×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Market @ Friday : नेपाली सेयर बजारलाई शुक्रबार नफापेकै हो ? ८ कारोबार दिनमा ७ दिन बजार रातो !

काठमाडौँ । सरकारले शनिबार र आइतबार दुवै दिन बिदा गर्ने निर्णय गरेपछि धितोपत्र बोर्डले नेप्सेलाई सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबारको व्यवस्था गर्न उर्दी जारी गर्यो । तर परिक्षणका क्रममा रहेको दुई दिने बिदा दिने सरकारको निर्णय अन्तत: टिकेन र सरकारले पुन: आइतबारको बिदाको निर्णय फिर्ता लिएर हप्ताको एक दिनमात्र बिदा दिने निर्णय गर्यो । शुक्रबारको कारोबार बानी परिसकेको भन्दै पुन: धितोपत्र बोर्डले नेप्सेलाई आइतबारदेखि बिहीबारसम्म  प्रतिदिन ४ घण्टा र शुक्रबार २ घण्टामात्र सेयर कारोबारको व्यवस्था गर्न भन्यो ।  अहिले शुक्रबार दिनको दुई घण्टामात्र सेयर कारोबार हुन्छ । तर खास कुरा के छ भने, नेप्सेमा यस्तो नमिठो संयोग परेको छ कि, अहिलेसम्मका कारोबार भएका कुल ७ शुक्रबारमध्ये एक दिनमात्र नेप्से परिसूचक बढेको छ ।
कुन शुक्रबार कस्तो रह्यो बजार ?   
शुक्रबार सेयर कारोबार सुरु भएको पहिलो दिन अर्थात् जेठ ६ गते नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको थियो । सो दिन ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको मात्र कारोबार भएको थियो । अर्थात घटिरहेको बजारमा १ अर्व भन्दा तलको कारोबार सो शुक्रबार देखिएको थियो । सुरुवाती शुक्रबार नै शुभ नबनेको देखेका लगानीकर्ताहरुले अर्को शुक्रबार पनि सुखद् देखेनन् ।
कारोबारको दोश्रो शुक्रबार अर्थात जेठ १३ गते शुक्रबार १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा आइपुग्यो । सो दिन अघिल्लो पटकको शुक्रबारको तुलनामा कारोबार रकम भने बढेको देखियो । सो दिन १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै कारोबारको तेश्रो शुक्रबार अर्थात जेठ २० गते नेप्से ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झर्यो । सो दिन १ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो ।
कारोबारको चौथो शुक्रबार पनि नेप्से घट्ने क्रम रोकिएन । जेठ २७ शुक्रबार नेप्से १४.६४ अंकले घटेर २०४८.१६ अंकमा नेप्से बन्द भयो । सो दिन पनि ८९ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भयो । कारोबारका हिसाबले यो शुक्रबार त झन् दुखद् भयो । असार ३ गते शुक्रबार पनि बजार घट्यो । सो दिन  ७.५७ अंकले घटेर बजार १९७१.३६ बिन्दुमा पुग्यो । यो दिन त झन् कारोबार रकम ७३ करोड ६३ लाख रुपैयाँको मात्र भएको थियो ।
२ घण्टामात्र कारोबार हुने हुनाले सेयर कारोबार कमहुँदा खासै नआत्तिने लगानीकर्ताहरु लगातार शुक्रबारको कारोबार दुखद् हुँदा पनि आत्तिएका देखिन्थे । र त सामाजिक संजालमा पनि ‘शुक्रबार कहिले पनि नफाप्ने भो, ब्याड फ्राईडे लगायतका पोष्ट राखेर लगानीकर्ताहरु रोइलो गरिरहेका देखिन्थे ।    असार १० गते भने बल्ल हरियो शुक्रबारको खाता खुल्यो । असार १० गते शुक्रबार १३.७८ अंकले बढेर बजार १८६२.०६ बिन्दुमा पुग्यो । सो दिन १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो ।
यो शुक्रबार अर्थात असार १७ गते, शुक्रबारे सेयर कारोबारको ८औँ हप्ता हो । र यो शुक्रबार पनि सेयर बजार मापक नेप्से परिसूचक  ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा पुगेको छ ।  शुक्रबार कुल २२१ कम्पनीको ३६ लाख ६३ हजार २ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ ।
शुक्रबार किन देखिंदैन चमक ?
शुक्रबार सेयर बजारमा चमक नदेखिनलाई धेरैले संयोग मान्छन् । ‘बजार नै बुलिस ट्रेन्ड भएका बेला सबै दिन हरियो नै हुन्छ । अव बजार नै माथि जान नसकेको अवस्थामा शुक्रबार बजार रातो भयो भन्नुलाई संयोगमात्रका रुपमा लिनुपर्छ  ।’ सेयर लगानीकर्ता आशिष पौडेल भन्छन्- ‘बार हेरेर सेयेर बजारलाई तुलना गर्नु ठिक हो जस्तो लाग्दैन । कुनैबेला बुधबारलाई यस्तै ‘लोदर’बार भन्ने गरिन्थ्यो । यो पनि एउटा संयोग मात्र हो । यसलाई अन्यथा लिनु हुँदैनजस्तो लाग्छ।’ उनका अनुसार कतिपय ट्रेडरहरुको भने शुक्रबार नै सेयर बेच्ने दिन हुने गरेको र यसरी कारोबार गर्ने ट्रेडरहरुको संख्या ठुलो भएकाले शुक्रबार केहि सेलिङ प्रेसर आएको हुनसक्छ । ‘बजार भनेको बार हेरेर नभई स्थिति हेरेर के हुन्छ भन्ने निर्धारण हुन्छ । त्यसैले शुक्रबारको कारोबारलाई यसरी नहेर्दा पनि खासै फरक पर्दैन । कुनै पनि संयोग हामीले चाहेर खडा हुँदैन। ‘
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: