×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकमा ‘वित्तीय अपराध’ : कनेक्ट आईपीएसमार्फत ग्राहकको लाखौँ रकम चोरेर श्रीमतीका नाममा ट्रान्सफर !

बर्दिया । नेपाल बैंकबाट ग्राहकको रकम अपचलन गरेर भागेका धबेन्द्र न्यौपानेसम्बन्धि थप तथ्यहरु फेला परेका छन् । ग्राहकले बैंकमा जम्मा गरेको रकम ‘अनियमितता’ गरेर भागेका उनी अझै सम्पर्कमा नआईसकेको भएपनि प्रहरीको अनुसन्धन र बैंककै टोलीको अनुसन्धानले केहि प्रारम्भिक तथ्यहरु फेला पारेका छन् । जसमा उनले ग्राहकको पैसा कनेक्ट आईपीएसमार्फत चोरी गर्ने र सो रकम आफ्नी श्रीमतीका नाममा विदेश पठाउने गरेको रहस्य बाहिर आएको छ । प्रहरी र बैंकको विशेष इन्सपेक्सन टोलीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । बैंकले उनलाई प्रचलित व्यवस्थाअनुसार बैंकको कर्मचारीबाट निलम्बन गरिएकोसमेत जानकारी दिएको छ । अहिलेसम्म पनि न्यौपाने फरार छन् ।

कनेक्ट आईपीएसमार्फत झन्डै १ करोड घोटाला, श्रीमतीका नाममा ट्रान्सफर !

अनुसन्धानका क्रममा ग्राहकले कनेक्ट आईपीएसमार्फत जम्मा गरेको रकमलाई उनले चोरी गरेको रहस्य खुलेको छ । बैंकको बर्दियास्थित गुलरिया साखाका साखा प्रबन्धक रहँदा पनि उनले ग्राहकको रकम यसरी नै चोरेर आफ्नी श्रीमतीका नाममा विदेश पठाउने गरेको तथ्य ‘लग डिटेल’मा देखिन्छ । उनले गुलरिया साखामा हुँदा झन्डै ६० लाख रुपैयाँ यसरी ग्राहकको रकम चोरी गरेको विवरण भेटिएको छ भने उनले यसअघि उनी साखा प्रबन्धक रहेको सुर्खेतस्थित साखाबाट पनि ग्राहकको रकम त्यसरी नै चोरी गरेको तथ्यसमेत बाहिरिएको छ । उनले सुर्खेतस्थित साखामा रहँदा पनि ग्राहकको रकम यसरी नै चोरी गर्ने गरेको र सो रकम पनि ४०-५० लाख हाराहारी रहेको अनुमान बैंकले गरेको छ ।  प्रारम्भिक आंकलनअनुसार बैंकमा खाता रहेका विभिन्न व्यक्तिको नामबाट रकम निकालेर श्रीमतीको नाममा बाहिर लगेको करिब ५० लाख रकमबारे सूचना बाहिर आएपछि उनी सम्पर्कविहीन भएका हुन् ।
सुर्खेतमा हुँदैदेखि ग्राहकको पैसा चोर्थे न्यौपाने !
यसअघि नेपाल बैंकको सुर्खेतस्थित वीरेन्द्रनगरको शाखामा कार्यरत न्यौपानेलाई गत चैत २४ गते गुलेरिया शाखाको म्यानेजर बनाएर बैंकले सुर्खेतबाट सरुवा गरेको थियो । नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेका उनले सुर्खेतबाटै सेवा सुरु गरेका थिए ।  बैंक स्रोतका अनुसार बिरेन्द्रनगरमा पनि घोटालाको आशंका भएपछि उनको सरुवा गरिएको थियो । तर कनेक्ट आईपीएसबाट कसरी पैसा चोरी गर्न मिल्छ भन्ने थाहा पाएका उनले बर्दियामा समेत यो धन्दालाई जारी राखेका थिए । बैंकको अडिटका क्रममा जनताको लाखौँ रुपैयाँ बैंकको सिष्टममा नभएको तथ्य खुलेपछि यस विषयमा बैंकले थप अनुसन्धान गरेको थियो । बैंकको केन्द्रीय कार्यालयले रकम हिनामिना भएको तथ्यबारे सूचना पाएपछि काठमाडौंबाट छानबिन गर्न विशेष अनुसन्धान टोली बनाएर जाँदैछ भन्ने सूचना पाएपछि न्यौपाने फरार भएका थिए । स्रोतका अनुसार काठमाडौँबाट टोली आउँदै गरेको खबर केन्द्रीय कार्यालयका एक उच्च तहका कर्मचारीले उनलाई बताएका थिए ।
बैंकबाट पैसा निकाल्ने बढे, ग्राहकको गुनासो ‘नेपाल बैंक र सहकारी उस्तै रहेछन्’
बैंकबाट लाखौँ रुपैयाँ पैसा अपचलन गरेर ग्राहक भागेको खबर बाहिरिएपछि अहिले सो साखा र नेपाल बैंकका अन्य साखामा पनि ग्राहकहरुले पैसा झिक्ने क्रम बढेको छ । अझ बर्दियाको गुलरियास्थित साखामा त पैसा झिक्ने ग्राहकहरु झनै बढेका छन् । ‘बैंकबाट पैसा झिक्ने क्रम बढेको कुरा सत्य हो । त्यसमा पनि थोरैमात्र पैसा जम्मा गर्नेहरु पैसा निकाल्न आउनुभएको छ ।’ नेपाल बैंककै एक कर्मचारीले अर्थ सरोकारसँग भने,-‘घोटाला कनेक्ट आईपीएसबाट भएको हो । तर सो सेवा नै नलिने ग्राहकहरु पनि आत्तिनुभएको छ । कतिपयले त ‘यो केनेक्ट आईपीएस सुरक्षित रहेनछ, यो सेवा क्यान्सिल गरिदिनू’ भनेरसमेत बैंक आईपुग्नुभएको छ । हामीले कति ग्राहकहरुलाई त सम्झाईबुझाई पनि गरेका छौँ ।’
ती कर्मचारीका अनुसार पछिल्लो समय सहकारी जनताको पैसा लिएर भागेको खबर सार्वजनिक हुनु र नेपाल बैंकको केस बाहिरिनुलाई ग्राहकहरुले जोडेर हेर्ने गरेका छन् । ‘खासमा बैंकको हकमा त्यस्तो हुँदैन । ग्राहकको पैसा बैंकले कुनै हालतमा तिर्छ । राष्ट्र बैंकले नियमन गर्ने संस्था भएकाले ग्राहकको रकम तलमाथि हुने कुरा हुँदैन । बैंकलाई घाटा होला तर जनताको निक्षेप सुरक्षित रहन्छ । तर यो कुरा नबुझ्ने ग्राहकहरु पैसा हरायो कि भनेर बैंकसम्म आइपुग्नुभएको छ।’
पछिल्लो अपडेटबारे के भन्छ प्रहरी र बैंक ?
न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । न्यौपाने रकम हिनामिना गरी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा नेपाल बैंकले जाहेरी दिएको र घटनाबारे थप अनुसन्धान भईरहेकोले यस विषयमा विस्तृतमा बताउन सक्ने स्थिति नरहेको बर्दिया प्रहरीका प्रमुख बिरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।
‘बैंकका तर्फबाट अधिकृत रुपेशकुमार श्रीवास्तवले न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका छन् भने न्यौपानेको खोजीका लागि परिवारले समेत निवेदन दिएको छ । सुरुमा त सम्पर्कविहीन भएकाले हामीले उनको खोजी गरिरहेका छौं । हाम्रो पहिलो प्रयास भनेकै उनलाई भेट्टाउने हो । बैंकले आफ्नो हिसाबले छानविन गरी हामीलाई त्यस विषयमा जानकारी दिईरहेको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै शाहीले भने ।
यता बैंकले भने आफ्नो इन्सपेक्सन टोलीले विस्तृत विवरण ल्याएपछि घटनाको बारे थप थाहा हुने बताएको छ । बैंकका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले न्यौपानेले के कति रकम घोटाला गरेका रहेछन् भन्ने तथ्य आफ्नो टोलीको प्रतिवेदन ल्याएपछि विस्तृतमा थाहा हुने बताएका छन् ।
को हुन् न्यौपाने ?
केहि समय अगाडी सुर्खेतबाट नेपाल बैंकको सेवा सुरु गरेका न्यौपाने कालिकोट तिलगुफा नगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।
हाल जागिरको सिलसिलामा बाँके जानकी गाउँपालिका-३, कोरिएनपुर बस्दै आएका उनी भर्खर ३२ बर्षका भए । प्राविधिक ज्ञानमा दखल राख्ने गरेका न्यौपाने आफ्ना बैंकर साथीहरुसँग पनि प्राय: कुन बैंकमा कसरी रकम घोटाला भएको छ भन्ने विषयमा गफ गर्ने गरेको उनी निकटहरु बताउँछन् ।
स्मरण रहोस्, नेपाल बैंकका मेनेजर ग्राहकको रकम लिएर भागेको खबर अर्थ सरोकारले ब्रेक गरेको थियो।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: