×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारको कारोबार स्थगन गर्न धितोपत्र बोर्डले निर्देशन दिए पनि नेप्सेको संचालक समितिले मानेन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

शुक्रबारको कारोबार स्थगन गर्न धितोपत्र बोर्डले निर्देशन दिए पनि नेप्सेको संचालक समितिले मानेन !

काठमाडौँ । शुक्रबारको सेयर कारोबार स्थगन गर्न नेप्सेलाई धितोपत्र बोर्डले निर्देशन दिएपनि नेप्सेको संचालक समितिले सो एजेन्डालाई स्वीकृत गर्न अस्वीकार गरेको छ । शुक्रबारको कारोबार तत्काल स्थगन गर्न धितोपत्र बोर्डले निर्देशन दिई ताकेता गरेपछि नेप्सेले सो एजेण्डा संचालक समितिमा लगेको थियो । तर सो एजेण्डा संचालक समितिले पास नगरेको नेप्सेका सीइओ कृष्ण कार्कीले अर्थ सरोकारलाई जानकारी दिए ।

‘धितोपत्र बोर्डबाट मौखिक निर्देशन आएको थियो । त्यसपछि यो एजेण्डा संचालक समितिमा लागिएको थियो । तर संचालक समितिले यसलाई स्वीकृत गरेन ।’ नेप्सेका सीइओ कार्कीले अर्थ सरोकारसँग भने, ‘शुक्रबारको कारोबारले कसलाई अफ्ट्यारो परेको हो भन्ने आधार देखिएन भन्ने कुरा आयो । लगानीकर्ताका तर्फबाट पनि लिखित रुपमा त्यस्तो केहि नआएकाले अहिले शुक्रबारको कारोबार स्थगन गर्ने कारण नदेखिएको भन्दै संचालक समितिले अहिलेलाई शुक्रबार कारोबार जारी राख्ने भनेको छ ।’ उनका अनुसार भाद्र १० गते शुक्रबार सेयर बजारमा नियमित कारोबार हुनेछ । यसअघिको शुक्रबार भने सार्वजनिक विदाका कारण नेप्से बन्द भएको थियो ।

‘हप्ताको ५ दिन नै ठिक हुन्छ, नेप्सेलाई शुक्रबारको कारोबार बन्द गर्न भनेका छौँ’ : बोर्ड
यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने हप्ताको ६ दिन सञ्चालन भईरहेको सेयर कारोबारलाई ५ दिन बनाउनका लागि नेप्सेलाई आवश्यक निर्देशन दिईसकेको बताएका छन् ।‘कारोबार रोक्ने वा बन्द गर्ने नेप्सैकै कार्यक्षेत्र हो, तर धितोपत्र बोर्डले निर्देशन दिन मिल्ने क्षेत्र भएकोले हामीले निर्देशन दिईसकेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष हमालले भने –‘हाल ६ दिन भईरहेको कारोबारलाई ५ दिनमा झारेर शुक्रबारको कारोबार बन्द गर्न निर्देशन दिइएको हो । हप्ताको पाँच दिन कारोबार हुने व्यवस्था परिपक्व र विश्वव्यापी अभ्यास हो । दुई दिन त लगानीकर्तालाई उचित अध्ययन गर्न र सिस्टमलाई म्यानेज गर्न पनि चाहिन्छ । सोही अनुसार नेप्सेमा निर्देशन दिएको छु, छिट्टै शुक्रबारको कारोबार बन्द हुन्छ ।’

सन्तुष्ट छैनन् लगानीकर्ता, तर लगानीकर्ताका नेता नजाग्दा समस्या !
शुक्रबारको सेयर कारोबारदेखि सेयर लगानीकर्ताहरु सन्तुष्ट छैनन् । उनीहरुले सेयर कारोबारका लागि अध्ययन समय पनि नपुगेको र शुक्रबारको कारोबार पनि नफाफेको भन्दै शुक्रबारको सेयर कारोबार बन्द गर्नुपर्ने आवाज उठाईरहेका छन् । तर नेप्सेले भने शुक्रबारको सेयर कारोबार बन्द गर्नुपर्ने आवाज लगानीकर्ताको हो भन्ने निष्कर्ष लिखित रुपमै खोजेको छ । ‘लिखित रुपमै कतैबाट पनि शुक्रबारको कारोबार बन्द गर्नुपर्छ भनेर आएको छैन । धितोपत्र बोर्डले दिएको निर्देशन पनि मौखिक हो, लिखित होइन । लगानीकर्ताका संगठनबाट पनि त्यस्तो केहि पनि आएको छैन ।’ नेप्सेका एक सञ्चालकले अर्थ सरोकारसँग भने- ‘कतैबाट पनि गलत भनेर नआएपछि अहिले भईरहेको कारोबार सहि नै हो भन्ने हाम्रो निष्कर्ष रह्यो । तत्कालका लागि यो निर्णय पास भएन । शुक्रबार नियमित कारोबार हुन्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: