Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मीसहित १० लघुवित्तले राष्ट्र बैंकको नियम मिचेर ‘गैरकानुनी’ ब्याज असुले, संघ भन्छ- ‘राष्ट्र बैंकले हिसाब गर्नै जानेन…’

अर्थ सरोकार

काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश शर्मा सीइओ रहेको लक्ष्मी लघुवित्तसहित १० लाघुबित्तले नियम विपरित ब्याज असुलेको खुलासा भएको छ । लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन २०७७/७८ मा १० लघुवित्त कम्पनीले १५ प्रतिशतको क्यापको बर्खिलाप गरी ग्राहकहरुबाट गैरकानुनी असुली गरेको पाइएको हो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् लघुवित्त वित्तीय संस्थाहरुलाई १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको थियो ।

कुन-कुन लघुवित्तले गरे गैरकानुनी ब्याज असुली ? के भन्छ लघुवित्त बैंकर्स संघ ?
राष्ट्र बैंकले नै सार्वजनिक गरेको तथ्यांकमा डिप्रोक्स लघुवित्तले १५.६७ प्रतिशत, मिथिला लघुवित्तले १५.४८ प्रतिशत, फरवड लघुवित्तले १५.२४ प्रतिशत, लक्ष्मी लघुवित्तले १५.१८ प्रतिशत, सुर्योदय लघुवित्तले १५.१४ प्रतिशत, मानुषीले १५.४० प्रतिशत, युनिक लघुवित्तले १५.१० प्रतिशत, सामुदायिकले १५.०८ प्रतिशत, बुद्ध ज्योतीले १५.०१ प्रतिशत र नेष्डो लघुवित्तले १५.०१ प्रतिशत ब्याजदर ग्राहकबाट असुलेको उल्लेख छ ।
यता लघुवित्त बैंकर्स संघका अध्यक्ष एवम् लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश शर्माले भने आफुहरुले ऋणीबाट गैरकानुनी ब्याज असुल नगरेको, बरु नेपाल राष्ट्र बैंकले हिसाब नगर्न नजान्दा ‘एभरेजिङ इरर’ देखिएको दाबी गरेका छन् ।  राष्ट्र बैंकको तथ्यांकमै त्रुटी भएको भन्दै उनले प्रतिवेदनमा उल्लेख गरेजस्तो कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज असुल नगरेको बताएका छन् । ‘मैले पनि प्रतिवेदन हेरें । मेरै कम्पनी पनि परेको रहेछ । तर हामीले १५ प्रतिशत भन्दा बढी ब्याज लिएका छैनौं । राष्ट्र बैंकले एभरेजिङ गर्दा त्रुटी गर्यो । हामीले त राष्ट्र बैंकलाई यसको गणना कसरी गर्ने भनेर यसअघि पनि भनेकै थियौं । तर त्यसमा त्रुटी हुँदा त्यस्तो तथ्यांक देखिएको हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने-‘यो सामान्य इरर हो । राष्ट्र बैंकले यसलाई सच्याउनेछ भन्ने विश्वास लिएका छौं। ‘
राष्ट्र बैंकका अधिकारी भन्छन्, ‘गल्ती आफु गर्ने अनि हाम्रो हिसाब मिलेन भन्ने ?’
यता राष्ट्र बैंकको तर्क भने आफुले तयार गरेको प्रतिवेदन ठिक छ भन्ने छ । ‘लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरीएको एकीकृत निर्देशन, २०७७ अनुसार कुनै पनि लघुवित्त कम्पनीले आफ्ना ग्राहकसँग लिने ब्याजदर १५ प्रतिशतभन्दा बढी हुन हुँदैन । तर केहि कम्पनीहरुले बढी ब्याज असुल गरेका छन् । हामीले त्यहि तथ्यांक प्रतिवेदनमा राखेका हौँ ।’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘हिसाब गर्न हामीले जानेनौँ, भने जान्ने मान्छे राष्ट्र बैंक आए भैगो नि । गल्ती आफु गर्ने अनि हामीलाई दोष देखाउने ?’ ती अधिकारीका अनुसार राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेखित तथ्यांकहरु पूरापूर सहि छन् । र यसरी नियमविपरित ब्याज असुल्ने लघुवित्तहरुलाई यस विषयमा सचेतसमेत गराइएको छ ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK