काठमाडौँ । नेपाली पूँजीबजारको वर्तमान अवस्था र ५ बर्षको सम्भावना विषयक अन्तरक्रिया सम्पन्न भएको छ । नेपालका क्रियाशील आर्थिक पत्रकारहरु साझा संगठन नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा नेपाली पूँजी बजारका विभिन्न सरोकारवालाहरुले आफ्नो भनाई राखेका थिए । 

कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको भविश्य राम्रो बनाउनका लागि लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने बताएका छन् । उनले लगानीकर्ताको विश्वास कायम रहे मात्र धितोपत्र बजारको विकास हुने बताउँदै लगानीकर्ताको हित सोच्ने हो भन्दै मात्रै सुरक्षित ठाउँमा पुग्न सकिने धारणासमेत व्यक्त गरेका छन् । धितोपत्र बजारमा समस्या र चुनौति धेरै रहेको उल्लेख गर्दै उनले चुनौतिभित्रनै सम्भावना रहेको बताए । बोर्डमा अध्यक्षको जिम्वेवारी पाएको पाँच महिना पुरा भएको अवस्थामा बजारका सम्बन्धमा यस अघि भएका कमिकमजोरीलाई औल्याउँदै समाधानको बाटो पहिल्याउन अग्रसर रहेको हमालको भनाई छ ।

बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्रका कम्पनीहरूलाई मित्र्याउनुपर्ने अहिलेको आवश्यकतालाई औल्याउँदै उनले बुक बिल्डिङ विधिलाई प्रभावकारी रुपमा अघि बढाउँन सरोकारवाला सबैले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । बजारको अहिलेको आवश्यकतालाई ध्यानमा राखी क्यापिटल मार्केट इन्टिच्युट यहि वर्ष स्थापना गर्ने लक्ष्य समेत हमालले लिएका छन् । एसएमइ प्लेटफर्म आगामी दुई महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य पनि हमालको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले धितोपत्र बजारमा सबैको भन्दा बजारको जोखिमलाई बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताएका छन् । पछिल्लो समय बजारमा लगानीकर्ताको सहभागीता उत्साहजनक देखिन्छ । यो बजारको लागि राम्रो हो । तर, सबै क्षेत्र सबै मानिसका लागि उपयुक्त नहुन सक्छ । यसर्थ कम्पनी विश्लेषण गर्ने र बजारको जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त हुने तर्क उनले गरे ।

मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालका अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकासका लागि नयाँ नीतिहरू ल्याउनुको सट्टा पुरानै बजारका लागि आवश्यक नीति कार्यन्यनका लागि सम्बन्धीत सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र स्टक ब्रोकर एशोसिएशन अफ नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत भएको थियो । नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवहाक उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तर्फबाट प्रबन्धक निरञ्जन फुयाल र स्टक ब्रोकर एशोसिएशनको तर्फबाट अध्यक्ष सन्तोष मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको पूँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउँनुपर्ने बताए । ब्रोकरको संचरनाका लागि चुक्तापूँजी भन्दा पनि नेटवर्थको धारणा हुनुपर्नेमा जोड दिए । उनले अहिले भईरहेको कारोबार मध्ये ७० प्रतिशत उधारो कारोबार हुने र सेटलमेन्टमा ५ रूपैयाँ ब्रोकरबाट उपलब्ध नहुँदा सेटलमेन्ट नभई ब्रोकर कारवाहिमा पर्ने उनले बताए । उधारो कारोबार गर्ने लगानीकर्ताको शेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणा समेत उनले राखे ।

सबैको नजर ब्रोकर कमिशनमा हुने तर व्यवसाय गर्ने नेप्से भन्दा बढी कमिशन नियामक धितोपत्र बोर्डको रहेकोमा कसैको ध्यान नगएको प्रति चिन्ता व्यक्त गरे । दक्षिण एशियामा नेपालको ब्रोकर कमिसन तुलनात्मक रूपमा कम रहेको समेत उनले बताए । त्यस्तै नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले धितोपत्र बजारमामा ८० प्रतिशत फाईनान्सियल सेक्टरको सहभागीता रहेको भन्दै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढाउनुपर्ने बताए । सरकारी लगानीको संस्था हुँदा नेप्सेलाई पफर्मेन्स देखाउन गाह्रो छ । एउटा प्रविधि ढल्यो भने त्यसलाई खरिद गर्ने खरिद नियमावली अनुसार ९ महिना लाग्ने उनले बताए । बजारको आवश्यकता अनुसार अर्को स्टक एक्सचेञ्ज भित्रिनुपर्नेमा समेत उनले जोड दिए ।

नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बजारमा सबै विज्ञ हुनुभन्दा पनि बजारप्रतिको जोखिम र प्रतिफल सम्बन्धी धारणा बनाउनुपर्ने बताए । नियामक निकाय बोर्डलाई जवाफदेहि सहितको स्वायतता हुनुपर्ने धारणा पनि उनले राखे । बजार विकासका लागि नेप्सेकोे कारोबार प्रणाली थप प्रविधियुक्त हुनुपर्ने र क्षमता बढाउनुपर्नेमा समेत उनले जोड दिए ।




