केहि समय यता आईपीओ भर्नेको संख्या घटेको छ । एक त बुल बजारमा जस्तो अहिलेको बजारमा ‘चार्म’ नहुनु स्वाभाविक पनि हो, अर्कोतर्फ भर्यो-भर्यो, पर्दैन अनि किन भर्नु, बेकार आश्वा शुल्क मात्र स्वाहा भन्ने मनोविज्ञान हाबी हुँदा आईपीओ भर्नेको संख्या घटेको थियो । हुन पनि आश्वा शुल्कका नाममा बैंकहरुले लुट नै मच्चाएका थिए । राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, एनआईसी एशिया बैंकले मात्र निशुल्क आईपीओ भर्न पाउने व्यवस्था गरेका थिए । कुमारी बैंकले केहि समय अघि मात्र सीआश्वा शुल्क खारेज गरेको छ । बाँकी बैंकहरुले १० रुपैयाँदेखि २५ रुपैयाँसम्म आश्वा शुल्क उठाउने गरेका थिए । स्ट्यान्डर्ड चार्टड बैंकले त एक पटक आईपीओ भरेको १०० रुपैयाँ लिन्थ्यो । सेयर बजारका लगानीकर्तामाथि यो हदसम्मको लुट थियो कि आईपीओ निष्कासन रकम भन्दा बढी त आश्वा शुल्क नै उठ्ने गर्थ्यो । तर लगानीकर्तामाथिको सो लुटलाई धितोपत्र बोर्डले धेरै हदसम्म कम गर्ने भएको छ । अर्थात अव एक पटक आईपीओ भर्दा बैंकहरुले बढीमा ५ रुपैयाँ शुल्क मात्र लिन पाउने भएका छन् । यो नियम ७ भदौ, २०७९ बाट लागु हुनेछ ।
गरे के नहुने रहेछ र ? कुनै बेला आश्वा शुल्क घटाउनुपर्यो भनेर लगानीकर्ताहरुले माग राख्दा धितोपत्र बोर्डको तत्कालीन नेतृव यसो गर्न बैंकले मान्दैन भनेर पन्छिन्थ्यो । सीआश्वा शुल्कका नाममा सेयर बजारमा लुट मच्चिरहँदा बोर्डका हाकिमहरु भुँडी पल्टाएर हिड्ने गर्थे, कानमा तेल हालेर बस्ने गर्थ्य । लगानीकर्तालाई चुसेर, सूचीकृत कम्पनीका मनपरी छोपेर खान पल्किएकाहरुले धितोपत्र बोर्डमा लगानीकर्ताका पक्षमा सिन्का भाँच्दैनथिए ।जहाँ-जहाँ पैसा आउँछ, त्यहि मात्र गर्थ्य । तर सेयर बजारलाई बलियो बनाउने प्रतिबद्धता गरेर बोर्डमा आएका नयाँ अध्यक्ष रमेश हमालले कुलमान शैलीमा काम गर्न थालेका छन् ।
लगानीकर्ताका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका हमाल निरन्तर लगानीकर्ताकै पक्षमा छन् । धितोपत्र बोर्डमा आएपछि नै रमेश हमालले कमालको काम गरेका छन् । उनको काम देखेर सेयर बजारका माफियाहरुलाई गतिलो निन्द्रा लाग्दैन आजकल । बुझ्न गाह्रो छैन, सीआश्वा शुल्क यसरी घटाउने निर्णय गर्दा उनलाई पक्कै प्रेसर थियो, तर उनले गरेरै छाडे । र त अहिले लगानीकर्ता भनिरहेका छन्, साधुवाद हमालज्यू ।
रमेश हमालले सीआश्वा शुल्क घटाएर लगानीकर्ताका पक्षमा काम गरेका छन् । यतिमात्र होइन, उनी धेरै अन्य यस्तै लगानीकर्तामैत्री काम गर्न लागि परेका छन् ।ब्रोकरको कोटा प्रणाली खारेज गरेर ब्रोकरको लाइसेन्स बैंकहरुले पनि पाउने गरी ब्रोकर लाइसेन्स सम्बन्धि मस्यौदा संसोधनका लागि बोर्डको संचालक समितिबाट पास गरेर क्याबिनेट पठाउने क्रान्तिकारी निर्णय गरेका छन् उनले । हमालको कामबाट आत्तिएका केहि माफियाहरुको चलखेलका कारण अहिले सो मस्यौदा क्याबिनेटले पास गरेको छैन । केहि मन्त्रीले अनावश्यक बखेडा झिकेपछि अहिले सो मस्यौदा कानुन समितिमा पठाइएको छ । तर सो मस्यौदा पास गर्नका लागि हमाल अहिले पनि दौडधुपमा छन् । नबुझेकालाई बुझाईरहेका छन्, बुझ पचाउनेहरुलाई त के नै गर्न सकिन्छ र ।
आशा गरौं, यो मस्यौदा क्याबिनेटले छिट्टै पास गर्नेछ । हमालले जे गर्नुपर्ने हो, त्यो गरिसके । अव क्याबिनेटमै कसैले चलखेल गर्छ भने त्यसमा उनको केहि लाग्ने कुरै भएन । तर जसरी पनि बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिन मिल्नेगरी बनाइएको मस्यौदा पास गर्न हमाल लागि परेका छन् ।
हमालकै पहलमा बर्षौंदेखि मर्जर तथा प्राप्तिका समयमा लगानीकर्ताको सम्पत्ति बन्धक बनाउने कामको अव छिट्टै अन्त्य हुँदैछ । उनकै पहलमा नेपाल राष्ट्र बैंकले यससम्बन्धि आवश्यक व्यवस्था मिलाउने काम बोर्डलाई नै दिएको छ । यो आफैंमा एउटा सफलता हो ।
अव छिट्टै नै लगानीकर्ताको सम्पत्ति महिनौंसम्म बन्धक हुने बाध्यताको अन्त्य हुनेछ । यस्तो व्यवस्था गर्नका लागि काम अगाडी बढीसकेको छ । यसका लागि पनि रमेश हमाललाई सलाम गर्नैपर्छ । रमेश हमाल यतिमा रोकिएका छैनन्, उनले नेप्से र धितोपत्र बोर्डले पाउने कमिसन घटाउन लागेका छन् । त्यसपछि ब्रोकरको कमिसन घटाउने तयारीमा छन् उनी । यसका लागि आवश्यक अध्ययन गरिरहेको छ उनको टिमले । र यो काम छिट्टै सम्पन्न हुने कुरामा कुनै शंका छैन ।
बोर्डका अध्यक्ष पक्कै यतिमा रोकिने छैनन् । उनले सार्वजनिक रुपमै भनेका छन्, बजारमा भएका हरेक विकृतिहरुविरुद्ध काम गर्नेछु । हरेक राम्रा कामलाई सहयोग गर्नेछु । उनले तोकेरै भनेका छन् ‘स्वघोसित मार्केट पण्डितहरुको दोकान गराउनेछु ।’ र उनी त्यसमा लागि परेका पनि छन् । सेयर बजारलाई सवल बनाउन उनी अहोरात्र खटेका छन् ।

हमालको कार्यशैलीले अहिले धितोपत्र बोर्डका केहि खान मात्र पल्केका कर्मचारीहरु पनि त्राहिमाम छन् । यतिसम्मकि कसरी हुन्छ हमाललाई बदनाम गराउन उनीहरु चन्दा संकलन काममा व्यस्त छन् । लामो समयदेखि बोर्डलाई मागी खाने भाँडो बनाएका बोर्डभित्रकै केहि कामचोर कर्मचारीहरुले आफैं फेक आईडी बनाएर आफ्नै अध्यक्षलाई गाली गर्नेजस्तो तल्लो स्तरको कामसमेत गरिरहेका छन् ।
सबैलाई ब्रोकर लाइसेन्स खुलाउने निर्णय हमालले गरेर स्वीकृतिका लागि क्याबिनेट पठाएपछि त हमाललाई कसरी सिध्याउने भनेर पुतलीसडकका रेष्टुरेन्टहरुमा, काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा माफियाका बैठकहरु बसेका छन् । यतिसम्मकि हमालका विरुद्ध लाग्न भनेर पैसाको जोहो गर्न चन्दासमेत उठाएका छन् केहि बजारविरोधी माफियाहरुले । तर हमाल, अविराम, अविरल आफ्नो काम गरिरहेका छन् ।
यसो त हमाललाई पैसाले नपुग्दो केहि छैन, किनकि उनी ठुलो ठुलो व्यापार गरेर राम्रै पैसा कमाएका व्यक्ति हुन् । र त माफियाहरुले दिने केहि बिटा पैसाको लोभले उनलाई छुँदैन । उनी आफैं राजनीतिक पहुँच राम्रो भएका मान्छे हुन् । हरेक कुरा बुझाउन सक्ने क्षमता राख्छन् । बोर्डमा को काम गर्ने मान्छे हो, को कामचोर हो भन्ने बुझेका छन् उनले । यहि बुझेर नै उनले विभिन्न कर्मचारीहरुलाई चेतावनी दिने र आवश्यक परे सरुवा गरिदिने कामसमेत गरेका छन् । समग्रमा भन्दा धितोपत्र बोर्डका हमाल नेपाली फिल्मको हिरो राजेश हमालले फिल्ममा अन्याय र अत्याचार विरुद्ध भिलेनसँग लडेजसरी रमेश हमाल सेयर बजारका माफियाहरुविरुद्ध फिल्डमा लडिरहेका छन् । यसो भन्दै गर्दा हमालज्यूले पनि यो बुझ्नुपर्छ, लगानीकर्ताको अपेक्षा तपाईंप्रति अलि बढी नै छ । तयसैले पनि तपाईंले पनि अलि बढी नै काम गर्नुको विकल्प छैन ।

तपाईंविरुद्ध हरेक दिन एक फुल डबल ब्ल्याक खाएर पुतलीसडकको रेष्टुरेन्ट र बानेश्वरका होटलमा बजार माफियाको बैठक बस्ने गरेको राम्रै थाहा पाउनुभएको छ होला । यसबाट सतर्क र सचेत बन्न जरुरी छ तपाईं । काम गर्नेका विरुद्ध कुनहदसम्मको दुष्प्रचार हुन्छ भन्ने पनि तपाईंले अव बुझिसक्नुभयो होला, यो सेयर बजारलाई सिमित मान्छेले कसरी लुटेर खाने भाँडो बनाएका छन् र तीनका पहुँच कहाँसम्म छ भन्ने पनि तपाईंले बुझिसक्नुभयो होला ।
र त तीनका कुरा नसुनी, लगानीकर्ताका पक्षमा तपाईंले गरिरहनुभएको काम अनुकरणीय छ । तपाईंले काम गर्नुभएको छ, तर गर्नुपर्ने जति काम सकिएको छैन । समय कम छ, गर्नुपर्ने धेरै छ । सकेसम्म छिटो, सकेसम्म छोटो बाटोबाट, सकेसम्मको लगानीकर्ता मैत्री निर्णय गर्न अव तपाईंले ढिलो गर्नु हुँदै हुँदैन । किनकि यसभन्दा अधिका धेरैसंग लगानीकर्ताको अपेक्षा नै थिएन, अहिले त तपाईंसँग अपेक्षा बाहेक केहि छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्