×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निक्षेपमा सुधार देखिन थालेपछि कर्जामा लगानी बढ्यो

काठमाडौं । निक्षेपमा सुधार देखिन थालेपछि वाणिज्य बैंकहरुले कर्जामा लगानी बढाउन थालेका छन् । भदौको तेस्रो सातासम्ममा मात्रै बैंकहरुले कर्जामा करिब ७ अर्बले वृद्धि गरेका छन् । अर्थात, बैंकहरुले कर्जा लगानी ४१ खर्ब ८१ अर्ब २२ करोडबाट ६ अर्ब ८६ करोडलाई बढाएर ४१ खर्ब ८८ अर्ब ८ करोड पुर्याएका छन् ।

कर्जा लगानीमा बढोत्तरी दखिनुको मुख्य कारण भनेको बैंकको निक्षेपमा वृद्धी हुनु भएको नेपाल बैंकर्स संघका एकजना पदाधिकारीले बताए । ‘साउनसम्म बैंकहरुमा पैसा नै थिएन । कर्जा प्रवाह ठप्प थियो’, उनले भने, ‘भदौको तेस्रो सातासम्म आइपुग्दा बैंकहरुको निक्षेपमा केही सुधार देखिएको छ । त्यसैले पनि अहिले कर्जा लगानीमा वृद्धी भएको हो ।’ उनका अनुसार बजारमा कर्जाको माग असिमित भएपनि बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता संकटले बैंकहरुले लगानी गर्न सकिरहेका थिएनन् ।

पछिल्लो १ महिनामा वाणिज्य बैंकहरुको निक्षेपमा पनि सुधार देखिएको छ । भदौ १७ गतेसम्म ४४ खर्ब ३७ अर्ब ४६ करोड रुपैयाँ निक्षेप रहेको वाण्ज्यि बैंकहरुमा भदौ २४ गतेसम्म आइपुग्दा ७ अर्बले वृद्धी हुँदै ४४ खर्ब ४४ अर्ब ९७ करोड पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

त्यस्तै गत आर्थिक वर्षको अन्त्य सम्ममा ४५ खर्ब ४१ अर्ब ४४ करोड पुगेको निक्षेप साउन लागेसँगै लगातार घटेर २७ साउनमा ४४ खर्ब २० अर्ब ५६ करोडसम्म झरेको थियो । त्यसपछि भने निक्षेपमा सुधार देखिन लागेपनि उल्लेख रुपमा भने बढ्न सकेको छैन । जसले गर्दा माग भएपनि बैंकहरुले कर्जा लगानी गर्न सकेका छैनन् । कर्जा लगानी पनि ३२ असारमा ४१ खर्ब ७४ अर्ब ८४ करोड पुगेकोमा १३ साउनमा ४१ खर्ब ६३ अर्ब ३४ करोडसम्म झरेको थियो । २४ भदौको बैंकहरुको औसत (कर्जा-निक्षेप अनुपात)सीडी रेसियो ८८.३६ प्रतिशत रहेको बैंकर्स संघले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: