×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जोडी खोज्दै एनसीसी : ‘ताक परे नबिल, नत्र कुमारी वा प्रभु !’

काठमाडौँ । नेपाल राष्ट्र बैंकको चर्को दबाबका बीच अहिले बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिका लागि जोडी खोजिरहेका छन् । कतिले कुरालाई अन्तिम चरण दिएर अव फाइनल सम्झौता हुने दिन कुरिरहेका छन् भने कोहि अझै छलफलमै छन् । यसै बीच कुरा चलेर पनि लामो समय कसैसँग पनि फाइनल ‘डिल’ हुन नसकेको एनसीसी बैंकले अहिले विभिन्न बैंकहरुसँग मर्जरका लागि ‘प्यारालल्ली’ कुरा गरिरहेको छ । यो बीचमा एनसीसी बैंकले कुमारी बैंक, प्रभु बैंक र नबिल बैंकसँग विभिन्न तहका कुराकानीहरु गरिरहेको छ ।

कुमारीसँग ‘कुरा’ हुँदै
एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर तथा प्राप्तिका लागि पटक-पटक कुरा भएको छ । केहि दिन अगाडी पनि एनसीसी बैंक कुमारी बैंकसँग बिलय हुनेगरी कुरा अगाडी बढेको हो । छलफलमा एनसीसी बैंक कुमारी बैंकमा बिलय हुने, नाम कुमारी बैंक नै रहनेगरी छलफल निष्कर्षमा पुगेझैं गरी बाहिर कुरा आएको थियो । कुमारी बैंकका डेपुटी सीइओहरुलाई कसरी एडजस्ट गर्ने भन्ने विषयमासमेत छलफल भएर एकिकृत बैंकको नाम कुमारी नै राखेर सीइओ भने एनसीसीका रमेश अर्याललाई दिनेगरी सहमति भएको थियो । तर नाम कुमारी नै रहेपछी सीइओ अर्को बैंकको हुँदैन भन्ने एक पक्षको कुरा र आर्याललाई डेपुटी बनाएर कुमारीका राम चन्द्र खनाललाई सीइओ बनाउने कुरा सोच्न पनि नसकिने विषय भएको अर्को पक्षको कुरा सुनिएपछि के गर्ने भन्ने विषय टुंगोमा पुग्न सकेको थिएन ।

‘खास कुरा के हो भने एनसीसी र कुमारी मर्जरमा जाने नभई कुमारीले एनसीसी लिने भन्ने विषयमा छलफल भएको हो । यसमा एनसीसी बैंक ‘ओके’ छ । तर जव सीइओको कुरा आयो, त्यसमा अलि कुरा मिलेन । कुमारीका रामचन्द्र खनालजी लाई सीइओ बनाएर रमेश अर्याललाई डेपुटी सीइओ बनाउन नैतिक रुपमा पनि मिल्दैन र यस्तो भएको खण्डमा अर्यालजीले पनि मान्नुहुन्न । फेरी अहिले त्यहि बैंकको सीइओ हुने र एनसीसीलाई लिएपछी फेरी रामचन्द्रजीलाई डेपुटी सीइओ बनाउँदा बैंक आफ्नो, तर पद घटुवा भएजस्तो हुन्छ कि भन्ने विषयमा कुरा उठेको छ। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै एनसीसी बैंकका एक संचालकले भने- ‘ तर अर्यालजीको अगाडी खनालजी डेपुटी सीइओ हुँदा कुनै समस्या हुँदैन भन्ने कुरामा मोटामोटी सहमति छ । स्वाप रेसियोमा पनि कुरा खासै बिग्रेको छैन । तर खाँटी कुरा के हो भने कुमारीसँगै प्रभुसँग पनि बार्गेनिङ चलिरहेकै छ । अव हामी जहाँ राम्रो स्थान पाउँछौं त्यहीं नै जाने हो । असारसम्म केहि सिप लागेन भने प्रभु र कुमारीले आफ्नो बाटो पक्कै रोज्छन् । यस्तो अवस्थामा हामी नबिल बैंकसँग जाने सम्भावना रहन्छ।’

प्रभुसँग निरन्तर ‘बार्गेनिङ’, नबिलसँग पनि आश राख्दै !
यसो त एनसीसी बैंकले प्रभुसँग पनि राम्रै बार्गेनिङ गरिरहेको छ । सेन्चुरी र एनसीसीलाई मिलेसम्म एकैपटक लिनेगरी तयारी गरेको प्रभुसँग एनसीसी बैंकले छलफल राम्रैसँग चलाएको छ । सकेसम्म सेन्चुर र एनसीसी दुबैलाई लिने, नसके सेन्चुरीलाई लिने, र सेन्चुरी नमानेको खण्डमा एनसीसी बैंक लिने तयारी गरेको प्रभुसँग एनसीसीका संचालकले पहिला सेन्चुरीको कुरा के हो फाइनल गरौँ, त्यसपछी कुरा अगाडी बढाऔं भनिरहेका छन् । आफुसँगै एनसीसीले कुमारीसँग पनि कुरा गरिरहेकाले प्रभुले पनि निर्णय लिईहाल्न सकेको छैन ।

ठेट भाषामा भन्दा मर्जरका लागि जोडी खोज्दै गर्दा एनसीसीको फर्ष्ट लभ भनेकै नबिल बैंक हो । तर नबिलले दिएजतिको मूल्यमा आफु जान तयार नभएको भन्दै एनसीसीले कुरा उठाएपछी नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने निर्णय गरेको थियो । अहिले नबिल बैंकले असार मसान्तसम्ममा नेपाल बंगलादेश बैंकको सबै काम सक्काएर एनसीसी बैंकलाई पनि प्राप्ति गर्नेगरी कुरा गरिरहेको छ । यहि कारण पनि अहिले एनसीसी बैंक के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिरहेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: