×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Ground Zero लुम्बिनी : नरेन्द्र मोदीको भ्रमणपछि भारतीय पर्यटक ह्वात्तै बढे, ‘झण्डै ४० प्रतिशतले व्यापार बढ्यो’

लुम्बिनी । ‘लुम्बिनीको उखरमाउलो गर्मी । तर मायादेवी मन्दिर परिसरमा ठुलो भीड । सँगै रहेका होटलहरुमा निकै राम्रो अकुपेन्सी । स्थानीय व्यापारीहरु व्यापार बढेर मख्ख ।’ लुम्बिनीतिर अहिले यस्तै सकारात्मक परिदृश्यहरु देखिन्छन् । गर्मी सहेर पनि लुम्बिनी घुम्नेहरुको संख्या ठुलो छ । सो संख्याको ठुलो हिस्सा भारतीय पर्यटकहरुको छ। भारतका विभिन्न स्थानहरुबाट लुम्बिनी घुम्न आउनेहरुको संख्या मात्र बढेको छैन, उनीहरुको संख्या बढेपछि स्थानीय व्यापार पनि बढेको छ । त्यहाँका होटलहरु भारतीय पर्यटकहरुले भरिएका छन् । कोभिडका कारण थालिएको त्यहाँको व्यापारमा अहिले फरक खालको रौनकता देखिएको छ । होटलको व्यापार बढेपछि अरु खालका व्यापार पनि बढेका छन् । ‘लुम्बिनी आईहालियो, अव एक पटक पशुपति पनि घुमेर फर्कौं’ भन्दै काठमाडौँ आउने पर्यटकहरु पनि बढेका छन् । यसले भारतीय पर्यटकहरुले नेपालमा गर्ने खर्चको रकम ठुलो बनाएको छ । यी सबै तथ्यहरुको एक खास कारण छ । त्यो हो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीको भ्रमण ।
‘मोदी आएपछि पर्यटकहरु बढे, पर्यटक बढेपछि व्यापार ह्वात्तै बढ्यो’ स्थानीय 
बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहि समय अगाडी गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेका थिए । उनको लुम्बिनी भ्रमणले भारतीय संचारमाध्यममा पनि राम्रै स्थान पाएको थियो । सो भ्रमणले लुम्बिनी र गौतम बुद्धसँग सम्बन्धित कतिपय भ्रमहरु पनि चिर्न सकेको स्थानीयको भनाई छ । बुद्ध जयन्तीकै अवसर पारेर मोदी नेपाल आउँदा मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच उच्च स्तरीय भेट भएको थियो । सो भेटलाई पनि भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन / प्रशारण गरेका थिए ।  लुम्बिनीबाट झन्डै २०० किलोमिटर टाढा पर्ने उत्तर प्रदेशको कुसीनगरमा ओर्लिएर हेलिकप्टरबाट मोदी लुम्बिनी आएका थिए । अहिले ‘मोदी आएको मार्ग’ भन्दै यहि बाटो हुँदै लुम्बिनी आउने भारतीय पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ ।
‘अन्य देशका पर्यटक भन्दा भारतीय पर्यटक बढी खर्चालु’ : पर्यटन व्यवसायी 
यसो त अरु देशका पर्यटकहरु आउँदा भन्दा भारतीय पर्यटकहरु आउँदा नेपालमा बढी खर्च गर्ने स्थानीय पर्यटन व्यवसायी एलपी कंडेलको भनाई छ । ‘भारतीय पर्यटकहरु खुलेर खर्च गर्छन् । तीर्थाटन गर्दा होस्, वा मनोरंजन गर्दा, उनीहरुले गर्ने खर्च अरु पर्यटकहरुको भन्दा बढी हुन्छ । कतिपय देशका पर्यटकहरु त आउँछन्, सिमित खर्च गर्छन्, अनि जान्छन् । अझ चीनबाट आउने पर्यटकहरुले त पेमेन्ट पनि उतै गरेर आएका हुन्छन्, यता थप केहि खर्च पनि गर्दैनन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘अहिले होटलहरुलाई पनि अरु पर्यटकहरु राख्न भन्दा भारतीय पर्यटकहरु राख्न फाइदा हुन्छ ।’ उनका अनुसार नरेन्द्र मोदी नेपाल आएको केहि दिन यतादेखि नै त्यहाँको माहोल परिवर्तन भएको छ । ‘मोदी फर्किएपछि यहाँ त झन् पो पर्यटक बढे । धेरैले मोदी नेपाल आएपछि यहाँको धेरै कुरा थाहा पाएको र यहि अनुसार नेपाल आएको बताईरहेका छन् ।’
मिसन लुम्बिनीको भ्रमण तर घुमघाम काठमाडौँ पनि 
मोदीको नेपाल भ्रमणपछि लुम्बिनीबारे थाहा पाएका धेरै भारतीय पर्यटकहरु यति बेला लुम्बिनी घुम्न आउने गरेका छन् । लुम्बिनीबाट कतिपय पर्यटकहरु हवाईमार्ग हुँदै काठमाडौँ ओर्लिएर पशुपतिको दर्शन गरिरहेका छन् भने धेरैजसो पर्यटक भने गाडीमार्फत काठमाडौँ आउने गरेका छन् । धेरै पर्यटकहरु भने लुम्बिनी, पोखरा र काठमाडौँको प्याकेज नै बनाएर नेपाल आउने गरेका छन् । स्थानीय गाइडका अनुसार भारतबाट नै विभिन्न एजेन्सीहरुमार्फत नेपालको लुम्बिनी, पोखरा र काठमाडौँ आउने संख्या ह्वात्तै बढेको छ । र यो क्रम लुम्बिनीमा भारतीय प्रधानमन्त्रीको भ्रमणपछि झन् बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: