×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लगानीकर्ताका संगठनहरु एक हौँ’ भनी गरिएको कार्यक्रम अधिकांश संगठनबाटै ‘बहिष्कार’ ! को-किन गएनन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘लगानीकर्ताका संगठनहरु एक हौँ’ भनी गरिएको कार्यक्रम अधिकांश संगठनबाटै ‘बहिष्कार’ ! को-किन गएनन् ?

सुदर्शन श्रेष्ठ

२२ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । शुक्रबार काठमाडौँमा लगानीकर्ताहरु ‘लगानीकर्ताका संगठनहरु एक हौँ’ भन्दै भेला डाकिएको थियो। सयौँको संख्यामा सेयर लगानीकर्ताहरु त्यहाँ पुगे पनि । तर लगानीकर्ताका संगठनहरु एक हौँ भनी गरिएको कार्यक्रममा लगानीकर्ता संगठनका नेताहरु नै देखिएनन् । स्वतन्त्र पूँजीबजार सुधार संघ रोहन कार्कीबाहेक अन्य कुनै पनि संगठनका नेताहरु सो कार्यक्रममा उपस्थित भएनन् । कार्यक्रममा अन्य संघ-संगठनका नेताहरु नआएपछि तिलक कोइराला, मुक्ति अर्याल, सुबास चन्द्र भट्टराई लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
भेलामा कसले के भने ?
कार्यक्रमलाई सम्बोधन गर्दै लगानीकर्ता सुबासचन्द्र भट्टराईले लगानीकर्ताको कार्यक्रम भएकाले आफु त्यहाँ उपस्थित भएको र सबै लगानीकर्ता संगठन एक हुनुपर्ने अभिव्यक्ति उनले कार्यक्रममा दिएका थिए । सेयर बजारमा सबैलाई बजारका भित्री कुराको समेत जानकारी दिनुपर्ने र बजार बलियो बनाउन सबै संगठन एक हुनुपर्ने उनको भनाई थियो । सेयर बजारको समृद्धिका लागि सबै मिलेर काम गर्नुपर्ने भएकाले सरकारी निकायले पनि सेयर बजारका बारेमा सकारात्मक भएर काम गर्नुपर्ने र लगानीकर्तालाई पनि सेयर शिक्षा दिनुपर्नेतर्फ उनले जोड दिए ।
सम्बोधनकै क्रममा स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीले सबै संगठनहरु एक हुनुको विकल्प नभएको बताएका छन् । सबै मिलेर बन्ने महासंघमा आफुलाई पद नचाहिने बताउँदै उनले सबै मिलेर लगानीकर्ताका हितमा काम गर्नुपर्ने बताएका छन् । ‘मलाई पद चाहिन्न । तर सबै संगठनहरु एक हुनुको विकल्प छैन।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने -‘यहाँ अरु संगठनका साथीहरु नआएको देख्दा अचम्मित भएको छु ।’
कार्यक्रममा बोल्दै लगानीकर्ता मुक्ति अर्याल, तिलक कोइराला लगायतले पनि अव सबै लगानीकर्ताका संगठनहरु एक हुनुको विकल्प नरहेको बताएका छन् । लगानीकर्ताहरुको सो भेलालाई सम्बोधन गर्दै उनीहरुले लगानीकर्ता संगठन धेरै भएकै कारण लगानीकर्ताका मुद्धा बलियो नबनेको र सरकारले लगानीकर्ताका समस्याहरुलाई नजरअन्दाज गरेकोसमेत गुनासो पोखेका छन् ।
लगानीकर्ताकै संगठनबाट कार्यक्रम बहिष्कार !
यसो त त्यहाँ अन्य कुनै पनि लगानीकर्ता संगठनका नेताहरु उपस्थित भएनन् । सबैभन्दा पूरानो र ठुला लगानीकर्ताको हितमा काम गर्ने संगठनका रुपमा परिचित नेपाल इन्भेष्टर्स फोरमका कोहि पनि प्रतिनिधि त्यहाँ उपस्थित थिएनन् । सो कार्यक्रममा सेयर लगानीकर्ता संघ नेपालका केहि पूर्व पदाधिकारी आएपनि अहिलेका पदाधिकारीहरु कोहि पनि आएनन् । पछिल्लो समय धेरै लगानीकर्ताको पक्षमा काम गरेको भन्दै ‘एक्टिभ’ संगठनका रुपमा परिचित नेपाल पूँजीबजार लगानीकर्ता संघको तर्फबाट आधिकारिक रुपमा प्रतिनिधित्व गर्न सो कार्यक्रममा कोहि पनि आएनन् । यद्यपी सो कार्यक्रममा बक्ताका रुपमा बोलेका सुबास चन्द्र भट्टराई सोहि संघका प्रदेश नम्बर १ संयोजक हुन् । तर उनी पनि संघको तर्फबाट त्यहाँ नगएको संघको दाबी छ ।
अर्को नेपाल पूँजीबजार संघ नामक लगानीकर्ताको सानो समूह लामो समयदेखि बजारबाट नै ‘गायब’ छ । लगानीकर्ताको हितमा विभिन्न माग राख्दै धितोपत्र बोर्डमा अनशनजस्तो गम्भीर प्रकृतिको आन्दोलनका समयमासमेत गुमनाम भएको सो संगठन सो भेलामा आउने कुरै भएन । रोहन कार्कीलाई बर्खास्त गरेको विज्ञाप्ति नै निकाल्ने संगठन पनि सो कार्यक्रममा उपस्थित थिएन । काठमाडौँका मात्र होइन मोफसलमा खुलेका केहि संगठनका प्रतिनिधिहरु पनि सो कार्यक्रममा उपस्थित थिएनन् ।
सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष भन्छन्- ‘जानकारी नै भएन, जान आवश्यक पनि ठानिएन’
सेयर बजारमा लागि परेको भनिएको संगठन सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आफुहरुलाई कार्यक्रमका बारेमा खासै जानकारी पनि नभएको र आफुहरुले लगानीकर्ताका पक्षमा काम गरिरहेकाले सो भेलामा गईरहन आवश्यक नरहेको तर्क गरेका छन् ।
‘हामीलाई कार्यक्रमको बारेमा जानकारी थिएन । र पनि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु संगठनका माध्यमबाट गरिरहेका छौँ । कार्यक्रममै उपस्थित भएर भुमिका निभाउनुपर्ने खासै केही देखिन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै फुल्लेलले भने- ‘लगानीकर्ताका विभिन्न संगठनहरु एक हुनुपर्ने मागसहित सयौं लगानीकर्ताहरु जमघट हुनुभयो, सल्लाह गर्नुभयो त्यो राम्रो पक्ष हो । हामीले पनि हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम गरिरहेका छौँ । यसैबीच उहाँहरुले पनि कार्यक्रम गर्नुभएछ । जसले जे गरेपनि लगानीकर्ताको हितका लागि नै गर्ने हो, त्यसका लागि उहाँहरुलाई धन्यवाद ।’
कार्यक्रम बहिष्कार नै गरेको विषयमा भने उनले सबैलाई आ-आफ्नै तरिकाले हिड्ने अधिकार भएको तर्क गरेका छन् । ‘बजारमा अरु धेरै साथीहरु हुनुहुन्छ । सबैलाई आ–आफ्नो तरिकाले हिँड्ने र मार्ग तय गर्ने अधिकार छ । माथि उक्लिदै गरेको मान्छेको खुट्टा तान्ने प्रवृति रहको यो बजारमा लगानीकर्ताको हितमा हुने जुनसुकै कामको हामी समर्थन गर्छौं । जो साथीहरु बजारको हितका लागि फ्रन्टलाइनमा उभिनुहुन्छ, उहाँहरुको साथमै हुन्छौँ । हाम्रो अनुपस्थितिलाई कार्यक्रमको विरोधसँग जोड्नु हुँदैन ।’ उनले भने ।
यता उनले सबै संगठनहरु एक ठाउँमा उभिन अहिलेको स्थितिमा सम्भव नै नरहेकोसमेत दाबी गरेका छन् । ‘लगानीकर्ताका संगसंगठनहरु एकै ठाउँमा उभिएर राम्रो खालका गतिविधि गर्न सके सुनमा सुगन्ध हुन्थ्यो । तर त्यो सम्भव छैन । किनकी बजारमा केही सकरात्मक काम गर्न खोज्नेहरुलाई ‘बाईपास’ गर्ने चलन छ । जसले बजारको हित चाहने साथीहरुलाई ठेस पुग्छ । हामीले अहिलेसम्म लगानीकर्ताको हितभन्दा बाहिरका कामहरु गरेका छैनौं ।’ उनले भने- ‘राम्रो गर्ने साथीहरुलाई हाम्रो साथ सँधै हुन्छ । तर आवाज कहाँबाट ? कसले उठायो ? भन्ने कुरालाई पनि ध्यानमा राख्नुपर्छ । बजारको हितका लागि हो भने संगठनहरु एक हुनुपर्छ तर मैले त्यसको सम्भावना देखेको छैन ।’
‘हाम्रो संगठन महासंघजस्तै छ, भ्रमको खेती बढी भयो’ : राधा पोखरेल
यता नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले सबै संगठनहरु एक हुन सम्भव पनि नरहेको र आवश्यक पनि नरहेको तर्क गरेकी छिन् ।
‘हामी लगानीकर्ताहरु यसै पनि एक छौँ । लगानीकर्तालाई समस्या पर्दा हामी सबैजना एकजुट हुन्छौं र समाधानका लागि काम गर्छौैं । अहिलेको समय भनेको लगानीकर्ता संगठन एक भएर देखाउने भन्दा समस्या समाधानमा लागि पर्ने समय हो । एक ढिक्का भएर काम गरेका राजनीतिक दलहरु पनि बेलाबेलामा समस्या पर्दा टुटेको यथार्थ हामीले देखेका छौँ । त्यसैले पनि अहिले लगानीकर्ताका संगठनहरु एक हुनुभन्दा एकजुट भएर काम गर्नु उपयुक्त हो । हामी विगतदेखि नै विधिवत् रुपमा दर्ता भएर काम गरिरहेका छौँ र जो अहिले एकताको नारा लिएर अगाडी आउनुभएको छ उहाँहरुको संगठनमा कुनै विगत छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भनिन्- ‘यसैपनि हाम्रो संगठन महासंघ जस्तै छ । अहिलेसम्म देशभरका ७३ जिल्लामा सेयर बजारसम्बन्धी सचेतना कार्यक्रम पनि गरिसकेका छौँ । त्यसैले पनि यो लगानीकर्ताका संगठन मर्ज गर्ने, फुटाउने भन्ने कुराचाहिँ समय सापेक्ष होइन । यद्यपी लगानीकर्ताको हितका पक्षमा हामी सँधै छौँ ।’
अर्थ सरोकारसँग कुराकानी गर्दै उनले लगानीकर्ताका संगठनले काम गरेनन् भन्ने भ्रमको खेती भईरहेकोसमेत आरोप लगाएकी छिन् । ‘उहाँहरुलाई हाम्रो काम चित्त नबुझेको होइन । तर लगानीकर्ताका संगठनले काम गरेनन् भन्ने भ्रमको खेती गर्ने षडयन्त्र भयो । र त्यही गलत षडयन्त्रले गर्दा केही लगानीकर्ताहरु भाँडिनुभएको हो । हाम्रो संगठनमा रहनुभएको ३०–३२ हजार लगानीकर्तालाई त त्यस्तो लागेको छैन । दुईचार जनालाई लाग्यो भन्दैमा संगठन मर्ज गरिहाल्नुपर्छ भन्ने चाहिँ होइन ।’ उनले भनिन्।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी