काठमाडौँ । सेयर बजारमा कम्पनीको भित्री सूचना चुहाएर त्यहाँको व्यवस्थापन र संचालक समितिले भित्री कारोबार गरेको त हामीले पक्कै सुनेको छौँ । कम्पनी भित्रको सूचना पहिला नै पाएर आफुले कारोबार गर्ने भित्री कारोबार भनिन्छ । नेपालका अधिकांस कम्पनीमा कानुनले ‘अवैध’ भनेको यस्तो धन्दा चल्ने गरेको छ । पछिल्लो उदाहरणका रुपमा अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ’ प्रकरण सतहमै आएको थियो । कम्पनीले दिने प्रतिफलको जनाकारी घोषणा अगावै सूचना चुहाएर कम्पनीले गैरकानुनी काम गरेको भन्दै सो केस सीआइबीसम्म पुगेका थियौं। सेयर बजारमा जस्तै नेपालमा पेट्रोलको मूल्यमा पनि इन्साइडर ट्रेडिङ अर्थात भित्री कारोबार हुने गरेको रहस्य बाहिरिएको छ । तेलको मूल्य बढ्ने सूचना पाएर, सुरुमै पम्पभर तेल भर्ने, र सकेसम्म सो दिन अलि छिट्टै पम्प बन्द गर्ने प्रचलन फष्टाएसँगै निगमभित्रको यस्तो धन्दा बाहिरिएको हो ।
५ बजे पछि आज अधिकांस निजी पेट्रोल पम्प बन्द !
यसो त आयल निगमले सोमबार रातीबाट लागु हुनेगरी पेट्रोल र डिजेलको भाउ बढायो । तर यो सूचना पाईसकेका पम्पहरुले आज सोमबार दिउँसो र कतिपयले आइतबार नै आफ्नो पम्पभर तेल भरिसकेका थिए । र आज अर्थात सोमबार अपराह्नपछि अधिकांश निजी पेट्रोल पम्प बन्द भए । आज बेचिने पेट्रोल र मंगलबार विहान बेचिने पेट्रोलमा फरक हुने र आफ्नो लागत मूल्य भने उही हुने हुनाले पम्पहरुले यहि बीचको चलखेलमै मोटो रकम कमाउने भएका छन्। सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । अव एक लिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ पर्नेछ भने डिजल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँले बढेर प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । अर्थात आज ५ बजे पेट्रोल पम्प बन्द गरेका पम्प साहुजीहरुले एक लिटर पेट्रोल बेच्दा २ रुपैयाँ बढी नाफा कमाउने भएका छन् भने एक लिटर डिजेल बेच्दा ९ रुपैयाँ बढी मंगलबार नै नाफा कमाउने गरेका छन् । केहि समय अगाडी त एकै दिन २१ रुपैयाँसम्म पेट्रोलको भाउ बढेको थियो । यो बेला यस्तै गरेर पम्प साहुहरुले मोटो रकम कमाए ।
अव तपाईंको मनमा प्रश्न होला- ‘पेट्रोलको भाउ घट्दाचाहिं पम्पवालाहरु मारमा परेनन् ?’
अहँ पर्दैनन् । किनकि यसअघि पेट्रोलको भाउ घटेको कर रकमका कारण हो । र सो रकम करमै समायोजन हुने हुनाले पम्पहरुलाई घाटा हुँदैन । अर्कोतर्फ भाउ नै घट्ने भएपछि पम्पवालाहरुले लगभग पम्प नै खाली गर्छन् । यहि कारण भाउ घट्ने अघिल्लो दिन पनि लगभग पेट्रोल पम्पहरुमा पेट्रोल नै पाइन्न । र यो खेल महिनौंदेखि चलिरहेको छ । आयल निगमकै उच्च कर्मचारीहरुले यस्तो चलखेल गर्ने गरेका छन् । यसरी चलखेल गर्नेहरुमा त्यस्ता कर्मचारीहरु छन्, जो आफ्नै एमडिका विरुद्ध निगमभित्र पनि गुट बनाउँछन् ।

निगमले नै दिन्छ पूर्वसूचना, सूचना दिएवापत पटकैपिच्छे असुली !
यसो त निगमले भारतबाट तेलको मूल्य बढेर आयो भनेर सबैलाई जानकारी गराउँछ । यो काम यस्तो चलखेल गर्नेहरुका लागि झन् बरदान नै साबित भएको छ । ‘कहाँ मैले सूचना दिनु, पहिला नै विज्ञप्ति आएकाले पम्प वालाहरु बाठा भएर पम्प भरे, वा पम्प रित्याए’ भन्न पाइने हुनाले यो काम यस्तो चलखेल गरेर करोडौं रुपैयाँ कमाउन पल्केका पम्प र सूचना दिनेहरुका लागि गरी खाने बाटो भएको छ । यसरी सूचना दिएवापत निगमका कर्मचारीहरुले असुलीसमेत गर्ने गरेका छन् । यसरी असुल गरिएको रकम आफ्नो नाममा नभई नजिकको विश्वास पात्र र त्यसमा पनि नाता नपर्ने प्रयोग गरेर उठाउने गरिएको भनाई पेट्रोल पम्प संचालकहरुकै छ ।
आयल निगमकै तथ्यांक केलाउने हो भने दिनमा औसत ३ हजार ४ सय १४ किलोलिटर पेट्रोल र ७ हजार ७४७ किलोलिटर डिजेल बिक्री हुने गरेको देखिन्छ । यहि हिसाबले हेर्ने हो भने पम्पवालाहरुलाई लाखौँ रुपैयाँ एक रातमै फाइदा हुन्छ । अझ भारि मूल्यले भाउ बढेका बेला त यो रकम झन् बढी हुन्छ । यसरी देशभर रहेका झन्डै १४ सय पम्पहरूलाई पेट्रोल र डिजेल बेच्दा नै करोडौं नाफा एक रातमै हुन्छ । र यस्तो काम गर्न पल्किएकाहरुले पेट्रोलको मूल्य बढ्ने समय दशैंझैं मनाउने गरेको पम्पका कर्मचारीहरुको दाबी छ।
‘आयल निगमबाट भाउ बढ्दैछ, तेल कम बेच्नु भनेर जानकारी जान्छ ।’ निगमका एक अधिकारी भन्छन्, ‘यस्तो काममा हामीभन्दा पनि हाकिमहरुको चलखेल बढी हुन्छ । अघिल्लोपटक सुरेन्द्र पौडेल जीएम हुँदा यस्तो काम गर्न धेरैजना डराएका थिए । उनले निगम छोडेपछि त हाकाहाकी यहींबाट फोन गरेर नै जानकारीसमेत दिने गरिएको छ। अघिल्लोपटक २७ रुपैयाँ एकैदिन तेलको भाउ बढ्दा देशभरका पम्पहरुको हिसाब गर्ने हो भने एक रातमै २० करोड ९१ लाख रुपैयाँ पम्पहरुलाई फाइदा भएको थियो । अव २० करोड फाइदा गर्नेहरुले सूचनाका लागि २०-२५ लाख खर्च गर्नु वा ५०-६० लाख नै परिआए पनि खर्च गर्नु कुन ठुलो कुरा भो र ?
ओपन सेक्रेटजस्तै भएको यो विषयमा आयल निगम भने झारा टार्ने खालको मात्र जवाफ दिन्छ ।













