×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाचार प्रभावः कार्यालय समयमा जथाभावी टिकटक नबनाउन आधा दर्जन बैंकको आन्तरिक सर्कुलर, अटेर गरे कारवाही !

काठमाडौं । बैंकभित्र ग्राहकको गोपनियतामाथि खलल पुग्ने वा बैंकको ब्राण्डमाथि धक्का लाग्नेगरी जथाभावी टिकटक नबनाउन विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आन्तरिक सर्कुलर जारी गरेका छन् । बुधबार अर्थ सरोकारले विभिन्न बैंकहरुमा बैंकरहरुले बैंकका ग्राहकको गोपनियता र बैंककै ब्राण्डमा खलल पुग्नेगरी टिकटक बनाईरहेको खबर प्रकाशन गरेपछि विभिन्न बैंकहरुले सर्कुलर नै जारी गरेर यस्तो काम अव आइन्दा नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो ।

‘हामीले यो विषयलाई नोटिसमै लिएका थिएनौँ । अर्थ सरोकारको समाचारपछि यो विषय सोचेभन्दा पनि गम्भीर रहेछ भन्ने तथ्यबारे बैंकमै पनि सल्लाह भयो । त्यसैले सम्पूर्ण कर्मचारीका नाममा त्यस्ता टिकटक कार्यालय समयमा नबनाउन निर्देशन दिएका छौँ ।’ एक बैंकका डेपुटी सीइओले अर्थ सरोकारसँग भने, ‘अव पनि कोहि कर्मचारीले बैंकभित्र त्यस्तो टिकटक बनाएमा कर्मचारी सजायको भागिदार हुनुपर्छ भनी चेतावनीसहितको सर्कुलर जारी गरिसकेका छौँ ।’ उनका अनुसार उनी कार्यरत बैंकसहित अन्य ५ बैंकहरुले पनि यस्तो सर्कुलर जारी गरेका छन् ।

यता केहि बैंकहरुले भने अर्थ सरोकारको समाचार प्रकाशनपछि सम्बन्धित स्टाफहरुलाई मौखिक स्पष्टीकरण सोधिएको छ । केहि बैंकहरुले तत्काल त्यस्ता टिकटक भिडियोहरु हटाउन निर्देशनसमेत दिएको छ भने कतिपय बैंकहरुले एक पटकलाई छोडिएको र अव आइन्दा त्यस्तो नगर्न चेतावनी दिएका छन् ।

‘बैंकको कार्ड भिरेर बैंकमा मात्र होइन, बैंक बाहिर पनि टिकटक बनाउन पाईदैन ।’ अर्का एक बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने- ‘म टिकटकमा छैन, त्यसैले मलाई धेरै कुरा थाहा भएन । तर अर्थ सरोकारको समाचारपछि टिकटकमा कति धेरै बैंकरका त्यस्ता भिडियोहरु रहेछन् भन्ने थाहा भयो । कुनै पनि बैंकरले बैंकभित्र अझ टेलरजस्तो संवेदनशील ठाउँमा त टिकटक बनाउने त परकै कुरा हो, सामाजिक संजाल चलाउनसमेत पाईदैन ।

अर्थ सरोकारले बुधबार ‘बैंकभित्र ‘टिकटक–क्रेज’को प्रभावः टिकटकमा ध्यान बढ्दा भदौको चेक साउनमै साटियो, ग्राहकको गोपनियतामाथि ‘मजाक’ शिर्षकको समाचार प्रकाशन गरेपछि बैंकहरुले आफ्ना कर्मचारीहरुलाई यस विषयमा सचेत गराएको ती सीइओले जनाएका छन् ।

यसो त समाचार सार्वजनिक भएको २४ घण्टा नबित्दै टिकटकबाट बैंकरहरुको दर्जन बढी ‘टिकटक भिडियो’ डिलिटसमेत भएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: