×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जर सम्झौता भएका कम्पनीको १५ दिनमात्रै कारोबार रोक्का हुने व्यवस्था कहिले आउँछ ?, बोर्ड अध्यक्ष भन्छन्- ‘दशैं अघि नै’

PRIME CA

मर्जर सम्झौता भएका कम्पनीको १५ दिनमात्रै कारोबार रोक्का हुने व्यवस्था कहिले आउँछ ?, बोर्ड अध्यक्ष भन्छन्- ‘दशैं अघि नै’

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्नु पर्ने निर्देशिकाकाे मस्याैदा तयार गरेको केहि समयपछि सेयर लगानीकर्ताहरुले ‘सो मस्यौदा कहिले पास हुन्छ?’ र ‘यो व्यवस्था कहिलेदेखि लागु हुन्छ?’ भन्ने जिज्ञासा राखिरहेका बेला नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने दशैंअघि नै सो व्यवस्था कार्यान्वयनमा आइसक्ने बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष हमालले दशैंअघिसम्म सबै काम सकेर सो मस्यौदा पास गरी सेयर कारोबार बढीमा १५ दिनमात्र रोक्का हुने व्यवस्था दशैंअघि नै आइसक्ने बताएका हुन् ।

‘यो एकदम जटिल विषय हो । हामीले नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ लगायतसँग यस विषयमा छलफल गरिरहेका छौँ । यस विषयमा केहि सुझावहरु पनि आएका छन् । ती सुझावहरुबारे पनि अध्ययन भईरहेको छ । ढिलोमा पनि दशैंअघि नै यो व्यवस्था कार्यान्वयनमा आईसक्छ ।’ बोर्ड अध्यक्ष हमालले अर्थ सरोकारसँग भने -‘हामी लगानीकर्ताका पक्षमा निर्णय गर्न आतुर छौँ । महिनौंसम्म सेयर कारोबार रोक्का हुँदा धेरैलाई मर्का परेको छ । छिट्टै नै यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउँछौँ ।’

बोर्ड अध्यक्ष हमालले मौद्रिक नीतिमार्फत नै धितोपत्र बोर्डलाई आवश्यक अधिकार दिई राष्ट्र बैंकले यससम्बन्धि व्यवस्था गरिदिएकाले काम गर्न सहज भएको र अहिले पनि नेपाल राष्ट्र बैंकसँग यस विषयमा सहकार्य भईरहेको बताएका छन् । ‘कति दिनसम्म सेयर कारोबार रोक्का गर्नुपर्छ भन्ने विषयमा हामीले राष्ट्र बैंकसँग पनि सल्लाह गरिरहेका छौँ । छिट्टै नै सबैको सुझावलाई मनन गरेर यो व्यवस्था कार्यन्वयनमा ल्याउनेगरी धितोपत्र बोर्डले काम गरिरहेको छ ।’

भित्री कारोबार हुने सम्भावना देखेपछि नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार तत्काल रोक्नेगरी कानुनमै व्यवस्था गरेको थियो । गत मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सो अधिकार धितोपत्र बोर्डलाई नै दिएको थियो । यता बीमा कम्पनीहरुको हकमा बीमा समिति पनि १५ दिन मात्र सेयर कारोबार गर्ने विषयमा सकारात्मक देखिन्छ । उता हाइड्रो कम्पनीहरुको हकमा भने विद्युत नियमन आयोगले बोर्डले गर्ने निर्णय आफुलाई मान्य हुने बताईसकेको छ ।

धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार निर्देशिका १०७९ को ड्राफ्ट तयार गर्दै कम्पनीकाे मर्जर सम्झाैता भएपछि बढीमा १५ दिन मात्रै सेयर काराेबार राेक्का हुने व्यवस्था ल्याउँदैछ । अहिले सुझाव संकलन, र थप अध्ययनका क्रममा रहेको सो ड्राफ्ट निर्देशिकाको मस्यौदामा ‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ भनिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: