×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

…र त्यसपछि फैलियो बच्चा चोरीको ‘अफवाह’ !

काठमाडौँ । अहिले सामाजिक संजालमा एउटा विषय खुब चर्चाको विषय बनेको छ । तपाईँले पनि सामाजिक सञ्जालमा ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियो त देख्नु भएकै होला । एउटा भिडियो सामाजिक संजालमा भाइरल भएपछी यतिबेला सो घटनाले देशनै त्राहिमाम बनाएको छ । विभिन्न स्कुलहरुले सूचना नै जारी गरेर आफ्ना बालबच्चा, केटाकेटीको ख्याल गर्न उर्दी जारी गरेका छन् । अझ सीमावर्ती स्कुलहरुमा अभिभावकहरु त्रासमा छन् । शहरमा बच्चा चोरहरुको बिगबिगी बढेको भन्ने आशयका सूचनाहरु स्कुलहरुले नै सार्वजनिक रुपमै निकाल्न थालेपछि अभिभावकहरु थप त्रासमा हुने नै भए । तर यहि बीचमा प्रहरीले भने त्यस्ता घटनाको जानकारी आफुसँग नभएको र यसमा बाहिर फैलिएको आतंकजस्तो स्थिति नभएको दाबी गर्दै आएको छ ।
कसरी फैलियो यस्तो अफवाह ?
खासमा यो हल्लाको पछाडीको कारक एउटा भिडियो हो, जुन सामाजिक संजाल फेसबुक र टिकटकमा भाईरल बनेको छ ।  भिडियोमा अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको देखाइएको छ ।  भिडियोमा देखाइएकि आमा भारतको र बच्चा बुटवलको भनिएको छ । ममी ड्याडी घरै भएको र चाउमिन खुवाउने भनी फकाई फुलाई भगाएको दावी गर्दै सो भिडियोमा आह्वान गरिएको छ- ‘यस्ता चोर तपाईं हाम्रो घर आँगनमा पनि आउन सक्छन, सचेत हौँ।’
खासमा त्यो भाइरल पोस्टमा देखिएकी बालिका त्यही महिलाकै छोरी रहेको प्रहरीले पुष्टि गरिसकेको छ । तर तथ्य नबुझी सो भिडियो दुनियाँले पोष्ट गरे, टिकटकमा राखे । जसका कारण समाजमा त्रास फैलियो । र अहिले यहि भिडियोका कारण स्कुले बालबालिकाका अभिभावकहरु त्रासमा छन् । स्कुल संचालकहरु स्वयम् पनि तनावमा छन् । भारतका विभिन्न शहरहरुमा फैलिएको बच्चा चोरीको हल्ला नेपालसम्म आइपुग्दा यसले एकातर्फ त्रास फैलाएको छ भने अर्कोतर्फ गर्दै नगरेको गल्तीको सजाय एक महिलाले पाएकी छिन् ।
रातारात भाईरल भएर धेरैको नीद हराम गरेको सो भिडियोमा एक महिला सडकमा अनुहार झुकाएर बसिरहेकी देखिन्छिन् । उनीसँगै भएकी बालिकालाई महिला प्रहरीले बोकेर विभिन्न प्रश्न सोधिरहेकी छिन् ।  सोहि क्रममा एक पुरुषले बालिकालाई तिम्रो मामु हो भनेर सोध्छन् । भिडमा आवाज सुनिन्छ, ‘हैन होला भए नि हो भन्ला।’
हल्लैहल्लामा सो भिडियो यसरी भाइरल भयो कि, अहिले काठमाडौँकै चलेका विद्यालयहरुले पनि यहि हल्लाका भरमा विज्ञप्ति जारी गरिरहेका छन् र त्रास फैलाईरहेका छन् ।
के भन्छ प्रहरी ?
प्रहरीका अनुसार सो भिडियो रुपन्देहीको तिलोत्तमा मंगलापुरको हो। मंगलापुर प्रहरी चौकीका सई लक्ष्मण डाँगीका अनुसार भिडियो र फोटोमा देखिएकी अधवैँशे महिला पाल्पा तानसेन ७ लामिडाँडा बस्ने ज्योति रञ्जन हुन् । त्यसमा देखिएकी ५ वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि कागज गरेर जिम्मा उनको जिम्मा लगाईसकिएको छ । प्रहरीका अनुसार भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न आउंदैन थियो । भाषा बोल्न नजानेकैले उनले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएपछि यो केस घटेको रहेछ । प्रहरीले अनुसन्धान गर्दै जाँदा सो बालिका उनकै हो भन्ने थाहा पाएपछि उनका आफन्तको रोहबरमा कागज गराएर पठाइएको रहेछ ।
प्रहरीले ज्योति र उनकी छोरीलाई नवलपरासी पश्चिम सुनवल नगरपालिका १ बस्ने उनकी नन्द सुनिता थापाको जिम्मा लगाएर अप्थाएको हो । सुनिता  आफ्नी भाउजु ज्योति र भतिजी दिप्ती आफूसँगै रहेको र पाल्पाबाट लिन आएपछि पाल्पा नै पठाउने बताउँछिन् । तर नेपाली बोल्न नआउने एउटी सोझी महिलालाई बच्चा चोर करार गरेर एउटा भीडले सामाजिक संजालको दुरुपयोग गर्यो । टिकटकमा नबुझी त्यस्ता भिडियोहरु अपलोड गर्यो, फेसबुकमा भाइरल बनायो ।  नेपाली बोल्न नजान्ने एउटी महिलाको मानहानी भयो । अहिले ती महिलाका आफन्तहरुले प्रहरीलाई ती भिडियोहरु हटाउन लगाउन आग्रह गरेको छ ।
साइबर ब्युरोको यस्तो चेतावनी !
यसैबीच साइबर ब्युरोले पनि यस्ता अफवाह नफ़ैलाउन चेतावनी दिंदै विज्ञप्ति जारी गरेको छ । सोमबार राति नेपाल प्रहरीको साइबर ब्युरोले पनि विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको उल्लेख गरेको छ। त्यस्ता प्रचारमा उल्लेख भए झैँ देशभर रहेका कुनै पनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी/सूचना प्राप्त नभएको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि आफ्नो फेसबुकमा सामाजिक सञ्जालमा उल्लेख भए झैँ घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएको भन्दै हल्ला र अफवाहको पछि नलाग्न अनुरोध गरिएको छ । प्रहरीले यसरी भिडियो खिच्नेहरुलाई खोजी समेत गरिरहेको छ ।
एउटाले हुँदै नभएको भिडियो हाल्यो, अनि सारा भीड त्यहि भिडियोको पछाडी दौडियो । सामान्य तथ्य जांचसमेत नगरी स्कुलहरु विज्ञप्तिबाजी गरेर झन् त्रास फैलाए । समग्रमा यो घटनामा धेरै व्यक्ति, स्कुल चुके ।
यसरी समाजमा त्रास फैलाउने अधिकार कसैलाई छैन । नबुझी नजानी अरुलाई चोरीको आरोप लगाउने अधिकार पनि कसैलाई छैन । यसतर्फ तपाईं हामी सचेत हुन जरुरी छ । सँगै यसो भन्दैमा ह्या केहि होइन रहेछ भनेर लापरवाही गर्नु पनि सहि नहुन सक्छ । तपाईं हाम्रो, हाम्रो बालबच्चाको ख्याल गर्नु तपाईं हाम्रो दायित्व हो । यो घटना केहि होइन रहेछ भनेर तपाईंले गर्ने लापरवाहीले अर्को घटना घटाउन सक्दैन भन्ने स्थितिचाहिं नहुन सक्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: