×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल क्यापिटल म्युचुअल फण्डका लागि अयोग्य रहेको खुलासा, कामु सीइओको योग्यतामाथि पनि प्रश्न !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिभिल क्यापिटल म्युचुअल फण्डका लागि अयोग्य रहेको खुलासा, कामु सीइओको योग्यतामाथि पनि प्रश्न !

काठमाडौँ । म्युचुअल फण्ड निष्काशनका लागि बिगत केहि समय यतादेखि जोडबलले लागिरहेको सिभिल क्यापिटल मार्केट्स लिमिटेड म्युचुअल फण्ड निष्कासनका लागि अयोग्य भएको तथ्य बाहिर आएको छ । कम्पनीको पूँजी फसेका कारण र नयाँ सीइओको नियुक्तिमा पनि प्रश्न उठेका कारण सो कम्पनी म्युचुअल फण्ड निष्कासनका लागि अयोग्य भएको तथ्य बाहिरएको हो । कम्पनीले म्युचुअल फण्ड जारी गर्न २०७५ सालमा धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीको सीइओमा ढुंगेल आएपछि उनले सो प्रक्रिया अगाडी बढाएका पनि थिए । तर उनको बहिर्गमनसँगै तर धितोपत्र बोर्डले पनि कम्पनीको नाजुक स्थिति देखेर सो फाइल तामेलीमा राखिरहेको छ ।

चुरो-कुरो यस्तो छ :
प्रचलित कानुन हेर्ने हो भने कुनै पनि क्यापिटलले म्युचुअल फण्ड निष्काशन गर्नका लागि उसको चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्छ । तर सिभिल क्यापिटलको चुक्ता पूँजीको रकम बाहिर फसेको छ । कम्पनीसँग पूँजी नै अपुग भएका कारण क्यापिटल अयोग्य ठहर हुने देखिएको हो । नेपाल धितोपत्र बोर्डले पनि लामो समय देखि म्युचुअल फन्डका लागि सिभिलले गरेको अनुरोधलाई तामेलीमा राख्दै आएको छ । कम्पनीको चुक्ता पूँजी २१ करोड २५ लाख रुपैयाँ बराबर रहेपनि सो रकममध्ये झण्डै १२ करोड रुपैयाँ सिभिल सहकारीमा निक्षेपका रुपमा फसेको छ । अहिले सो रकम उठ्ने सम्भावना यसकारण पनि छैन कि, बचतकर्ताको अरवौं रकम ठगेको आरोपमा सिभिलका पूर्व अध्यक्ष अहिले थुनामा छन् । सो रकम नै बाहिर फसेपछि कम्पनीको नेटवर्थ समेत घट्ने हुनाले यस्तो अवस्थामा कम्पनीले म्युचुअल फण्ड निष्कासन गर्न पाउँदैन ।

कानुनमा के छ ?
प्रचलित कानुनको बोली केलाउने हो भने पनि सिभिल म्युचुअल फण्ड निष्कासनका लागि अयोग्य देखिन्छ । सामूहिक लगानी कोष नियमावली, २०६७ को उपनियम १४ को (ग) मा क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको छ । अर्थात सिभिलको पूँजी नफसेको भए सिभिल म्युचुअल फण्डका लागि योग्य हुने थियो । तर कम्पनीसँग अहिले पूँजीकै अभाव भएकाले अहिले कम्पनीले म्युचुअल फण्ड जारी गर्न पाउँदैन ।

अर्कोतर्फ म्युचुअल फण्ड निष्कासनका लागि कम्तिमा पनि चुक्ता पूँजीको ७५ प्रतिशत नेटवर्थ हुनु पर्ने व्यवस्था पनि कानुनमै छ । सामुहिक लगानी कोष नियमावली २०६७ को व्यवस्था उपनियम १४ को (घ) मा म्युचुअल फण्ड निष्कासनका लागि कम्तिमा पनि चुक्ता पूँजीको ७५ प्रतिशत नेटवर्थ हुनुपर्ने स्पष्ट व्यवस्था छ । सामान्य हिसाव गर्दा पनि १२ करोड रुपैयाँ पूँजी घट्दा क्यापिटलको नेटवर्थ पनि झण्डै ५५–६० प्रतिशत घट्ने हुनाले यो कम्पनीले म्युचुअल फन्ड निष्कासन गर्न पाउँदैन ।

कामु सीइओको योग्यतामाथि पनि प्रश्न !
यसो त क्यापिटलले म्युचुअल फण्ड जारी गर्न कम्पनीलाई यस कारण पनि गाह्रो छ कि, अहिले नयाँ सीइओको योग्यतामाथि पनि गम्भीर प्रश्न उठेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सामूहिक लगानी कोष नियमावली, २०६७ को उपनियम १४ को (२) को (क) मा ‘कार्यकारी प्रमुख तथा स्वतन्त्र संचालकको हकमा अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी उद्योग, वाणिज्य, धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।’ उल्लेख छ । अहिले कम्पनी सीइओविहीन छ ।

लामो समय काम गरेको अनुभव भएका झनक ढुंगेलले कम्पनीको सीइओ पद छोडेपछि सिभिल बैंकले अर्को व्यवस्था नभएसम्मका लागि क्यापिटलको कामु सीईओमा सोभाना घिमिरेलाई पठाएको छ । चार्टड एकाउन्टेन्ट भए पनि उनको अनुभव भनेको बैंकिङ्ग क्षेत्रको ४ बर्षे अनुभव मात्र हो । यसकारण उनी नै कार्यकारी प्रमुख रहुन्जेल कम्पनीले म्युचुअल फण्ड निष्कासन गर्न पाउने अवस्था छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: