×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोठाटारको व्यवसायी हत्याकाण्डको नालीबेली (भिडियो रिपोर्ट)

आइतबार बेलुकीको कुरा हो, गोठाटारमा गोली चल्यो । बन्धुकधारीहरु हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मदमाथि गोली चलाएर भागे । उनकी छोरीले घरबाट हाम फालेर ती बन्धुकधारीलाई समाउन खोजिन्, तर सकिनन् । घाइते भएका मोहम्मदको उपचारका लागि लगियो । स्थानीय शंकरापुर अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई महाराजगंजस्थित टिचिङ अस्पताल लगियो । तर टाउकोमा दुई र दाहिने तिघ्रामा एक राउण्ड गोली लागेका उनलाई चिकित्सकहरुले मृत घोषणा गरे । र एउटा फिल्मको कहानीजस्तै एउटा व्यवसायी मारियो । बन्धुकधारीलाई प्रहरीले अझै समात्न सकेको छैन । काठमाडौँको मुटुमा घटेको यस्तो घटनाले उपत्यकाको सुरक्षाअवस्थाको धोती खुस्काईदिएको छ ।

मोहम्मद गार्मेन्टको व्यापार गर्थे । लाल मोहम्मदका रुपमा चिनिए पनि उनको खास नाम मोहम्मद दर्जी हो । गोठाटारस्थित घरको तेस्रो फ्ल्याट भाडामा लिएर ‘एभेन्जर इन्टरप्राइज’ नामक गार्मेन्ट फ्याक्ट्री चलाइरहेका थिए उनी । र उनकी श्रीमती, छोरी र परिवारका अन्य सदस्य पनि त्यहीं बस्दै आएका थिए ।

बेलुकी साढे छ बजे के भयो ?
सोमबार बेलुकी साढे ६ बजे आसपासको कुरा हो, कपडा लिन आएका ग्राहक रामप्रसाद गौतमलाई सामान दिन प्लास्टिक नपुगेपछि उनी गौतमकै बा ६ च ५१५२ नम्बरको कारमा जोरपाटीसम्म कपडा लिएर पुगेका थिए । त्यहाँ कपडा प्याक गर्ने प्लास्टिक लिएर दुईजना नै गोठाटार फर्किएका थिए ।मोहम्मद बस्ने घर आँगनमा गौतमले गाडी पार्क गर्दै गर्दा दुईजना अगाडि बसिरहेका व्यक्तिले ‘साइड लाग्न’ भनेपछि गौतमले गाडी रोके । गाडी रोकिने वित्तिकै मोहम्मद गाडीबाट उत्रिएका मात्र के थिए, एक्कासी गोली चलिहाल्यो । गोली चलेको आवाज आउने बित्तिकै झ्यालबाट बाहिर हेर्दा माथि रातो कपडा र तल जिन्स लगाएको युवकले पेस्तोल ताकेर मोहम्मदलाई लखेटिरहेको देखेको गौतम बताउँछन् । मोहम्मद भाग्न पनि खोजे, तर ती आक्रमणकारीले उनलाई लखेटीरहे । उनीमाथि ३ राउण्ड गोली प्रहार गरे र फरार भए ।

कुनै फिल्मको दृश्यझैँ एउटा व्यवसायीलाई बन्धुकधारीले लखेटी–लखेटी गोली हाने । आफ्ना बाबुमाथि गोली प्रहार भएको देखेपछि छोरीले घरको माथिल्लो तल्लाबाट हाम फालिन्, बन्धुकधारीमाथि झम्टिन खोजिन्, उनलाई ५०० मिटरसम्म लखेट्न पनि खोजिन्, तर मोटरसाइकलमा आएका बन्धुकधारी भागिहाले । त्यसपछि चालक गौतमले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर गोली चलेको जानकारी गराए । केहीबेरमा प्रहरी त आइपुग्यो, तर आफन्तले उनलाई अस्पताल पुर्याईसकेका थिए । शंकरापुर अस्पतालमा उनको उपचार सम्भव नभएपछि उनलाई शिक्षण अस्पताल लगियो । र त्यहाँ उनलाई मृत घोषणा गरियो ।

यसअघि पनि भएको थियो आक्रमणको प्रयास, यस्तो छ मोहम्मदको पृष्ठभूमि
उनको परिवारका अनुसार केही साताअघि पनि उनीमाथि आक्रमणको प्रयास भएको थियो । त्यही घटनापछि मोहम्मदले जम्बुडाँडा प्रहरी चौकीमा आफू असुरक्षित भएको भन्दै निवेदनसमेत दिएका थिए । तर आफु असुरक्षित रहेको भन्दै प्रहरीमा निवेदन दिंदा पनि प्रहरीले वेवास्ता गर्दा मोहम्मदको ज्यानै गएको गुनासो परिवारको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकका अनुसार घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ । एआईजी धानुकका अनुसार मारिएका उनको विगत स्वच्छ भने देखिएको छैन । मोहम्मद हत्या अभियोगमा झण्डै १० वर्ष केन्द्रीय कारागार बसेर छुटेका थिए । उनी केहि बर्षअघि मात्रै जेलबाट छुटेका थिए भने त्यसपछि उनी व्यवसायमा लागेका थिए ।

नक्कली नोटको कारोबारदेखि अपराधिक व्यक्तिहरुसम्मको कनेक्सन
मोहम्मद दर्जी नेपालबाट हुने जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्तिसमेत रहेको भन्दै अहिले प्रहरीले यो हत्याको घटनालाई निकै सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ । प्रहरी विशेष ब्यूरोको एक रिपोर्ट अनुसार लाल मोहमदले नेपालमा नक्कली नोट कारोबारको बीचको लेयरका रुपमा काम गरेका थिए । उनी केहि कुख्यात अपराधमा र अपराधीहरुसँग पनि नाम जोडिएका व्यक्ति हुन् । तर उनको निधनको कारण अपराधिक ग्याङ्गसँग बिग्रिएको सम्बन्ध हो वा कुनै निजी मामला हो भन्ने विषयमा प्रहरीले छानविन गरिरहेको छ । अपराधिक पृष्ठभूमिका मोहम्मद दर्जी के कारणले मारिए ? उनको मृत्युपछाडीको अपराधिक कनेक्सन कारण के हो ? उनलाई मार्न कसले कसलाई सुपारी दिएको थियो ? यसअघि पनि उनलाई आक्रमण गर्न खोज्ने व्यक्ति वा समूह को थियो ? लगायतका विषयमा यतिबेला प्रहरी अनुसन्धान गरिरहेको छ ।

सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न
कारण जे सुकै होस्, काठमाडौँको मुटुमै कोहि गोली हानेर मारिनु सुरक्षाका दृष्टिकोणले सार्है संवेदनशील विषय हो । नेपालमा केहि लाख खर्च गरे मान्छे मार्न गाह्रो छैन, र यसरी मान्छे मार्ने सुपारी लिनेहरु धेरै छन् भन्ने बेला बेला चल्ने हल्लालाई कतै यो घटनाले पुष्टी त गरेन ? भन्ने विषय यतिबेला गम्भीर बनेको छ । अपराधिक पृष्ठभूमि भएका व्यक्ति नै सहि, यो घटनाले देशमा नागरिकको सुरक्षास्थिति कुन हदसम्म कमजोर छ भन्ने प्रमाणित त गरेको छ नै, हतियार भएका थुप्रै व्यक्तिहरु काठमाडौँमा छन् भन्ने तथ्यसमेत देखाएको छ । समग्रमा यो घटनाले काठमाडौँ उपत्यकाको सुरक्षास्थितमाथि नै ‘बिग कोइसन’ खडा गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: