Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डले सेयर बजार सम्बन्धि सचेतनामूलक भिडियो फिल्म बनाउँदै, मूख्य भूमिकामा मह जोडी !

राधिका श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर बजारसम्बन्धि सचेतनामूलक भिडियो फिल्म बनाउने भएको छ । बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने सो भिडियो फिल्ममा मदन कृष्ण श्रेष्ठ हरिबंश आचार्यसहित अन्य चर्चित कलाकारहरुको पनि अभिनय रहनेछ । बोर्डले मह जोडीसँग फिल्म निर्माणका विषयमा प्रारम्भिक छलफल गरिसकेको छ भने केहि समयभित्र नै सम्झौतागरी काम अघि बढ्ने भएको छ ।

धितोपत्र बोर्डको उच्च स्रोतले दिएको जानकारी अनुसार यसका लागि आवश्यक पर्ने प्रक्रियासमेत बोर्डले अगाडी बढाईसकेको छ । ‘सेयर बजार भनेको के हो ?, धितोपत्र बोर्ड भनेको के हो ?, सेयरमा लगानी गर्दा के के कुरामा ध्यान दिने ?’ लगायतका विषयलाई निकै रमाइलो ढंगले प्रस्तुत गरिने सो भिडियो फिल्म ३० मिनेट हाराहारीको हुनेछ । ‘फिल्म बनाउने विषयमा मह जोडीसँग एक चरण कुरा भईसकेको छ । अव छिट्टै सम्झौता गरेर फिल्मको निर्माण सुरु हुनेछ ।यसले समग्र सेयर बजारमा लाग्न खोजेकाहरु र लाग्नेहरुलाई झकझाकाउने विश्वास बोर्डले लिएको छ ।’ बोर्ड स्रोतले भन्यो- ‘सेयर सचेतनाका लागि गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउन हामीले फिल्म निर्माणको काम गर्न लागेका हौँ ।’

यसअघि नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले पनि सेयर बजारसँग सम्बन्धित यस्तै भिडियो फिल्मको निर्माण गरेको थियो । ‘नातिप्रसाद’ नाम दिईएको सो लघुचलचित्रलाई धेरैले मन पराएका थिए । निकै ‘ड्राइ’ मानिएको लेखा व्यवसायको विषयलाई मह जोडीसहितको टिमले निकै सुन्दर तरिकाले सो लघुचलचित्रमा प्रस्तुत गरेको थियो । सो लघुचलचित्रलाई अहिले युट्युबमा लाखौँले हेरिसकेका छन् ।यसले लेखा व्यवसाय र नियामक आइक्यानबारे आम जनतालाई बुझाउन ठुलो भूमिका खेलेको आइक्यानकै अधिकारीहरु बताउँछन् ।

बोर्डले सो फिल्म बनाएर त्यसको प्रचारप्रसार गर्ने रणनीतिसमेत बनाएको छ । ‘महजोडी भनेपछि सबैले सम्मान गर्ने जोडी हो । त्यसैले उहाँहरुलाई राखेर फिल्म बनाउँदा धेरैलाई विश्वास पनि हुन्छ । धितोपत्र बोर्डको पनि प्रचार हुन्छ ।’ बोर्डका एक उच्च अधिकारीले भने, ‘यो अलि अघिकै प्लान थियो । अव यो योजना कार्यान्वयन हुन्छ ।’

उता नेप्सेले पनि सेयर बजारसम्बन्धि नाटक, लघुचलचित्र, गीत लगायतका सामाग्री बनाएर सेयर सचेतनाको काम गर्ने तयारी गरिरहेको छ । नेप्सेले यसअघि पनि ‘सेयर मार्केटमा गरौँ है लगानी’ बोलको गीत बनाएर प्रचार सामाग्री तयार गरेको थियो । प्रस्तुती खासै राम्रो नभए पनि नेप्सेले सार्है राम्रो सुरुवात गरको भन्दै नेप्सेको कामको चौतर्फी प्रशंसा हुँदै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK