×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वर्तमान सेयर बजारबारे छोटेलाल रौनियारलाई ५ प्रश्न : ‘अहिले किन्ने समय हो कि कुर्ने ? बजार फर्किएको हो वा होइन ?’

काठमाडौँ । तरलता संकट, असार मसान्तको प्रेसर लगायतका कुराले प्रभावित बनाएको सेयर बजार लगानीकर्ताको आन्दोलन सफल भएपछि केहि तंग्रीएको हो कि भन्ने भान धेरैलाई भएको छ । लगातारको उदेकलाग्दो घटाईलाई ‘ब्रेक’ गर्दै पछिल्लो साता केहि दिन सेयर बजारमा राम्रै ‘हरियाली’ पनि देखियो । तर पुन: शुक्रबारको करेक्सनले बजार फर्किएकै हो वा होइन भन्ने प्रश्नलाई थप ‘कम्प्लिकेटेड’ बनाएको छ । अहिलेको बजार अस्थिति के हो त ? अवको बजार यात्रा कता जाने अनुमान गर्न सकिन्छ त ? के बजार फर्किएकै हो त ? यी लगायतका विषयको जवाफ खोज्न हामीले पूराना तथा अनुभवी लगानीकर्ता छोटेलाल रौनियारलाई सम्पर्क गरेका छौं । प्रस्तुत छ अर्थ सरोकारकर्मी राधिका श्रेष्ठले उनै रौनियारसँग गरेको कुराकानी :

१. उदेकलाग्दो घटाईपछि बजार पछिल्लो साता केहि बढ्यो, केहि दिन त राम्रै अंकले बढ्यो । अवचाहिँ बजार फर्कियो है भन्न सकिने अवस्था आएको हो ?

अहिलेको स्थितिलाई त्यसरी नै विश्लेषण गर्न त मिल्दैन । तर बजार पोजेटिभ नै हुन्छ भन्ने कुरामाचाहिं शंका छैन । अहिले लगानीकर्ताको आन्दोलनपछि एउटा समिति पनि बनेको छ, उच्च स्तरिय समितिले काम सुरु पनि गरेको छ । अर्थ मन्त्रालय र धितोपत्र बोर्ड लगानीकर्ताका समस्या समाधनका लागि लागि परेका छन् । त्यसैले बजार अव राम्रो नै हुन्छ भन्ने आशा गरौँ । तर बजार अव फर्कियो, धेरै माथि पुगिहाल्छ, अव घट्दैन भन्ने स्थितिचाहिं होइन ।
२. बजारमा असारको प्रेसर छ, तरलताको समस्या उस्तै छ, र पनि केहि दिन बजार बढेको छ नि, यसलाई कसरी लिनुहुन्छ ?
यो प्रश्न अहिले धेरैले गरिरहेका छन् । तर कुरा के हो भने,  तरलताको समस्या भए पनि सेयर बेचेर बस्नेहरुको संख्या ठुलो छ । अब बजार बढेपछि मान्छेहरुले पैसाको सकेको व्यवस्थापन पनि गर्छन् । जसले ऋण तिरेको छ, उसँग पैसा हुदैँन तर कति जनाले त सेयर बेचेर बसेका छन् । यो कारणले पनि बजारमा लगानीकर्ताहरु ‘हेर र किन’को अवस्थामा छन् । यसै पनि बजार बढ्ने आधारहरु धेरै छन् भन्ने अव लगानीकर्ताले बुझिसके । अर्थमन्त्रालय र राष्ट्र बैंकमा उच्च स्तरीय समिति बनेको छ र यसले बजारमा सकारात्मक सन्देश दिएको छ भन्ने बुझ्नेहरु बजार प्रवेश गरिरहेका छन् । लगानीकर्ताको आन्दोलन सफल भएपछि लगानीकर्तामा नयाँ खालको कन्फिडेन्स पनि बढेको छ।

३. अवको बजार यात्रा कता होला ?

मौद्रिक नीति साउनमा आउने हो । तर यसपाली मौद्रिक नीति साउनअगावै आउने देखिन्छ । मौद्रिक नीतिमा पनि केहि न केहि सुधार पक्कै हुन्छ । मौद्रिक नीतिले यसअघि जति खराब गर्नुपर्थ्यो, बजारमा गरिसक्यो भन्ने तथ्य गभर्नरले समेत बुझ्नुभएको छ । उहाँलाई सबैतिरबाट दबाब पनि छ । अर्थमन्त्री स्वयमले पनि बजारमैत्री मौद्रिक नीतिका लागि पहल गरिरहेको हामीले बुझेका छौं ।  धितोपत्र बोर्ड पनि काममा राम्रोसँग लागेको छ । उसले लगानीकर्ताका मागहरुलाई सम्बोधन अव गर्छौं भन्ने सन्देश दिनेगरी काम गरेको छ । त्यसैले अव बजार राम्रै बलियो भएर अगाडी बढ्ला भन्ने आशा गर्न सकिन्छ ।

४. सार्वजनिक लेखा समितिका सभापतिले सेयर बजार घट्छ भनेर अभिव्यक्ति दिनुभयो । यसलाई कसरी लिनुभएको छ ?
उहाँले मनपरी बोल्नुभयो । यसअघि पनि पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सेयर बजार ७ सय-८ सयमा झर्छ भनेका थिए । जसले जे बोले पनि बजार आफ्नै लयमा लाग्छ भन्ने तथ्य धेरैले बुझिसकेका छन् । त्यसैले यसमा खास बहस गर्नुपर्छ जस्तो मलाई लाग्दैन । बजारबारे नबुझी नराम्रो बोल्ने भनेको बजारप्रति नकारात्मक धारणा राख्नेहरुले बोल्ने कुरा हो । बजारको अस्थिरता नबुझी, जे मनमा आउँछ त्यहि बोल्नेहरु धेरै छन् । यस्तो  बेला बजारका बारेमा बोल्नेहरुले पनि सचेत हुन जरुरी छ । बजार ५० प्रतिशत घरिसक्यो । त्यसकारण कम्पनीको कमाई हेरेर ईन्भेष्ट गर्नुपर्छ। यो लगानीका लागि एकदम राम्रो समय हो ।

५. बजार प्रवेश गर्न डराइरहेकालाई के सुझाव दिनुहुन्छ ?
सटिक रुपमा भन्दा अहिले किन्ने समय हो । बजार धेरै घटिसक्यो । वारेन बफेटले पनि भनेका छन् -‘IF MARKET IS A RED, ITS  INVESTING TIME’. हामीले पनि यहि रुपमा अगाडी बढ्दा राम्रो हुन्छ । अहिले बजार घटेको छ, केहि लय समात्दै गरेको स्थिति पनि देखिएको छ । त्यसैले यो किन्ने बेला हो । धेरै नसोची राम्रा कम्पनी छानेर अहिले किन्ने नै बेला हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: