काठमाडौँ । सेञ्चुरी कर्मसियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच मर्जरको तयारी अन्तिम चरणमा थियो । प्रभु बैंकले ‘ग्रिन सिग्नल’ दिईसकेको अवस्थामा सेञ्चुरी पनि प्रभुमा जानुपर्छ नै भन्नेमा थियो । यतिसम्मकि मर्जर कमिटीले दुई बैंकबीचको सल्लाहमा मर्जरपछिको सीइओमा को रहने, अध्यक्षमा को रहने, बैंकमा डेपुटी सीइओ को रहने लगायतका विषय पनि टुंगोमा पुर्याईसकेको थियो । प्रभु बैंकले सेञ्चुरीलाई १०० प्रतिशत स्वाप रेसियो दिनसमेत तयार भएपछि सेञ्चुरी अझ हौसिएको थियो ।
प्रभुले अहिले सेञ्चुरीका सीइओले खाईपाई आएको सुविधा नघटाउने गरी प्राप्तिपछि बैंकमा सेञ्चुरीका सीइओलाई सिनियर डेपुटी सीइओ बनाउने भएको थियो । स्टाफ एडजष्टमेन्टमा पनि लगभग सबै कुरा मिलेको थियो । अर्थ सरोकारलाई प्राप्त बैंकको मर्जर कमिटीले तयार गरेको सिफारिसपत्रमा यी सबै तथ्यहरु उल्लेख छन् । यो सिफारिस सो कमिटीले बोर्डसमक्ष बुझाएको थियो । मर्जरमा जाने लगभग सबै तयारी भएकै कारण बैंकले संचालक समितिको बैठक बस्ने अघिल्लो दिननै केहिलाई छोडेर बाँकी सबैलाई प्रमोसनसमेत गरिसकेको थियो । तर अन्तिम समयमा आएर बैंकले प्रभुमा नजाने निर्णय गर्यो ।

किन रोकियो मर्जर ?
अर्थ सरोकारलाई गोप्य स्रोतबाट प्राप्त सो सिफारिस पत्रमा राई थरका एक र अभिषेक नाम गरेका एकगरी दुईको हस्ताक्षर छ । उनीहरु मर्जर कमिटीमासमेत छन् । तर सो पत्रमा तारा निरौलाले हस्ताक्षर नगर्दादेखि नै मर्जरको कुरा अघि बढ्नेमा शंका थियो । ‘सबै कुरा मिलिसकेको थियो । तर अन्तिममा अनेक खालका बखेडा झिकियो । र लाष्ट आवरमा मर्जरमा नजाने भनियो ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने- ‘हाम्रा सीइओको तलव यहाँ झन्डै ९ लाख छ । जवकि प्रभु बैंकमा डेपुटी सीइओको तलव ५ लाख पनि छैन । खाईपाई आएको सबै सुविधा नघटाउने सर्त प्रभुले मानेको केसमा पनि मर्जरमा जान बैंक तयार भएन ।’ उनका अनुसार सेञ्चुरीमा बिग्रिएका केहि फाइलहरुका विषयमा थप अध्ययनसमेत गर्नुपर्ने भएकाले पनि बैंक तत्काल नै मर्जरमा नजाने भनेर अडान लिने मुडमा बस्यो । ‘प्रभुले १:१ दिनु भनेको हदैसम्म दिएको हो । सेञ्चुरीले राखेका हरेक सर्त मानेको हो । तर सेञ्चुरीले यस्तो केसमा पनि अघि बढ्न मानेन । अव यस्तो अफर सेञ्चुरीलाई कसैले दिन्छजस्तो लागेको छैन ।’
स्रोतका अनुसार मर्जरमा जानका लागि सेञ्चुरी केहि कारणले तयार भएन । एक त सेञ्चुरीमा हालीमुहाली गरेर बसेका केहिले कुनै पनि हालतमा बैङ्क मर्जरमा जान नहुने भन्दै ‘चलखेल’ गरिरहेका थिए भने सेञ्चुरीमा बिग्रिएका केहि फाइल प्रभुमा जाँदा ती फाइलसम्बन्धि पोल खुल्ने र आफुलाई अफ्ट्यारो पर्ने पीर सेञ्चुरीका मालिकलाई थियो। अन्तिममा अझै तयारी पुगेन भनियो । शुक्रबार राती नै हस्ताक्षर गर्ने भनिएको हस्ताक्षर अन्तत: रोकियो ।

‘सेञ्चुरी एक्लै हिड्न कति सम्भव ? कति असम्भव ?’
हुन त असम्भव भन्ने कुरा नै हुँदैन । तर सेञ्चुरीलाई एक्लै हिड्न भने अव गार्हो हुनेछ । बैंकमा थुप्रै फाइलहरु बिग्रिएका छन् । बैंकमा कुनैबेला हालीमुहाली गरिरहेकाहरु क्रमश: विभिन्न काण्डमा पर्दै आएको तथ्यले पनि बैंकभित्र थुप्रै अन्य फाइलहरु पनि बिग्रिएको अनुमान गर्न गाह्रो छैन । ‘बैंक एक्लै हिड्न त अव धेरै गाह्रो छ । तर प्रभुले १:१ दिंदा बैंक मर्जरमै गएको भए हुन्थ्यो ।’ बैंककै एक उच्च अधिकारी भन्छन्- ‘हाम्रो बैंकमा भएको आन्तरिक राजनीतिले बैंकलाई माथि जान दिईरहेको छैन । अव अर्को जोडी खोज्न त मालिकहरु लागिरहनुभएको छ होला, तर प्रभुमा जतिको गतिलो मर्जर अन्त हुँदैन ।’