Skip to content
LAXMI SUNRISE BANK

ब्रोकर सम्बन्धि नियमावली ‘परिमार्जन’ सहित कानुन समितिले पास गर्यो, मन्त्रिपरिषदले आजै स्वीकृत गर्ने सम्भावना !

राधिका श्रेष्ठ

काठमाडौं । निश्चित मापदण्ड पुगेका सबैले ब्रोकर लाइसेन्स पाउनेगरी संसोधन गरी बोर्डले क्याबिनेट पठाएको तर क्याबिनेटले थप अध्ययन गर्ने नाममा कानुन समितिमा पठाएको ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४’ कानुन समितिले केहि परिमार्जनसहित पास गरेको छ । कानुन समितिका एक उच्च अधिकारीले सो नियमावली कानुन समितिले पास गरी पुन: मन्त्रीपरिषद पठाएको पुष्टी गरेका छन् । उनका अनुसार सोमबार बस्ने मन्त्रीपरिषदको बैठकले सो नियमावली पास गर्ने सम्भावना ठुलो छ ।
‘त्यसलाई क्याबिनेटबाट आएको नियमावलीलाई परिमार्जनसहित पास गरेका छौँ । परिमार्जन हामीले गर्ने त होइन, हामीले हेर्ने भनेको कानुनी पाटो र भाषा मात्र हो । धितोपत्र बोर्डबाट आएको परिमार्जित व्यवस्थालाई हामीले ठिक छ भनेर पठाएका छौँ ।  सम्भवत: आज बस्ने क्याबिनेटले त्यसलाई पास गर्नेछ ।’ कानुन समितिका ती अधिकारीले सँग भने -‘मैले यस अघि भनेजस्तै ब्रोकरको चुक्तापूँजीमा केहि परिमार्जन भएको छ । तर परिमार्जन हामीले गरेको होइन, बोर्डबाट परिमार्जनसहित आएको मस्यौदालाई हामीले कानुनी रुपमा ठिक छ भनेर क्याबिनेट पठाएका हौँ।’
उनका अनुसार धितोपत्र बोर्डले क्याबिनेटमा पठाएको नियमावलीमा ब्रोकरलाई न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ र पूर्णकार्य गर्ने ब्रोकरलाई न्यूनतम ६० करोड र स्टक डिलरका लागि चुक्ता पुँजी १ अर्ब ५० करोड प्रस्ताव गरिएको भएपनि त्यसमा भने केहि परिमार्जन भएको छ । ‘सीमित कार्य गर्ने ब्रोकरलाई न्यूनतम चुक्ता पुँजी १५ करोड बनाइएको छ । पूर्णकार्य गर्ने ब्रोकरको पूँजी न्युनतम ५० करोड र स्टक डिलरका लागि १ अर्ब रुपैयाँ कायम गर्नुपर्नेगरी आवश्यक परिमार्जन भएको छ । पुराना ब्रोकरले नियमावली लागू भएको दुई वर्षभित्र तोकिएको चुक्ता पुँजी पुर्याउनुपर्ने गरी नियमावली अव पास हुनेछ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने-‘सबैले बुझ्नुपर्ने कुरा के हो भने, हामीले नै व्यवस्था परिमार्जन गर्ने होइन । बोर्डले परिमार्जन गरेर पठाएको मस्यौदा हामीले कानुनी रुपमा ठिक छ भनेर पठाएका छौँ ।’
यो नियमावली मन्त्रीपरिषदले आजै पास गर्ने सम्भावना ठुलो छ । आज (सोमबार) बस्ने क्याबिनेटमा यो एजेण्डा ‘विविध’ अन्तर्गत राखिएको छ । यो एजेण्डा पास गर्न केहि समयअघि देखि लगानीकर्ताहरुले आवाज उठाईरहेका थिए भने केहि नेताहरु यसको विरुद्धमा लागेको चर्चा  पनि बाहिरिएको थियो । यो नियमावली कानुन समितिबाट पास गराउन धितोपत्र बोर्डका अध्यक्ष आफैं लागि परेका थिए । यो नियमावली पास भएको खण्डमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ऐतिहासिक काम गरेको भन्दै ठुलो श्रेय पाउनेछन् । लामो समयदेखि सिमित ब्रोकरको चलखेलकै कारण बजारमा भईरहेको मनपरी पनि यो नियमावली पास भएर अरुले पनि ब्रोकर लाइसेन्स पाउने भएपछि स्वत: अन्त्य हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK