×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकमा ‘लुट’ प्रयासको नालीबेली : रातको साढे २ बजे बैंकभित्र के-के भयो ? नकावधारी लुटेराहरु कसरी भागे…?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ असार २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकमा ‘लुट’ प्रयासको नालीबेली : रातको साढे २ बजे बैंकभित्र के-के भयो ? नकावधारी लुटेराहरु कसरी भागे…?

काठमाडौँ । रातको झन्डै साढे २ बजेको हुँदो हो, मोरङको जहदास्थित माछापुच्छ्रे बैंकको शाखाका सुरक्षा गार्ड श्रवणकुमार सिंहले कतै,केहि आवाज आईरहेकोजस्तो सुने । कसैले केहि फोडेजस्तो, कोहि आफ्नो बैंकभित्र पस्न खोजेजस्तो । स्थिति सामान्य पक्कै छैन भन्ने लागेपछि उनले आवाज आइरहेको ठाउँतिर हेरे । नभन्दै स्थिति सामान्य थिएन । एउटा अपरिचित समूह बैंकको पछाडीपट्टीको ढोका फुटाएर भित्र पस्दै थियो । उनी आत्तिए । स्थिति आत्तिने खालको थियो पनि । उनले देख्दासम्म बैंकको चेनगेट र अर्काे गेट लुटेराहरुले भत्काईसकेका थिए ।

‘बैंकभित्र मान्छेहरु प्रवेश गरेको देखेपछि मैले खुकुरी देखाएर तर्साउन खोजेँ । को हो त्यहाँ ? भनेर कराएँ । तर उनीहरु एक सुरले भित्र पस्दै थिए ।’ सिहंले भने- ‘त्यसपछि मैले घर, छिमेकमा फोन गरेर बैंकमा लुटेरा छिरेको खबर गरेँ । यतिन्जेलसम्म पनि ती मान्छेहरु त्यहाँबाट भागेनन् । त्यसपछि मैले उनीहरुलाई लक्षित गर्दै ‘मान्छे आउँदैछन्, पुलिस पनि आइपुग्यो’ भनेर कराएँ । नभन्दै केहि मानिसहरु कराउँदै बैंकतर्फ आइपुगे पनि । त्यसपछि सो समूह त्यहाँबाट भाग्यो । भित्र २ जनामात्र प्रवेश गरेका थिए । तर बाहिरचाहिँ ७-८ जना जति मान्छे थिए ।’

उनका अनुसार सबैले मुख छोपेका थिए । ‘सबैले मुख छोपेकाले उनीहरुको हुलिया थाहा भएन । तर सबै बयस्कजस्ता देखिन्थे ।’ प्रहरीसँग उनले भनेका छन्, ‘मैले प्रहरी आयो भनेपछि मात्र उनीहरु भागे।’

लुटेरा समूह भागेपछि पनि सिहं कराईरहे । केहि क्षणपछि मानिसहरु त्यहाँ जम्मा भए । उनलेसमेत प्रहरीलाई खबर गरिसकेका थिए । त्यहाँ आएका मान्छेहरुले पनि प्रहरीलाई फलोअप गरेपछि प्रहरी घटनास्थल पुग्यो । सिंहको बयानपछि प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार बैंकको सीसी क्यामेरामा दुई जना बैंकभित्र प्रवेश गरेको देखिएको छ । सीसी क्यामरामा देखिएकाहरुले मुख छोपेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार जहदा गाउँपालिका–५ मा बैंक रहेको भवनको पछाडिपट्टीको ढोका फोडिएको पाइएको छ भने बैंक लुट्ने मनसायका साथ ती लुटेरा आएका थिए वा घरमा चोरी गर्ने बदनियतका साथ आएका थिए भन्ने तथ्यबारे थप अनुसन्धान भईरहेको छ । बैंक रहेको सो घरको पहिलो तल्लामा माछापुच्छ्रे बैंकको साखा छ भने दोश्रो तल्लामा सो घरका घरभेटी बस्छन् । सो भवनको पछाडीपट्टीको गेट फुटाईएको छ । प्रहरीले अहिले सीसीटिभि फुटेज हेरेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । यता माछापुच्छ्रे बैंकका सूचना अधिकारी सुनिल खतिवडाले पनि आफुले पनि बैंकमा भएको लुटको प्रयासबारे सुनेको र प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
 
बिराटनगरमा बैंक लुटेराको बिगबिगी !
यसो त केहि समय अगाडी बिराटनगरमै सिटिजन्स बैंक लुटिएको थियो । सिटिजन्स बैंकको विराटनगरस्थित कर्शिया शाखाबाट लुटेराहरुले २४ लाख ८५ हजार ३ सय ९३ रुपैयाँ लुटेका थिए । उनीहरुलाई प्रहरीले विहारको अररिया भन्ने ठाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । अहिले उनीहरु जेल चलान भएका हुन् । मोरङ अदालतका न्यायाधीश सुदर्शन लम्सालको इजलासले बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका विराटनगर ८ का श्याम मुखिया, भारतको अररिया जिल्लाको थाना बरगाना पञ्चायत शेखपुराका सुनिल यादव, सोही ठाउँका विजय बहरदार र रोशन कुमार यादवलाईलाई जेल चलान गर्ने आदेश दिएको थियो। खुला बोर्डर भएकाले पनि बिराटनगरमा लुटेरा समूहको बिगबिगी भएको स्थानीयहरु बताउँछन् । केहि समययता बिराटनगरका विभिन्न ठाउँहरुमा चोरीका घटनासमेत बढेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: