Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्री प्रकरण : अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’, अव के हुन्छ ?

अर्थ सरोकार

काठमाडौं । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको तथ्य बाहिरिएको छ । जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो । आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि  छानबिन समितिले हार्ड डिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।

सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो । ती क्लिपहरु केही सेकेन्डका छन् । राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि छन् । मान्छेहरु आउ-जाउ गरेको जस्तो देखिए पनि स्पष्ट देखिएको छैन ।

ती क्लिपहरु आजको विशेष समिति बैठकमा सदस्यहरुले हेरेका छन् । केही अस्पष्ट रहेको भन्दै त्यसबारे फरेक्सिक विज्ञहरुसँग परामर्श गर्ने भन्दै बैठक स्थगित गरिएको छ । समितिको अर्को बैठक आजै अपराह्न ४ बजे फेरि बस्ने भएको छ । सोही बैठकमा विज्ञहरुलाई बोलाएर ती भिडियो क्लिपबारे जानकारी लिएर स्पष्ट हुने समितिका सचिव सरेन्द्र अर्यालले जानकारी दिएका छन् । ‘प्राविधिक विषयमा थप स्पष्ट हुनु पर्ने भएकाले फरेन्सिक विज्ञहरुसँग परामर्श गर्छौं,’ अर्यालले भने ।

समितिका सदस्यहरुबीच भिडियो क्लिपबारे आ-आफ्ना राजनीतिक दलका शीर्ष तहका नेताहरुसँग पनि परामर्श गर्ने अनौपचारिक सहमति भएको छ । नेताहरुसँग परामर्श गरेर आज बैठक बस्ने र भोलि रिपोर्ट लेख्ने विशेष समितिको तयारी छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप लागेपछि त्यसबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेका थिए । सोही दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा समेत दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK