×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘दशैंको मुखमा चोरहरुले यो हदसम्म गर्छन्, कुकर बनाउनेदेखि कोठा खोज्नेसम्मको बहाना गरेर तपाईंलाई लुट्न सक्छन्’ (भिडियो ब्लग)

काठमाडौँ । दैलोमा दशैं छ । चाडबाड नजिकिएसँगै शहरहरुमा चोरहरुको बिगबिगी पनि बढेको छ । कोहि, घरमा कोठा छ ? भन्दै कोठा खोज्ने बहानामा त कोहि राम्रो शुटको कपडा छ, लिने हो ? भन्दै तपाईंको घरको सुराकी गरिरहेका हुन सक्छन् । कोहि बिग्रिएका कुकर बनाउने बहानामा तपाईंको चियो चर्चो गरिरहेका हुन सक्छन त कोहि अरु बहानामा तपाईंको घरमा चोरी गर्ने तयारी गरिरहेका हुन सक्छन् । खासमा यस्ता अनेक छदमभेशीहरु न सुट बेच्न हिंडेका हुन्छन्, न उनीहरुलाई कोठा चाहिएको हुन्छ । बिगतका दृष्टान्त पनि हुन्छ, उनीहरु तपाईंको सुराकी गरिरहेका हुन सक्छन् । त्यसैले तपाईं हामी आफैं सतर्क बन्नुको विकल्प छैन ।

प्रतिनिधि केहि घटना
केहि समय अगाडीको कुरा हो, कोटेश्वरको एक घरमा अन्दाजी ३० बर्षीय पुरुष घरमा कोठा छ भन्दै पुगे । कोठा खाली पनि भएकाले घरभेटीले उनलाई कोठा देखाए । ती पुरुषले पानीको व्यवस्था कस्तो छ भनेर सोधे । पानीको मोटर कहाँ छ भनेर पनि सोधे । सोझा घरभेटीले उनलाई सबै कुरा देखाईदिए पनि । त्यसपछि ती पुरुष आफ्नी श्रीमतीलाई सोधेर कोठा देखाउन आउंछु भने र गए । तर उनी फेरी फर्केर कतै देखिएनन् । बरु भोलिपल्ट घरभेटीको घरको मोटर चोरी भयो । लगभग ६ महिना पछि अन्यत्रै घरमा चोरी गरेको आरोपमा प्रहरीले तीनै व्यक्तिलाई पक्राउ गर्यो ।

यस्तै अर्को उदाहरण छ, घटना काठमाडौँकै हो । दशैंका बेला विदेशबाट आयातित शुट कपडाहरु सस्तोमा बेच्ने भन्दै एक युवक घरघर चहारीरहेका थिए । उनी जुन एरियामा शुटको कपडा बेच्ने भन्दै हिडिरहेका थिए, त्यहि घरमा भोलिविहानै चोरीको खबर आयो । पछि ती शुट बेच्न भनी आएका व्यक्ति पनि चोरीको आरोपमा अन्यत्रैबाट समातिए । अर्थात बाहिर देखिंदा व्यापारी भए पनि खासमा ती चोर थिए र चोरीका लागि सुराकी गरिरहेका थिए ।

गत दशैंमा यस्ता चोरहरु अर्को भेषमा देखिए । दशैंको मुखमा कुकर बनाउने बहानामा घरघर पुगेका थिए यस्ता चोरहरु । कुकर बनाउने भन्दै घरघर जाने, कुकर पनि बनाईदिने । त्यहि बेला सकेसम्म किचेनमा अनेक बहाना गरेर छिर्ने । घरको सबै जानकारी लिने, र अर्को पटक चोरी गर्ने । यस्ता चोरहरुदेखि तपाईं हामी सतर्क हुन जरुरी छ ।

यतिमात्र होइन, दशैंको बेला छ, खाने लाउने केहि छैन भनेर काखमा बच्चा च्यापेर कोहि महिला तपाईंको घर वरपर अलि लामो समय बसिरह्यो वा सिधै तपाईंको घरभित्र प्रवेश गर्यो भने पनि तपाईं सतर्क हुनुहोला । किनकि बिगतमा पनि यसरी मानिसहरुको घर सुराकी गर्ने र चोरी गर्ने गिरोहको यस्तो धन्दा बाहिर आईसकेको छ । चोरीका ठेकेदारहरुले विभिन्न मानिसहरु प्रयोग गरेर तपाईंको घरमा सुराकी गरिरहेका हुन्छन् । जसले अनेक दुख देखाएर होस् वा समान बेच्ने बहाना बनाएर तपाईंहरुको घरको जानकारी लिईरहेका हुन्छन् र अन्तत: तपाईंको घरमा चोरी हुन्छ ।

बिगतका थुप्रै घटनाक्रमले भन्छ, दशैंका बेला यस्ता पेशेवर चोरहरु तपाईंको घरको निगरानी गर्न घरमै आईपुग्छन् ।कोठा खाली भएका घर, महिलामात्र भएका घर, घरका सबै अफिस जाने र दिउँसो ताला नै लाग्ने घर, र दिउँसो प्राय: कोहि पनि नहुने घर चोरका टार्गेटमा हुन्छन् । दशैंका बेला घरका गरगहना पैसामात्र चोर्दैनन चोरहरु, बरु तपाईंका जुत्ता, पानी तान्ने मोटर, वा जे भेटिन्छ त्यहि चोरेर लान्छन्, चोरहरुले । अझ उपत्यकामा अधिकाशं घरमा डेरा गर्नेहरु दसैंंको समयमा पर्व मान्न घर जाने तथ्य थाहा पाएर दशैं र तिहारको मौका छोपी नेपालमा पेशेवर चोरहरु चोर्नकै लागि भित्रने गरेका खबरहरु यसअघि पनि बाहिर आएका हुन् । र त हामी आफैँ सतर्क हुनुको विकल्प छैन।

अघिल्लो दशैंमा पनि प्रहरीले काठमाडौँका विभिन्न स्थानहरुबाट यस्ता पेशेवर चोरहरु समातेको थियो । जो चोर्नकै लागि शहर पस्छन, चोर्छन् र आफ्नो घर फर्कन्छन् । प्रहरीकै रेकर्डमा यस्ता घटनाहरु पनि छन्, जहाँ चोरले फोहोर उठाउने नाममा, जोगीको भेषमा मानिसका घरहरुको चियोचर्चो गर्छन् र चोरी गर्छन् ।

टिकटक बनाउने भन्दै मोटरसाइकल चोरी !

घरमा मात्र होइन, यस्ता चोरहरु बाटोमा पनि देखिन्छन् । केहि समय अगाडी त्यस्तै भयो । बाटोमा मोटरसाइकल रोकेर खाजा खाईरहेका व्यक्तिसँग चिनजान गरेर एउटा चोरको समूहले २ मिनेट टिकटक बनाउने भन्दै मोटरसाइकलको चाबी मागे । त्यसअघि नै आफु खत्रा टिकटकर हो भन्ने गफ दिएका चोरको गफ मोटरसाइकल धनीले पनि पत्याए र चाबी दिए । तर ती मोटरसाइकल धनीकै अगाडी ठाउँको ठाउँ ती चोरहरु मोटरसाइकल चोरेर भागे ।

पछि ती चोरहरुको गिरोह नै पक्राउ पर्यो । पक्राउ पर्नेमा चोरी गर्ने मुख्य व्यक्ति सिन्धुपालचोकको मेलम्ची नगरपालिका १० बस्ने निसान सापकोटा, सोही स्थानका ३२ वर्षीय रामचन्द्र रावल र चोरीको मोटरसाइकलको पार्टपुर्जा खोलि बिक्री गर्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ टाकुरेका ३२ वर्षीय पुस्कर काफ्ले थिए ।

यस्ता मोटरसाइकल चोरहरुको गिरोहमा वर्कशपका संचालक समेत हुने गरेका छन् । एक जनाले मोटरसाइकल चोर्ने, अनि एउटाको वर्कशपमा लगेर पाठपुर्जा निकाल्ने र तीनैका कन्ट्याक्टमा रहेका अरु वर्कशप मालिकहरुलाई त्यस्ता चोरीका सामान बेच्ने थुप्रै गिरोह काठमाडौँ लगायतका शहरमा सक्रिय छन् ।

यसरी चोरी गर्ने गिरोहले पार्टपुर्जा खोलेपश्चात बाँकी रहेको इन्जिन र चेसिसको नम्बर लेखिएको भागलाई चिन्न नसकिने गरी लेथमेसिनले टुक्रा–टुक्रा पारी बाँकी सामान कवाडीलाई बिक्री बितरण गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । त्यसैले बाटोमा हिड्दा कसैले टिकटक बनाउने भन्दै तपाईंको बाइक अवदेखि माग्यो भने सतर्क रहनुहोला ।

पूर्व प्रहरी नै चोरी र लुटपाटमा संलग्न !
अझ अचम्मको कुरा त के छ भने यसरी चोर्ने समूहमा प्रहरीकै पूर्व कर्मचारी पनि हुने गरेका छन् । आफु पुलिस हुँदा भेटिएका चोरहरुसँग मिलेर पूर्व प्रहरीहरु नै यस्ता चोरी र लुटपाटका घटनामा संलग्न रहेको पाइएको छ । यसको पछिल्लो उदाहरण हो काठमाडौंको नयाँबानेश्वरस्थित कात्यानी चोकमा रहेको एक मोबाइल पसलमा भएको लुटपाट । उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्व असई बाल सुन्दर सापकोटा र पूर्व हवल्दार अर्जुन कार्कीलाई लुटपाटमा संलग्न रहेको भन्दै पक्राउ गरेपछि पूर्व प्रहरीहरुको समेत यस्ता काममा संलग्नता रहने गरेको छ भन्ने तथ्य खुलेको हो । काठमाडौंको नयाँबानेश्वरस्थित कात्यानी चोकमा रहेको एक मोबाइल पसलमा आइतबार भएको लुटपाटपछि यस्तो रहस्य बाहिर आएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सो पसलबाट तीन वटा आईफोन लुटिएका थिए । पछि प्रहरीको अनुसन्धानबाट खुल्यो कि चोरमध्ये एक त भूपू पुलिस नै पो रहेछन् ।

अझ पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीले त झन् धेरैलाई चोर बनाएको छ । जागिर छैन, व्यापार छैन, व्यापार भए पनि कारोबार छैन । कारोबार नभएपछि आम्दानी छैन । दशैं त मनाउनु परिहाल्यो भनेर यसरी चोरी गर्नेहरु बढेका छन् । एक हिसाबले भन्दा चाडबाडमा नन प्रोफेसनल सिजनल चोरहरु बढेका छन् । जो दशैं मनाउनका लागि चोरी गर्छन् ।

चोरी हुनबाट जोगिन सबैभन्दा बढी तपाईं हामी स्वयम् नै सतर्क बन्नुपर्छ । कोहि घरमा केहि बेच्ने बहानामा आए ख्याल गर्नुपर्छ । चोरको शंका लागे प्रहरीलाई खबर गर्नुपर्छ । राम्रोसँग ताला नलगाई घरबाहिर निस्किनुभएन । कसैले बाटोमा टिकटक बनाउने भनेर मोटरसाइकलको चाबी मागे दिनुभएन । वा अपरिचितसँग कुराकानी नै गर्नुभएन । अपरिचित व्यक्तिले दिएका खाने कुरा खानु भएन र यहि कुरा आफ्ना बालबच्चा केटाकेटीलाई पनि सिकाउनुपर्यो । चोरीका घटना बढेका छन्म त्यसैले आफु नै सचेत हुनुको विकल्प छैन ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: