×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : अजोडले भुक्तानी नदिएको प्रकरण बीमा समितिको बोर्डमा पुग्यो, ‘न्याय नपाए कम्पनीको हेड अफिसमा ताला लाग्छ’

काठमाडौँ । अजोड इन्स्योरेन्सले एक बीमितको २ करोड बढी बीमाबापतको भुक्तानी नदिएको प्रकरण अन्तत: बीमा समितिको बोर्ड बैठकमा लैजाने सहमति भएको छ । बीमा समितिका पदाधिकारी, पीडीत र बीमा कम्पनीको बैठकले सो केस समितिको बोर्डमा लैजाने सहमति गरेको हो । दमकमा आलु भण्डारण गर्ने श्री शान्ति कोल्ड स्टोरमा भएको क्षति दिन्न भन्दै महिनौंदेखि अजोडले बीमितलाई झुलाएको खुलाई गर्यो भन्दै बीमित बीमा समिति पुगेका थिए ।
सबै कागज पुग्दा र क्षति भएको प्रमाणित हुँदा पनि बीमा समितिले भुक्तानी दिन आलटाल गरेपछि अन्तत: पीडीत बीमा समिति पुगेका थिए । तर बीमा समितिमा पीडीत पुग्दै गर्दा त्यहि बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशक नै अजोड इन्स्योरेन्सका सीइओसँग घुमिरहेको तस्विर सार्वजनिक भएपछि अहिले पीडीतहरु न्याय नपाउने कुरामा शसंकित बनेका छन् । ‘न्यायाधीस त किनबेच हुने यो देशमा बीमा समिति किन्न ठुलालाई के समस्या छ र ? फेरी बीमा समितिलाई हामी पीडीत भन्दा कमाई खाने भाँडो तिनै कम्पनी हुन् । न्याय नपाइएलाकि भन्ने डर पनि छ ।’ कोल्ड स्टोरका संचालक बिष्णु पोखरेल भन्छन्, ‘र पनि न्यायका लागि लडाई जारी छ । बीमा समितिबाट न्याय नपाए, अदालत जानुको विकल्प छैन ।’
अजोडकै कर्मचारी भन्छन्-‘प्रिमियम पो तिर्ने हो त, क्लेम त उही यो यार’
यसो त अजोड इन्स्योरेन्स स्थापना कालदेखि नै केहि नै केहि लफडामा परिरहेको कम्पनी हो । यस अघि पनि कम्पनीको इन्साइडर ट्रेडिङ र ३ करोड घुस काण्ड बाहिरिएको थियो । यी दुवै प्रकरण अहिले सम्बन्धित निकायमा विचाराधीन छन् । त्यसैले पनि अजोडका सीइओ कुमार बहादुर खत्री हत्तपत्त नचिनेको फोन उठाउन सक्ने स्थितिमा छैनन् भने यस विषयमा प्रश्न सोध्ने डरले आफु  निकट र आफ्ना बारेमा सधैं राम्रो समाचार लेख्ने पत्रकारबाहेक अरुको फोन उठाउन छोडेका छन् । सीइओको फोन नउठेपछि हामीले अजोडका सीइओ भन्दा तल्ला तहका कर्मचारीहरुसँग कुराकानी गरेका थियौं । अजोडका कर्मचारी त हाकाहाकी भन्ने रहेछन्, ‘क्लेम त उही हो यार’
‘सबै क्लेम तिरियो भने त हामी कसरि नाफामा जाने ?’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक कर्मचारी भन्छन्, ‘अजोडमा मात्र होइन, सबैतिर यस्तै छ । पीडीत अदालत गएर पनि के हुन्छ ? अदालतले भुक्तानी दे भन्दा अपनी नदिएर के हुन्छ ? अस्ती भर्खर सगरमाथा इन्स्योरेन्सलाई एक फर्निचर कम्पनीको भुक्तानी दिनु भनेर उच्च अदालतले नै फैसला गर्यो तर कम्पनीले दिएन । अव फेरी ग्राहक सर्वोच्च जान्छ, फेरी पनि भुक्तानी दिंदैन । अनि के हुन्छ ? पोहोरको अरवौं रुपैयाँ कोरोना बीमावापतको रकम तिर्न बाँकी छ । धेरैले सो रकम पाएका छैनन् । के भो त ? पीडीत कराउँदै जान्छन् । हामी नयाँ-नयाँ बीमा थप्दै जान्छौँ । देश यसरि नै चलिरहेको छ र हामी पनि यसरी नै चल्ने हो ।’
पीडीत भन्छन्- ‘दुश्मनले पनि अजोडमा बीमा नगरोस्’
महिनौं बित्दा पनि बीमा रकम नआएपछि अहिले पीडीतहरु तनावमा छन् । ‘हामीलाई न्याय दिनुपर्ने मान्छे पीडकसँगै घुम्न गएका छन् । महिनौं भयो हामीले भुक्तानी पाएका छैनौँ। कम्पनी धायौँ, बीमा समिति धायौँ, नेताकहाँ धायौँ, तर कम्पनी हाम्रो भुक्तानी गर्न तयार भएन ।’ पीडीत विष्णु पोखरेल भन्छन्, ‘हाम्रो शान्ति कोल्ड स्टोरको मात्र होइन, धेरै कम्पनीको क्लेममा अजोडले यस्तै गरेको छ भन्ने सुनेको छु । त्यहाँ भुक्तानी पाउन कि संचालकका आफन्त हुनुपर्छ, कि सीइओको नातेदार हुनुपर्छ वा बीमा समितिका मान्छेको आफन्त हुनुपर्छ भन्ने सुनेका छौं ।हामीलाई अहिले यो पनि हो जस्तो लाग्न थालेको छ ।’ उनका अनुसार अव बीमा समितिले पनि न्याय नदिए किसानहरु अदालत जाने र कम्पनीमा ताला लगाउने योजनामा छन् ।
‘हामीले यहाँ स्थानीय साखामा ताला लगाउने कुरा गरेका थियौँ । त्यहाँका कर्मचारीले नै यहाँ ताला नलगाउनु, तपाईंहरुको पाउनुपर्ने भुक्तानी हेड अफिसले नै नदिएको हो भनेपछि हामीले त्यहाँ ताला लगाएनौं । जव धैर्यताको सिमा नाघ्छ, विद्रोह गर्नुको कुनै सिमा छैन । अव पनि न्याय पाएनौँ भने मुख्य कार्यालयमा ताला लगाउने हो । त्यसका लागि यहाँबाट सयौँ किसान काठमाडौँ आउन तयार छन्। ‘
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: