×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजार घट्छ भन्ने भरतकुमार शाहको स्पष्टीकरण -‘ब्याजदर बढेकोले सेयर बजार घट्छ भनेको हुँ…’ (भिडियो रिपोर्ट)

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले समग्र अर्थतन्त्र संकटमा भएका बेला सेयर बजार घट्छ भनेको आफ्नो अभिव्यक्ति नसुनी सेयर बजारलाई मात्र फोकस गरेर हेरिएको भन्दै आफ्नो बोलीको अर्थ सबै अर्थतन्त्रका सूचक नै नकारात्मक भएका बेला सेयर बजार पनि घट्छ भन्ने रहेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले महालेखापरीक्षक कार्यालयको ६४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अझै सेयर बजार घट्ने बताएपछि उनको चौतर्फी विरोध भएको थियो । सार्वजनिक कार्यक्रममै सेयर बजार अझै घट्ने र महंगीसँगै बैंक ब्याजदर बढ्ने बताएपछि उनको अभिव्यक्तिप्रति सेयर लगानीकर्ताहरुको चर्को विरोध देखिएपछि हामीले उनलाई यस विषयमा सोधेका थियौँ । हामीसँगको कुराकानीमा उनले बैंक ब्याज र महंगी बढिरहेका बेलामा सेयर बजार घट्न सक्छ र ब्याजदर घटाएर महंगी नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान दिए सेयर बजार फेरी बढ्छ भनेको दाबी गरेका छन् ।
‘सेयर बजार घट्छ भन्नुको आधार के हो ?’ भन्ने हाम्रो प्रश्नमा शाहले बढ्दो बैंक ब्याजदर र महंगीको प्रभावले सेयर बजार घट्न सक्छ भन्ने आशय व्यक्त गरेको बताएका छन्। ‘सेयर बजार घट्न सक्छ, बैंक ब्याज बढेपछी संसारभरी सेयर बजार घट्छ नि त’, उनले भने, ‘बैंक ब्याज र महंगी बढिरहेका बेलामा सेयर बजार घट्न सक्छ तर ब्याजदर घटाएर महंगी नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान दिए सेयर बजार फेरी बढ्छ भनेको हुँ ।’ हामीसँगको कुराकानीमा उनले भने ।
समग्र अर्थतन्त्रको कुरा उठेका समयमा सेयर बजारका बारेमा पनि कुरा उठेको बताउँदै उनले प्रसङ्गबस् सेयर बजारको कुरा उठेकोसमेत बताएका छन् । ‘महालेखाको कार्यक्रममा सेयर बजारको कुरा कसरी आयो ?’ भन्ने अर्को प्रश्नमा जवाफ दिँदै उनले भने- ‘महालेखाको कार्यक्रम थियो । त्यहाँ अर्थमन्त्री भएपछि, राष्ट्रबैंकको गभर्नर भएपछि, अर्थसचिव भएपछि, समग्र आर्थिक परिस्थितिको पनि त कुरा आउँछ नि होईन ? महालेखा भन्नाले त आर्थिक कारोबार नै हो नि !’
तपाईंजस्तो मान्छेले यस्तो बोल्दा लगानीकर्ता प्यानिक हुँदैनन् ? भन्ने हाम्रो प्रश्नमा भने उनी कड्किए । ‘कस्तो कुरा गरेको ? पत्रकार भएरपनि यत्तिकुरा बुझ्नुहुन्न ? मैले समग्र आर्थिक परिस्थितिको कुरा गरेको हो, यस्तो परिस्थितिमा संसारभरी सेयर बजार घट्छ र अहिले नेपालमा पनि घटिरहेको छ, दिनदिनै बैंक ब्याज बढिरहेको छ, महंगी बढिरहेको छ र यो बेलामा सेयर बजार घट्छ भनेको हुँ । संवादकैबीच जंगिदै उनले फेरी थपे, -‘तपाईहरु पनि अनावसनाव प्रश्न सोध्नुहुन्छ, कि के भनिराहेको छ भन्ने कुरा समग्र गर्नु त पर्यो ।’

संवादकै क्रममा उनले आफुले बोलेको कुरामा सबैले प्रशंसा नै गरेको बताए । ‘सारा पब्लिकले मेरो कुरा राम्रो भनेर सेयर गरेका छन् । मलाई महालेखा परिक्षकले राम्रो बोलेको भन्नुभयो, राष्ट्रबैं कका गभर्नरले बधाई दिनुभयो । वास्तविक कुरा भन्न सक्यो भने । वास्तविक कुरा अर्थमन्त्री, अर्थसचिवका अगाडी भन्न नसके सुधार कसरी हुन्छ त ?’ शाहले भने ।

अन्त्यमा, हामीले उनको सेयर बजारमा लगानी छ कि छैन भनेरसमेत प्रश्न गरेका थियौं । हाम्रो प्रश्नमा उनले भने, -‘मेरा अनावसनाव त्यस्तो गर्ने मान्छे होइन ।  तर हाम्रो सामान्य मान्छेले अलि दुईचार सय सेयर त जसले पनि किन्छ, कसले किन्दैन र ? किन्दैन पैसा हुनेले ?’ उनले थपे- ‘लगानी भन्नाले त्यस्तो हामी त्यस्तो व्यापार नै गर्ने त होइनौँ, अव दुईचार पैसाले दुईचार सय सेयर किनिन्छ, अरु के हो, होइन ?’
हेर्नुहोस् उनीसँगको संवादसहितको भिडियो रिपोर्ट

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: