×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर सचेतनाका लागि ठाउँ-ठाउँ कन्सर्ट गर्दै नेप्से, सेयर बजारसम्बन्धि थप गीत र टेलिफिल्म पनि बन्ने !

काठमाडौँ । सेयर सचेतनाका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विभिन्न कार्यक्रमहरु अगाडी सार्ने भएको छ । जसअनुसार सेयर बजार सम्बन्धि सचेतनाका लागि सेयर बजार सम्बन्धि थप गीतहरु बजारमा ल्याउने, ठाउँ-ठाउँमा कन्सर्ट गर्ने, टेलिफिल्म बनाउनेजस्ता योजना नेप्सेले अगाडी सारेको छ । यसका लागि नेप्सेले आवश्यक गृहकार्य गरिरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले अर्थ सरोकारलाई जानकारी दिए । सेयर बजारसम्बन्धि सचेतना आम जनतामा निकै कम भएको तथ्य बुझेर नेप्सेले सचेतनाका विभिन्न कार्यक्रम गरिरहेको र थप काम गर्न लागेको उनको भनाई छ ।

उनका अनुसार नेप्सेको यहि कार्यक्रमअन्तर्गत नेप्सेले केहि समय अगाडी ‘सेयर मार्केटमा गरौँ है लगानी’ बोलको छोटो गीत नामको विज्ञापन बजारमा ल्याएको थियो । प्रस्तुती, ‘भिडियो मेकिङ’, कलाकार छनोट र निर्देशन एकदम कमजोर भएको विश्लेषण गरिए पनि नेप्सेले सुरुवात गरेको यस्तो भिडियो प्रस्तुतीलाई धेरैले ‘सकारात्मक’ भनेका थिए । सबैतिरबाट सो भिडियो सामाग्री अझ राम्रो हुन सक्थ्यो तर सुरुवात निकै राम्रो भयो भन्ने प्रतिक्रिया पाएपछि नेप्से यस्ता काममा थप हौसिएको हो ।
‘म नेप्सेमा आउने बित्तिकै मैले ख्याल गरेको कुरा थियो, सेयर सचेतनाको अभाव । यहि कुरालाई ख्याल गर्दै हामीले सेयर बजारमा बुझेर लगानी गरौँ भन्ने सन्देश दिने एउटा भिडियो सामाग्री पनि ल्याएका थियौँ । धेरैले सुरुवात राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । भिडियो सामाग्री सोचेजस्तो राम्रो नभए पनि सुरुवात राम्रो भएको प्रतिक्रिया आएपछि हामी यस्ता भिडियो सामाग्रीहरु थप ल्याउने र तीनका गुणस्तरमा पनि विशेष ध्यान दिनेगरी कामको तयारी गरिरहेका छौँ ।’ नेपसेका सीइओ कार्कीले अर्थ सरोकारसँग भने -‘सेयर बजारको सचेतनाका लागि थप के के काम गर्न सकिन्छ भन्ने विषयमा पनि हाम्रो टिमले अध्ययन गरिरहेको छ।’
टेलिफिल्म पनि बन्ने, ठाउँ-ठाउँमा कन्सर्ट गर्ने योजनामा नेप्से 
यता नेप्सेले सेयर बजारसम्बन्धि सचेतनाका लागि केहि हास्य कलाकारहरुलाई सहभागी गराएर टेलिफिल्म बनाउने तयारीसमेत गरेको छ । ‘हामी बजारमा चलेका केहि हास्य कलाकारहरुलाई सहभागी गराएर सेयर बजारसम्बन्धि टेलिफिल्म बनाउने योजनामा छौं । त्यसका लागि थप अध्ययनको काम भईरहेको छ । छिट्टै सेयर बजारमा बुझेर लगानी गर्नुपर्छ भन्ने आशयको रमाइलो टेलिफिल्म बजारमा आउनेछ।’ सीइओ कार्कीले भने- ‘यसका लागि आवश्यक अध्ययन र गृहकार्य भईरहेको छ ।’ उनका अनुसार नेप्सेले सेयर सचेतनाका लागि ठाउँ-ठाउँमा कन्सर्ट गर्ने योजनासमेत बनाएको छ । ‘युवा पुस्ताहरुलाई कन्सर्ट मनपर्छ । त्यसैले नेप्से आफैंले कन्सर्ट गरेर सेयर बजारसम्बन्धि सचेतना कार्यक्रम गर्ने वा आयोजना भएका अन्य कन्सर्टहरुमा नेप्से सहभागी हुने भन्ने विषयमा हाम्रो टिमले अध्ययन गरिरहेको छ । हामी यस विषयमा पनि छिट्टै निर्णयमा पुग्छौँ ।’ उनले भने ।
‘सुरुवात राम्रो भयो तर प्रक्रिया पारदर्शी भएन, आउटपुट गतिलो आएन’    
यता नेप्सेले सेयर सचेतनाका लागि राम्रो काम गरे पनि यसको प्रक्रिया पारदर्शी नभएको आरोप भने लागेको छ । नेप्सेले खुला प्रतिष्पर्धाबाट यस्ता सामाग्री निर्माणको काम गर्नुपर्ने भए पनि निश्चित रकमको कोटेसन बनाएर आफु निकट मान्छेलाई यस्ता सामाग्री बनाउन दिएको भन्दै नेप्सेकै कर्मचारीहरु असन्तुष्ट बनेका छन् ।
‘सेयर बजारमा लगानी गरौँ शीर्षकको भिडियो सामाग्री बजारमा आयो । यो आफैंमा निकै राम्रो कुरा हो । तर भिडियोमा छनोट भएका कलाकारहरु ठिक भएनन्, निर्देशन खासै गतिलो भएन भन्ने कुरा उठेको छ भने लो बजेटमा सकिने कामलाई बढी खर्च पनि भएको छ । यसतर्फ मिडियाले खबरदारी गर्नुपर्छ।’ नेप्सेकै एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने -‘यतिको भिडियो त २५-३० हजारमा मज्जाले बन्छ भन्नेहरु पनि भेटिए । न चलेका कलाकार प्रयोग भएका छन्, न चलेका गायक गायीकाले गीत गाएका छन्, यस्तो भिडियो त २५-३० हजारमै बन्छ, हामी बनाउन सक्छौँ भनेर केहि साथीहरु आउनुभएको छ । तर नेप्सेले सुटुक्क कुनै पार्टिलाई महँगोमा सो काम दियो । कानुनी रुपमा ठिक देखिएपनि नियतमा समस्या हो कि भन्ने देखिएको छ ।’ ती कर्मचारीले भने।
यता नेप्सेका सीइओ कार्कीले पनि आउटपुटका विषयमा सन्तुष्ट हुनेगरी प्रतिक्रिया नआएको स्वीकारेका छन् । ‘प्रस्तुती अझै राम्रो हुन सक्थ्यो, धेरै कुरा मिलेन भन्ने प्रतिक्रिया थुप्रै ठाउँबाट आएको सत्य हो । पहिलो प्रयास भएकाले धेरैले ठिक छ भन्नुभएको छ । थप राम्रो काम गर्नेगरी हामी तयारी गरिरहेका छौँ । काम धेरै गर्न बाँकी छन् । अरु आउने काममा हामी धेरै कुरा सुधार्नेछौँ।’ नेप्सेका सीइओ कार्कीले अर्थ सरोकारसँग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: