×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकमा ‘रङ नम्बर’ ! लापरवाही कि बदनियत ?

काठमाडौँ । सिटिजन्स बैंकमा आफ्नो सुन हराएको भन्दै सुनिल बज्राचार्य अर्थ सरोकारको कार्यालयमा आए । उनको भनाई थियो- ‘सिटिजन्स बैंकमा मेरो सुन हरायो । बैंकले मेरो दिनुपर्ने सुन फिर्ता गरेको छैन । साखामा अडित आएको छ, हिसाब बिग्रिएको छ, सुन शो-अप गर्नुपर्यो भनेर मेनेजरले मेरो सुन लगे, तर फिर्ता गरेनन् ।’ यतिमात्र होइन सिटिजन्स बैंकका विभिन्न साखामा देखिएको सुनको हिसाब गडबढबारे उनले विस्तृतमा बोले । उनको कुरा पूरै सुनिसकेपछि हामीले बैंकको धारणा लिन बैंकका सम्बन्धित व्यक्तिहरुलाई यस विषयमा सोध्न खोज्यौँ ।
बैंकको वेव साइटमा प्रवक्ता नै नम्बर गलत !
पहिला स्वाभाविक रुपमा हामीले बैंकका सूचना अधिकारीलाई यस विषयमा सोध्नुपर्थ्यो र हामीले त्यहि गर्ने प्रयास गर्यौं । तर पटक पटक फोन गर्दा पनि बैंकका सूचना अधिकारी राजेन्द्र लाल श्रेष्ठले फोन उठाएनन् । उनी बैंकका डेपुटी सीइओसमेत हुन् । उनले फोन नउठाएपछि हामीले बैंकका प्रवक्ता नारायण राज अधिकारीलाई फोन गर्ने प्रयास गर्यौँ । बैंकको वेवसाइटमा उनको नम्बर ९८५५०३२३२२ उल्लेख थियो र हामीले त्यसैमा फोन गर्यौं । तर फोन उठाउनेले भने- ‘यो नम्बर नारायण सरको होइन ।’ उनी भन्दै थिए, ‘म पनि बैंककै मान्छे हो, तर यो नम्बरचाहिं नारायण सरको होइन।’
‘अनि वेवसाइटमा त यहि नम्बर छ त ?’ हाम्रो प्रश्नमा फोन उठाउने ती व्यक्तिले भने -‘त्यस्तो नहुनुपर्ने हो । यो त मेरो नम्बर हो । नारायण सरको नम्बर अर्कै छ ।’ नभन्दै नारायण राज अधिकारीको नम्बर अर्कै रहेछ ।
कानुन व्यवसायीको तर्क -‘यो सानो विषय होइन, सूचना नदिने बदनियत हुनसक्छ’
बैंकको यस्तो हर्कतले बैंकले सूचनाबाट नागरिकलाई बन्चित गराएर विभिन्न तथ्य लुकाउने बदनियत राखेर यसरी गलत नम्बर राखेको हो कि भन्ने शंका गर्ने ठाउँसमेत छ । झट्ट सुन्दा यो विषय सामान्य लाग्ला । तर पब्लिक कम्पनी भएकाले प्रवक्ताको सम्पर्क नम्बर गलत राखिनु सूचनाको हक सम्बन्धि प्रचलित व्यवस्थाविरुद्धको काम भएको कानुन व्यवसायीहरुको तर्क छ । ‘प्रवक्ता र सूचना अधिकारीको नम्बर नै गलत हुनु सूचनाको हकसम्बन्धि व्यवस्थाविपरितको काम हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै कानुन व्यवसायी कृष्ण न्यौपाने भन्छन्-‘ यसले सूचना समयमा नै पाउनुपर्नेले नपाओस् भन्ने बदनियत राखेको हुनसक्ने आशंका गर्न सकिन्छ । कसैले सम्पर्क नम्बर गलत राखी भ्रममा पार्न खोजेको विवरणसहित सूचना आयोगमा उजुरी गरे, बैंकलाई कारवाही हुन्छ ।’
नारायण अधिकारीको स्वीकारोक्ति -‘बैंकको वेवसाइटमा भएको नम्बर मेरो होइन’ 
बैंकका प्रवक्ता नारायण राज अधिकारी स्वयम् पनि सो नम्बर आफ्नो नभएको बताउँछन् । उनको खास नम्बर पत्ता लगाएर हामीले उनलाई यस विषयमा सोधेका पनि थियौँ । ‘ओहो, त्यो नम्बर त मेरो होइन, रवि दाईको हो ।’ बैंकका एक अर्का कर्मचारीको नाम लिंदै उनले गल्तीबस् आफ्नो नम्बर गलत उल्लेख भएको हुनसक्ने बताए । उनले त्यसलाई सच्याउन लगाउनेसमेत बताए । ‘खै ! यताउता कसरी भएछ, त्यो हेर्नुपर्छ । तर मेरो नम्बर त्यो होइन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: