? छानविन हुनुपर्दैन ?
६. तर तपाईंले घुस मागेको स्क्रिनशट नै अर्थमन्त्रीकहाँ पुग्यो भन्ने कुरा छ नि ?
तपाईं आफैं मिडियामा काम गर्ने मान्छे, फोटोशप चलाउनु पक्कै हुन्छ होला । एउटा टेम्प्लेट बनाएर त्यसको स्क्रिनशट भन्दै भ्रम छर्ने काम भएको छ । जुनमा कुनै पनि सत्यता छैन । मैले वाट्सएपमार्फत घुस मागेको आरोप लगाइएको छ । सो आरोप पुष्टी गर्न म खुलेआम चुनौती दिन्छु । वाट्स एपको आधिकारिक अफिसबाट मेरो मेसेजको सर्टिफ़िकेसनको तयारी गरिरहेको छु ।
७. अव आरोप लागेपछि संचालक समिति छोड्नुपर्यो होला नि त ?
खासमा म व्यक्तिगत कारणले पहिला नै संचालक छोड्ने मुडमा थिएँ । यो बेला छोडें भने त झन् भ्रम फैलिन्छ । त्यसैले सबै आरोपको फेस गर्छु । आवश्यक परे अदालत जान्छु । गलत केहि नै गरेको छैन भने के को डर । मविरुद्ध राष्ट्र बैंककै केहि साथीहरु हात धोएर लाग्नुभएको छ । सबैको भन्डाफोर गर्छु । काम गरिदिएन भनेर घुस माग्यो भन्ने आरोप लगाउनेहरुका कुरा सुन्दा अदालतले काम गरिदिएवापत कसकसले घुस खायो भन्ने पनि त हेर्ला नि ? त्यसपछि दुधको दुध पानीको पानी बाहिर आइहाल्छ ।
८. अव के गर्नुहुन्छ ?
के गर्नु र ? म नियमित काममा छु । अहिले पारिवारिक कामले काठमाडौँ बाहिर छु । कसैले चोर भनेर चोर भईने होइन । सबै आरोपको फेस गर्छु । बरु अदालत जान्छु तर अहिले राष्ट्र बैंक छोड्दिन । राष्ट्र बैंकमा जे काम पनि गराईहाल्छु नि भन्नेहरुविरुद्ध आफ्नो ठाउँबाट लागिरहन्छु ।
 
९. अन्त्यमा केहि भन्नुछ ?
मलाई आफ्नो धारणा राख्न दिनुभयो, अर्थ सरोकारलाई विशेष धन्यवाद । अरु साथीहरुले मेरो कुरै नसुनी मेरा बारेमा समाचार बनाईदिनुभयो, दुखी छु । कसैलाई भ्रम नहोस्, मैले १ रुपैयाँ पनि घुस मागेको छैन र म घुस माग्ने खालको मान्छे पनि होइन । मेरै आफ्नै कामले मलाई पुगिरहेको छ । फेरी पनि भन्छु, मलाई लगाइएको आरोप राजनीतिक प्रतिशोधबाहेक केहि पनि होइन । यसलाई खुलेर फेस गर्छु । यो केस नटुङ्गिएसम्म राष्ट्र बैंक छोड्दिन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: