×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरीमा बेथिति : न्यौपानेलाई ‘बडा-हाकिम’ बनाउन दुई सिनियर पद नै खारेज, यसरि गरियो ‘अस्वभाविक बढुवा’ !

काठमाडौँ । देशको अर्थतन्त्रमाथि नै असर गर्नेगरी बजारबाट १८ प्रतिशतसम्म ब्याज उठाउने सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका हालका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने डेपुटी सीइओ हुँदा उनलाई कर्मचारी विनियमावलीविपरित ‘गैरकानुनी’ रुपमा नियुक्ति गरिएको खुलासा भएको छ । पछिल्लो समय सेञ्चुरी कमर्सियल बैंकले डिपोजिट उठाउने नाममा १८ प्रतिशतसम्म ब्याज तिर्न तयार भएको, केहि ऋणीहरुको महिनौँसम्म ब्याज नउठ्दा पनि आवश्यक ‘प्रोभिजनिङ’ नगरेको लगायतका विषय उठिरहेका बेला हालका सीइओ न्यौपानेलाई बैंकको कर्मचारी विनियमावली नै रारारात हेरफेर गरेर डेपुटी सीइओ नियुक्त गरिएको खुलासा भएको हो ।

न्यौपानेलाई बढुवा गर्न एक दिनमै दुई पद खारेज !
अर्थ सरोकारलाई प्राप्त बैंकका आन्तरिक डकुमेन्ट, कर्मचारी बिनियमावली, र बैंकको बोर्ड बैठकको माइन्युट हेर्दा न्यौपाने सहायक कार्यकारी प्रबन्धकबाट सिधै नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएको देखिन्छ । जव कि सहायक कार्यकारी प्रबन्धकपछि नायब कार्यकारी प्रबन्धक र बरिष्ट कार्यकारी प्रबन्धक पद बीचमा राखिएको थियो । तर न्यौपानेलाई डेपुटी सीइओ बनाउनकै लागि बाँकी दुई पद सोहि बोर्ड बैठकबाट खारेज गरी उनलाई सिधै डेपुटी सीइओ बनाइएको छ ।
उनकै बढुवाका लागि संसोधन गरिएको बैंकको कर्मचारी विनियमावलीमा सहायक कार्यकारी प्रबन्धक र सो भन्दा माथिल्लो तहमा बढुवा हुनका लागि सो पदमा ४ बर्ष कम्तीमा सेवा दिएको हुनुपर्ने उल्लेख छ । त्यस्तै सो पदबाट बढुवा हुनुपर्ने व्यक्तिले अघिल्लो बर्षको कार्य सम्पादन मूल्यांकनमा कम्तीमा राम्रो श्रेणी प्राप्त गरेको हुनुपर्ने विनियमावलीमा उल्लेख छ । यस्तै नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तहको परिक्षा उतिर्ण गरेको र अन्तवार्तामा योग्य ठहरिएको व्यक्ति हुनुपर्न्रे विनियमावलीमा उल्लेख छ । अझ यति बढुवा भईसकेपछि पुन: अर्को तहमा बढुवाका लागि विनियमावलीले छुट्टै मापदण्ड तोकेको थियो । तर न्यौपानेलाई डेपुटी सीइओ बनाउँदा सो कर्मचारी विनियमावली बाधक भएको स्थिति देखिएकाले माथिका दुई पद खारेज गरी कर्मचारी विनियमावलीसमेत संसोधन भएको देखिन्छ।

राष्ट्र बैंकमा आफन्त हुँदाको फाइदा कि राजनीतिक कनेक्सनको फाइदा ?

न्यौपाने अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठका ज्वाईं भएकै कारण उनको यो केसमा राष्ट्र बैंकसमेत मौन बसेको स्वयम् राष्ट्र बैंककै अधिकारीहरुको दाबी छ । ‘बैंकले मनोज न्यौपानेलाई नै डेपुटी सीइओ बनाउने बीचका दुई पद खारेज गरिदिएको छ । सो पद खारेज गर्नुपर्ने स्थितिमा कारण खुलाएर राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्थ्यो । तर शिवराज श्रेष्ठ नै राष्ट्र बैंकको डेपुटी गभर्नर भएकाले न्यौपानेलाई कुनै पनि गाह्रो भएन । राजनीतिक रुपमा उनी नेकपा एसका अध्यक्ष माधव नेपालका भान्जासमेत हुन् । त्यसैले पनि उनलाई कुनै पनि समस्या भएन ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘दुई पद किन खारेज गरियो भन्ने कुनै स्पष्ट कारण छैन । त्यसमाथि मनोज न्यौपानेभन्दा सिनियर मान्छे पनि बैंकमा थिए । तीनलाई लत्याएर न्यौपानेलाई नै डेपुटी सीइओ बनाउनुपर्ने कारण भनेकै अध्यक्षका उनी निकटका मान्छे हुनु र बैंकभित्रका केहि जटिल केसहरुलाई उनले ‘म्यानेज’ गर्न सक्छन् भन्ने नै हो । अरु बैंक भएको भए वा राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर श्रेष्ठका आफन्त नभएको भए यसमा राष्ट्र बैंकको अब्जेक्सन पक्कै हुन्थ्यो ।’

यसरी ५ नम्बरको मान्छे सिधै २ नम्बरमा पुगेका न्यौपानेले अहिले पछिल्लो समय केहि व्यक्तिहरुको प्रमोसन भने ४ बर्षसम्म रोकेर राखेका छन् । नयाँ आर्थिक बर्षको अन्तिमभन्दा अघिल्लो दिन बैंकमा धरैको बढुवा भएको थियो । तर उपल्लो तहका केहि कर्मचारीहरुको बढुवा भने उनले ४ बर्षदेखि रोकेर राखेका छन् । जव कि सेञ्चुरी आएको ४ बर्षमा उनले बाँकी बीचका सबै पद खारेज गरेर डेपुटी सीइओ हुन सफल भएका थिए । उनलाई अहिले बैंकले सीइओ पदमा नियुक्तसमेत गरेको छ।
‘व्यक्ति सहि होलान्, तर प्रवृति गलत भयो’
बैंककै अधिकारीहरु पनि न्यौपानेलाई बढुवा गर्न विनियमावली नै संसोधन गरेको विषयमा रुष्ट छन् । ‘आफ्नो मान्छेलाई माथि लैजान जुनसुकै बेला जस्तोसुकै संसोधन गर्न मिल्ने भए, कर्मचारी विनियमावली किन बनाउनु ?’ बैंककै एक उच्च अधिकारी भन्छन्, ‘केहि समय अगाडी कुमारी बैंकमा भएको १९ करोड किर्ते काण्डका माष्टर माइन्ड पहिला सेन्चुरीकै कर्मचारी हुन् । उनी त्यसपछि सेन्चुरीका डाइरेक्टर हुन् । उनले कुमारीमा जस्तै सेञ्चुरीमा पनि धेरै अनियमितता गरेका थिए । उ बेलाका उनका साथीभाई र उनको काम सजिलै गरिदिनेहरुलाई अहिले छानी छानी बैंकमा बढुवा गरिएको छ । सबै मिलेर बैंकलाई सिध्याउने खेल भईरहेको छ । आफ्नो मान्छेलाई बढुवा गर्न दुई पद नै खारेज गर्न मिल्ने कहाँसम्मको नियम हो ? यो कस्तो विधि हो ? मनोज न्यौपाने आफैंमा सक्षम व्यक्ति होलान्, तर प्रवृतिचाहीं सार्है गलत भयो । ‘
उनका अनुसार बैंकभित्र यस्तै भईरहने कारण पनि बैंकको छवि नमज्जासँग बिग्रिएको छ । ‘केहि समय अगाडी तपाईंहरुकै मिडियामा नेको इन्स्योरेन्सका सीइओले सेञ्चुरीलाई इंकित गर्दै ‘त्यो डुब्न लागेको बैंकमा को जान्छ ?’ भनेका थिए नि, अहिले बैंक त्यहि लाइनमा छ । १८ प्रतिशतसम्म ब्याज तिरेर पैसा उठाएको छ, ठुला ठुला ऋणहरुको ब्याज उठेको छैन, तीनलाई केहि पैसा लिएर प्रोभिजनिङ रोकिएको छ, अनि नाफा यति पुग्यो र उति पुग्यो भनेर हौवा पिटाइएको छ । अव पनि बैंक मर्जरमा नगए सिरियस समस्या हुन सक्छ।’
अरवौंका फाइल ‘जोखिम’मा !
बैंकभित्र अरवौंका फाइल जोखिममा देखिएका छन् । यतिसम्म कि अर्व भन्दा बढी ऋण लिनेले पछिल्लो ४ महिनासम्म एक रुपैयाँ पनि बैंकमा ब्याज दिएका थिएनन् । पछिल्लो समय बैंकले केहि खराब हुन सक्ने ऋणीहरुको पैसा उठाएपनि अझै पनि बैंकमा त्यस्ता केहि ठुला फाइलहरु बाँकी छन् । ‘अर्व बढीको फाइल छ, तर ४ महिनादेखि न किस्ता आएको छ, न ब्याज आएको छ ।’ बैंकका एक अधिकारी भन्छन्-‘आर्थिक बर्षको अन्तिम दिन प्रोभिजनिङ गर्नुपर्ने डरले अर्को बैंकलाई भनेर पैसा तिर्न लगाएर केहि पैसा किस्ता हालिएको छ । र यसरि अन्तत: प्रोभिजनिङ गर्नुपर्ने काम रोकिएको छ । राष्ट्र बैंकले बैंकमा भईरहेको ‘एभरग्रिनीङ’ लगायतका कुरा हेर्ने हो भने बैंकभित्रको भित्री तथ्य बाहिर आउँछ ।’
ती अधिकारीका अनुसार यी सबै मेनेज गर्ने मामलामा भने न्यौपाने अब्बल छन् । ‘उनको कला भनेको उनी झुटलाई पनि मिठो तरिकाले सहि हो भनेर कन्भिन्स गर्न सक्छन् । राजनीतिक पावर पनि छ, राष्ट्र बैंकमा पनि राम्रो रिलेसन छ । हुन त मनोज न्यौपाने नभएको भए सेञ्चुरी अझ कति अनम्यानेज्ड हुन्थ्यो होला, तर यहाँ व्यक्ति भन्दा पनि प्रवृति हावी भयो । जुन गलत भयो ।’
के भन्छन् सीइओ न्यौपाने ?
हामीले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विषयमा उठेका पछिल्ला केहि कुराहरुका बारे बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसँग कुरा पनि गरेका थियौँ । उनले आफु डेपुटी सीइओ हुँदा बीचका दुई पद खारेज गरेको स्वीकारेका छन् । ‘म जहाँ थिएँ, त्यहाँबाट सिधै डेपुटी सीइओ बन्न मिल्दैनथियो । तर बीचमा भएका दुई पद खारेज भयो । अव त्यो बोर्डले किन खारेज गर्यो, त्यो बोर्डलाई सोध्ने कुरा हो । तर बीचको दुई पद खारेज भएपछि म डेपुटी सीइओ भएकोचाहिं हो ।’ उनको स्वीकारोक्तिले पनि बैंकभित्र उनलाई डेपुटी सीइओ बनाउनकै लागि बीचका दुई पद खारेज गरिएको स्पष्ट हुन्छ ।
यता उनले बैंकका केहि ठुला फाइलहरुको ब्याज र किस्ता लामो समयदेखि नआएको कुरा पनि स्वीकारे ।’तपाईंले भन्नुभएको ऋणीको ४ महिनादेखि किस्ता रोकिएको सत्य हो । तर अव पनि पैसा नआए प्रोभिजनिङ गर्नुपर्छ भन्ने जानकारी दिएपछि उहाँले अन्तिम दिन पैसा हालिदिनुभएको छ ।’ सीइओ न्यौपानेले अर्थ सरोकारसँग भने-‘अव त्यस्तो समस्या हुँदैन होला ।’ तर उनका केहि सहपाठीहरुले भने सो ऋणीले अन्तिम समयमा आएर केहि पैसा दिएर समय माग्ने र सो ऋणको सावाँ र ब्याज आउन निकै गाह्रो हुने तर्क गर्छन् । सो फाइल अर्व बढीको छ ।
उनले नियामकीय मापदण्ड अनुसार सीडी ‘मेन्टेन’ गर्न १८ प्रतिशत बिड गरेर पैसा लिन खोजेकोसमेत स्वीकारेका छन् । ‘जहिले पनि हामी भन्दा अरुले बढी ब्याज दिन थाले । त्यसैले हामीले पनि १८ प्रतिशत ब्याज दिएकै हो ।’ अर्थ सरोकारसँग उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: