×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन शाहबारे यी १२ तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ (भिडियो ब्लग)

PRIME CA

बालेन शाहबारे यी १२ तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ (भिडियो ब्लग)

२२ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौं । इतिहासमा नाम जित्नेहरुकै लेखिने हो । र त जनताको मन र मत दुवै जितेका बालेन्द्रको नाम इतिहासमा एक सफल मेयरका रुपमा दर्ज हुनेगरी लेखिदैछ । उनी काम नै यसरी गरिरहेका छन्, कि मानौं उनी जनताको सेवा गर्नकै लागि जन्मिएका हुन् । आज देशभर बालेन क्रेज यसरी बढेको छ कि, आफ्नै सटर भत्काउन आउने बालेनलाई जनताले भनिरहेका छन्, ‘अघि बढ बालेन, जनता तिम्रो साथ मा छन् ।’ नमस्कार अर्थ सरोकार ट्रेन्डिङमा स्वागत छ, म सुदर्शन श्रेष्ठ ।

कुनै राजनीतिक पार्टिको झोला नबोकी, कुनै राजनीतिक दलको झण्डा नओढी, देशको राष्ट्रिय झण्डा बोकेर स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका बालेन शाह मेयरमा निर्वाचित भएसँगै थप लोकपिर्य बनिरहेका छन् । आफ्ना बाबुआमाको उमेर समानका प्रतिष्पर्धीलाई हराएर जनप्रतिनिधि बनेको एउटा ठिटो, ३२ वर्षेको एउटा युवा मेयर, बाघ बनेर गलत गर्नेहरुका विरुद्ध आफैं खटिन थालेपछि शाहले उमेरले आफ्नो बाबु-आमा भन्न सुहाउने प्रतिस्पर्धीलाई पछि पार्दै मेयर पदमा निर्वाचित भएका हुन् । र आज हामी हरेक हरामहरुको निद हराम गर्न सफल बनेका मेयरका बारे खास तथ्य बोलिरहेका छौँ । किनकि जनताका लागि अहोरात्र खटिरहेका मेयर बालेन्द्रका बारेमा तपाईं हामीले जानिराख्दा फाइदा नै होला भन्ने तर्क हो हाम्रो । र त हामी आज प्रस्तुत गर्दैछौँ बालेनका बारेमा खास १२ तथ्य:

तथ्य नम्बर १
बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह हो । आफ्नो म्युजिक करियर अगाडी बढाउँदै गर्दा उनले आफुलाई बालेन नामले चिनाउन सफल भए । पछि मेयरमा उठेपछि पनि उनी बालेन्द्र नामले भन्दा बालेन नामले नै परिचित भए । अहिले काठमाडौँ महानगरपालिकाका मेयर रहेका बालेन अर्थात बालेन्द्र शाह को जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको थियो । उनी हाल, तिनकुने, गैर्हीगाउँका स्थायी बासिन्दा हुन् ।

तथ्य नम्बर २
बालेन्द्र शाहका बुबा आयुर्वेदिक डाक्टर हुन् । डा. राम नारायण शाह र धुव्रा देवी शाहका सन्तानका रुपमा जन्मिएका बालेन्द्रको पुर्खाली थलो भने मधेश प्रदेशमा रहेको महोत्तरी जिल्ला हो । र त काठमाडौँको मेयर भएपनि महोत्तरी जिल्लामा बालेनको क्रेज झन् गज्जबको छ ।

तथ्य नम्बर ३
बालेन्द्र शाहले एसएलसीसम्म काठमाडौं नरदेवीमा रहेको जल्जला स्कूलमा अध्ययन गरेका हुन् । स्कूलपछिको उच्च माध्यमिक तहको पढाई भने उनले काठमाडौं तीनकुनेमा रहेको भिएस निकेतनबाट गरेका हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनले धेरै समाजसेवाका कामसमेत गरेका छन्।

तथ्य नम्बर ४
२०७२ मा नेपालमा महाभूकम्प गएपछि उनी देशका विभिन्न स्थानमा गएर पुनर्निर्माणको काममासमेत संलग्न भए । उनले आफ्नै नाममा बालेन कन्सल्टिङ र कन्स्टक्सन प्रालि नामक कम्पनीसमेत दर्ता गरेका छन् । र यहि कम्पनीमार्फत उनले विभिन्न कामसमेत गरेका छन् । भूकम्प र कोभिड महामारिका बेला थुप्रै काम गरे पनि कामको नेतृत्व आफैंले नलिई आफ्नो योजना सफल नहुने महसुस गरेपछि उनले काठमाडौँको मेयरमा उम्मेद्वारी दिएका थिए ।

तथ्य नम्बर ५
धेरैलाई थाहा छ बालेन शाह शाह र्‍याप ब्याटल गायक हुन् । नेपाली र्‍याप ब्याटल दोस्रो लिगका विजेता बालेन लामो समयदेखि संगीतको यो विधामा संलग्न रहँदै आएका छन् । अहिले मेयरका रुपमा उनी जति परिचित छन्, यति नै रुपमा नभए पनि उनी र्याप विधामा कम्ती चर्चाका पात्र भने पक्कै होइनन् । र्याप गायकका रुपमा उनका देशविदेशमासमेत थुप्रै फ्यान छन् । सानैदेखि उनको रुचि सङ्गीत र कवितामा थियो। उनले आफ्नो पहिलो गीत ूसडक बालकू सन् २०१२ मा गाएका थिए र यो गीत उनले कक्षा ९ मा हुँदा लेखेका थिए।

तथ्य नम्बर ६
काठमाडौँको मेयर भएपछि उनलाई फोहोर व्यवस्थापनमा निकै कठिनाई भएको थियो । धेरैले उनलाई असफल बनाउन बनावटी समस्याहरु खडासमेत गरिदिएका थिए । तर उनले सबैको मन जितेर नै फोहोरको समस्या समाधान गरिदिए । अर्थात उनी इन्जिनियरमात्र होइनन्, बरु कुशल व्यवस्थापक पनि हुन् । एक असल राजनीतिज्ञमा हुनुपर्ने सबै गुण भएका बालेनको यहि कुशल नेतृत्वकै कारण उनी काठमाडौँको फोहोर व्यवस्थापनको समस्यालाई पनि तत्कालका लागि समाधान गर्न सफल भए । उनी यो समस्याको दीर्घकालीन समाधान गर्नसमेत लागि परेका छन्।

तथ्य नम्बर ७
बालेन शाहले देशको राजनीति ठिक नभएको र यसलाई युवाले परिवर्तन गर्नुपर्छ भनेर २०७४ को स्थानीय तहकै निर्वाचनका समयमा प्रतिष्पर्धा गर्ने सोच बनाएका थिए । उनी त्यतिबेला मात्र २७ बर्षका थिए । तर निर्वाचनमा प्रतिस्पर्धा गर्ने विचार गरे पनि विवेकशील र साझा पार्टीका स्वतन्त्र उम्मेदवारले आशा जगाएका कारण उनी पछि हटेका थिए । शाहले स्थानीय तह निर्वाचन, २०७४मा मतदान गरेनन् र उनले वि।सं। २०७४ वैशाख ३१ गते फेसबुकमा लेखेका थिए ‘मैले आज भोट गरिनँ। म उम्मेदवार थिइनँ। मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेँ, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छुँ। मलाई देश बनाउन आउँछ। म अर्को पटक भोट गर्छु, र आफैँलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन।’ र उनले जे भनेका थिए अहिले त्यहि गरिरहेका छन्।

तथ्य नम्बर ८
बालेन्द्र शाह भक्तपुर नगरपालिकाबाट अत्यन्तै प्रभावित व्यक्ति हुन् । भक्तपुर नगरपालिकामा सुनिल प्रजापति मेयर पदमा विजयी भएपछि उनलाई बधाई दिन समेत बालेन्द्र शाह भक्तपुर पुगेका थिए । उनले मेयर पदमा उम्मेद्वारी दिएपछि चुनाव प्रचारप्रसारका क्रममा पनि भक्तपुर नगरपालिकाको खुब प्रशंसा गर्दै आएका छन्। अहिले भने भक्तपुरकै मेयर उनको प्रशंसा गरिरहेका छन् ।

तथ्य नम्बर ९
बालेन्द्र खानदानी परिवारकै मान्छे हुन् । त्यहि कारण पनि अहिले उनी माफियाको घुस अफरमा अलमलिएका छैनन् । उनको काठमाडौँमै घर छ । २५ बर्षको उमेरमै आफ्नै कमाईले आफ्नै गाडी चढेका बालेनको पुर्ख्यौली सम्पत्ति नै करोडौंको छ । उनी र्याप र इन्जिनियरिङ पेशाबाट पनि निकै राम्रो कमाएका व्यक्ति हुन् । उनका हजुरबुबा स्वयम् आफ्नो गाउँको जमिन्दार थिए ।

तथ्य नम्बर १०
र्याप गायकका रुपमा करियर बनाउँदै गर्दा उनी यमबुद्धका ठुला फ्यान भएका थिए । अहिले पनि उनी यमबुद्धका ठुला फ्यान हुन् । यमबुद्धको नेपाली र्याप संगीतमा ठुलो योगदान भएको भन्दै उनको शालिक बनाउने निर्णयसमेत गरेका थिए बालेन्द्रले । तर महानगरको बजेटमा यामबुद्धको शालिक बनाउन खोजिएको भन्दै विरोध भएपछि उनले आफ्नै पैसाले यमबुद्धको शालिक बनाउने निर्णय गरेका छन् ।

तथ्य नम्बर ११
बालेन्द्र शाहले सेयरमासमेत लगानी गरेका छन् । उनी नयाँ सेयर लगानीकर्ता हुन् । उनको मिसन, भिजन मन पराएर सेयर बजारका चर्चित लगानीकर्ताहरु उनको पक्षमा खुलेरै लागेकासमेत थिए । उनी यतिसम्म आत्मविश्वास भएका व्यक्ति हुन् कि, उनले भन्ने गरेका छन्, मलाई यो हुन्छ जस्तो लाग्यो भने त्यो हुन्छ र हुनुपर्छ । धेरैले उनको आत्मविश्वासकोसमेत खुलेरै प्रशंसा गर्ने गरेका छन् ।

तथ्य नम्बर १२
बालेन्द्र शाहले सबिना काफ्लेसँग विवाह गरेका छन् र शाहकी श्रीमती पेसाले जनस्वास्थ्यकर्मी हुन् । उनका दाजु एसीसीए हुन् । अर्थात उनको परिवारमा सबैजसो सदस्य प्रोफेसनल छन् । सबैजना आ-आफ्नो क्षेत्रमा अब्बल पनि छन् । र अन्त्यमा धेरैलाई थाहा नभएको तथ्यचाहिं उनी सानैदेखि साहित्यमा रुची राख्ने व्यक्ति थिए । उनी स्कुलमा रहंदा खुब कविता लेख्थे । अर्थात उनी कवि पनि हुन्।

हुने बिरुवाको चिल्लो पात भनेजस्तै बालेन शाह सानै देखि गीत संगीतमा रुची राख्थे । पछी उनी सो विधामा सफल पनि भए । पछी उनले राजनीतिमा हात हाले, यहाँ पनि उनी सफल भए । केहि गर्छु भन्ने अठोट भए र त्यसमा निरन्तर कर्मशील बने जो कोहि सफल हुन्छ भन्ने तथ्यको ज्वलन्त उदाहरण हुन् बालेन्द्र शाह । र अन्त्यमा शुभकामना बालेन्द्र शाहलाई काठमाडौँको मेयरका रुपमा पनि उनको कार्यकाल इतिहासमा स्वर्ण अक्षरले लेखियोस् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: