×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुध्रेन ‘लुटेरा केटो’, माछापुच्छ्रेको एटिएम फुटाएर जेल परेका ‘कृष्ण बहादुर’ फेरि एनआईसीको एटिएम फुटाउँदै गर्दा पक्राउ !

काठमाडौं । आजभोली एटिएम चोरीका खबर दिनैजसो सार्वजनिक भइरहन्छन् । नागरिकको सहजताका लागि भन्दै बैंकले थालेको एटिएम सेवा नै बैंकका लागि असुरक्षित बन्न थालेको छ । किन ? थाहा छैन, तर पछिल्ला दिन चोरहरुको निशानामा बैंकका एटिएमहरु धेरै पर्ने गरेका छन् । ‘पैसा हुन्छ त बैंककै एटिएम मै’ भन्ने मानसिकताका साथमा चोरीका घटनाहरु हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अझ त्यसमा पनि सबैभन्दा धेरै चोरहरुको निशानामा पर्ने एटिएममा एनआईसी एशिया बैंकको एटिएम बुथ रहेको छ ।

एनआईसी एशियाको एटिएम चोरी गर्ने पक्राउः
यसैबीच पोखारामा एनआईसी एशिया बैंकको एटिएम चोरीको प्रयास गर्ने एक युवक पक्राउ गरेका छन् । पोखरा महानगरपालिका १७ विरौटामा रहेको बैंकको एटिएम मेसिन फोर्दै गर्दा पर्वतको कुश्मा नगरपालिका ३ का २३ वर्षिया कृष्णबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राति मेसिन फोर्दै गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विकलाई अदालतबाट चोरी उद्योग कसूर मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । कृष्णबहादुर विक यसभन्दा अघि माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोर्दै गरेको अवस्थामा पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताएका छन् । ‘बैंकको विरौटा शाखामा रहेको एटिएम चोरी हुँदैछ भन्ने सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो । त्यहाँ पुग्दा एक जना युवकले एटिएम बुथ फोर्ने प्रयास गरिरहेका थिए ।’ डिएसपी तिवारीले भने– ‘ती युवकलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान थालेका छौँ । विक यसभन्दा अगाडी पनि एटिएम चोरीकै मुद्धामा सजाय भुक्तान गरिसकेको व्यक्ति हुन् ।’

माछापुच्छ्रेको एटिएम फोडेर कैद सजाय भुक्तान:
हरेक दिन एटिएम मेसिन चोरीका घटना सार्वजनिक भईरहँदा ‘एटिएम पनि चोर्ने को रहेछ ?’ भन्ने प्रश्न उठ्नु स्वभाविक हो । एकपटक एटिएम बुथ चोरीकै मुद्धामा कैद भुक्तान गरिसकेको व्यक्ति पुनः सोही अपराधमा पक्राउ पर्यो भन्दा आश्चर्य लाग्न सक्छ, तर पोखरामा यस्तै भयो । माछापुच्छ्रे बैंकको एटिएम बुथ चोरीको प्रयासमा पक्राउ परी कैद भुक्तान गरिसकेको युवक पुनः एनआईसी एशिया बैंकको एटिएम चोरी गर्दैगर्दा पक्राउ परेका छन् ।

कृष्ण बहादुर विकलाई यसभन्दा अघि माछापुच्छ्रे बैंकको एटिएम चोरीको प्रयासमा कास्की प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरी चोरी मुद्दामा कास्की जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेपछि विकलाई पुर्पक्षका लागि थुनामा गएका थिए । पछि अदालतबाट गरिएको मुद्दा फैसलाले उनलाई कारागार चलान गरेको थियो । कैद भुक्तानी गरी छुटेका विकले पुनः बैंककै एटिएम मेसिन फोर्ने प्रयास गरेका छन् ।

एनआईसी एशियामा एक महिना नबित्दै दोस्रो पटक चोरीको प्रयासः
यसो त गत असार ३१ गते पोखरामै एनआईसी एशिया बैंकको एटिम फोर्ने प्रयास भयो । पोखराको न्यूरोडस्थित बैंकको एटिएम ३१ गते राती फोड्ने प्रयासमा १९ वर्षिय नरेश पुन मगर पक्राउ परे । एटिएम बुथ फोर्न गैंटीको प्रयोग गरेका मगरलाई अदालतमा चोरी मुद्धामा मुद्धा दर्ता गरी आवश्यक कारबाही समेत गरिएको थियो । तर त्यसको एक महिना पनि नबित्दै पोखरामै पुनः एनआईसी एशियाकै एटिएम बुथ फोर्ने प्रयासमा थप एकजना पक्राउ परेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: