×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार साहित्य : ‘तिमी सेयरबारे केहि बुझ्दैनौ, म सेयर बाहेक केहि बुझ्दिन…’ (भिडियो कविता)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

सेयर बजार साहित्य : ‘तिमी सेयरबारे केहि बुझ्दैनौ, म सेयर बाहेक केहि बुझ्दिन…’ (भिडियो कविता)

तिमी आहा ! रातो भन्छौ,
मलाई रातो देखेसी सातो जान्छ
तिमी हरियोका नाममा सारी मात्र मन पराउँछौ,
मलाई महँगो सारीबाहेक सबै हरियो मनपर्छ
अनि कसरी मिलोस् तिम्रो-मेरो जोडी,
तिमी सेयर बजारबारे केहि बुझ्दैनौ,
म सेयर बजार बाहेक अरु केहि बुझ्दिन।

तिमी भन्छौ तिमीलाई प्याजले रुवाउँछ,
म भन्छु मलाई ब्याजले रुवाउँछ।
तिमी सोच्छौ, सधैं बिजी कुनचाहिंसँग यो सल्केको हो कि !
म सोच्छु केवल कतै बजार बियरिस तिर ढल्केको हो कि !!
तिमी रातमा एक्लै हुँदा तर्सिन्छौ,
म रातो बजारमा एक्लै हुँदा तर्सिन्छु।
तिमी शनिबारको डेटिङबारे सोच्छौ,
म कम्पनीको इक्रा रेटिङबारे सोच्छु।
तिमी मायाको बारीमा नाचेको सपना देख्छौ,
म साँढेले भालुको ढाड भाँचेको सपना देख्छु।
अनि कसरी मिलोस् तिम्रो-मेरो जोडी,
तिमी सेयर बजारबारे केहि बुझ्दैनौ,
म सेयर बजार बाहेक अरु केहि बुझ्दिन।।

तिमीलाई शनिबार कामको बिदा फ्रेश हुन कर छ,
मलाई आइतबार फेरी बजार घट्ने हो कि भन्ने डर छ ।।
तिमी ३ बजे पछि खाजा खाएर फ्रेश हुन्छौ,
म ३ बजेपछि बजार घटेर डिप्रेस हुन्छु
तिमी ३ बजे थकाई लाग्यो भनेर कराउँछौ,
म ३ बजे पछि सर्किट लाग्यो भनेर कराउँछु
अनि कसरी मिलोस् हाम्रो जोडी,
तिमी सेयर बजारबारे केहि बुझ्दैनौ,
म सेयर बजार बाहेक अरु केहि बुझ्दिन ।।

तिमी हाइड्रोमा बिकास देख्छौ, म नाफा देख्छु
तिमी सिमेन्टमा धुलो देख्छौ, म चलखेल देख्छु
तिमी होटलमा रमाइलो देख्छौ, म रमाइलो छोडेर लगानी देख्छु
तिमी फाइनान्समा ऋण देख्छौ, म टोपी लगाको दिन देख्छु
तिमी बैंकमा जागिर देख्छौ, म बढेको नाफा र घटेको भाउ देख्छु
तिमी बीमामा आशा देख्छौ, म नेपाल लाइफ सम्झेर बजारको घाउ देख्छु
तिमी लभकोमात्र अंश देख्छौ, म लाभको मात्र अंश देख्छु
तिमी मदिरामा नशा देख्छौ, म एचडिएलको घाटा सम्झेर मदिरामा दशा देख्छु
तिमीलाई सिरियलमा कुमकुम मन पर्छ, मलाई बजारमा बुमबम मन पर्छ
तिमीलाई पैसा बचाएर सुन लाउन मन छ, मलाई सुन सक्काएर पैसा लाउन मन छ
अनि कसरी मिलोस् तिम्रो-मेरो जोडी,
तिमी सेयर बजारबारे केहि बुझ्दैनौ,
म सेयर बजार बाहेक अरु केहि बुझ्दिन ।।

न थिति मिल्छ, न तिथि मिल्छ,
न प्रित मिल्छ, न गीत मिल्छ,
तिमी उडायो सपना सबै हुरीले गीत बज्दा मुरलीधर सम्झन्छौ,
म गोर्खाज फाइनान्समा लगानी गर्दा बेचेको घर सम्झन्छु
ओराली लागेको हरिणको चाल भो गीत बज्दा

तिमी राम कृष्ण ढकाल सम्झन्छौ
म त्यहि गीत बज्दा ३२०० को त्यो
बजारको बुमबुमे माहोल सम्झिन्छु
तिमी सिन्दुरको धर्को खोज्छौ,
म सिन्धु विकास बैंकको धर्को खोज्दैछु
एलआईसीएन घाटामा, एभरेष्ट बैंक घाटामा
म नाफा हुने कम्पनी अर्को खोज्दैछु
अनि कसरी मिलोस् तिम्रो-मेरो जोडी,
तिमी सेयर बजारबारे केहि बुझ्दैनौ
म सेयर बजार बाहेक अरु केहि बुझ्दिनर पनि केहि छैन आउ एउटा बाचा गरौँ
संगै जिउने कसम खाउँ, सुन्दर भविष्यको आसा गरौँ

अर्थको अर्थ खोजेर बिना अर्थले बिहे गरौँ,
सोमबारको बर्तले होइन

निम्नानुसारको सर्तले बिहे गरौँ

आइतबारदेखि बिहिबारको दिन
विहान ११ देखि दिउँसोको तीन
तीतो कफी र मिठो मुस्कान हरेक छिन
बजार घटे केहि नबोलौं, बढे हल्ला गरौँ
मन्जुर छ ? छ भने आउ सल्लाह गरौँ

म रिसाको दिन तिमी रातो लाउने छैनौं
सुन किन्देन भनेर गुनासो पोख्दै माइती धाउने छैनौं
म रोमान्टिक भएको दिन बजार बढेछ सम्झनू
म रुममा सेण्टी भएको दिन केहि नासोध्नू, केहि नसम्झनू
म सक्केछु पैसाले कहिले भने तिमीले तिमी भित्रको अर्को जिउ हेर्नेछौ
भैगो डिभोर्स दिन्छु भन्ने लागे सुबास भट्टराईको इन्टरभ्यु हेर्नेछौ

म रित्तिएको दिन, पनि तिमी न्यानो मेरो काख हेर्नेछौ
आजको हजार भोलि पक्कै हुन्छ लाख हेर्नेछौ ।
लाखलाई करोड बनाएर तिमीलाई पक्कै विदेश घुमाउनेछु,
तर नआत्तिनु कहिले कमाउनेछु कहिलेकाहीं नचाहेर पनि गुमाउनेछु ।

यति कविता लेख्दै थिएँ,

उनको आशाको मुस्कान देख्दै थिएँ
आमाले खान बोलाउनुभो,
दाजु मोबाइल हेरेर टोलाउनुभो
बल्लपो झसङ्ग भए, ११ बजिसकेछ,

बजार ३ अंकले घटिसकेछ

आजलाई यति लेखें, भोलि फेरी आउनेछु
तर कस्सम कम्पनी राम्रा छन् एक दिन जरुर कमाउनेछु ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: