×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘३ बर्षपछि मात्र लाइसेन्स वितरण गर्ने भन्ने हल्ला गलत हो, ढुक्क हुनुस् ३० दिनभित्र नयाँ लाइसेन्स आह्वान हुन्छ’ : हमाल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार

PRIME CA
laxmi sunrise bank

‘३ बर्षपछि मात्र लाइसेन्स वितरण गर्ने भन्ने हल्ला गलत हो, ढुक्क हुनुस् ३० दिनभित्र नयाँ लाइसेन्स आह्वान हुन्छ’ : हमाल

काठमाडौँ । नयाँ ब्रोकर लाइसेन्सका लागि बाटो खुल्नेगरी नियमावली पास भएपछि धेरै लगानीकर्ताहरुले धितोपत्र बोर्डका अध्यक्षलाई धन्यवाद दिए । धेरैपछि ब्रोकरहरुको सिण्डिकेट हटाउन सफल भएको भन्दै ब्रोड अध्यक्ष रमेश कुमार हमालको सबैले प्रशंसा नै गरे । तर शुक्रबार विहानदेखि सामाजिक संजालमा भाइरल भएको एउटा कागजले सबैको ‘निद हराम’ भएको छ । ‘मन्त्रीपरिषदबाट पास भएको नियमावली यहि हो’ भन्दै भाईरल भएको सो कागजमा ब्रोकर लाइसेन्स दिने काम तीन बर्ष पछि मात्र हुने आशय प्रस्तुत गरिएको छ ।

सोहि कागजका आधारमा कतिपय ब्रोकरहरुले पनि ३ बर्षका लागि नयाँ लाइसेन्स वितरण नहुने आशयका खबर सामाजिक संजालका विभिन्न ग्रुपहरुमा फैलाउन थालेपछि लगानीकर्ताहरु निराश बनेका छन् । तर नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले भने नयाँ लाइसेन्स ३० दिनभित्र आह्वान हुने र त्यसको ३५ दिनभित्र नयाँ लाइसेन्स वितरण हुने कुरामा कुनै शंका नगर्न आग्रह गरेका छन् ।

अर्थ सरोकार डटकमसँग शनिबार विहान कुराकानी गर्दै अध्यक्ष हमालले बाहिर आएको ड्राफ्ट कुनै पूरानो ड्राफ्ट हुनसक्ने र क्याबिनेटले पास गरेको नियमावलीले तत्काल ब्रोकर लाइसेन्सका लागि बाटो खुलाउन कुनै बन्देज नलगाएको स्पष्ट पारेका छन् ।

‘शुक्रबार सो कागजका बारेमा मलाई पनि कतिपय ठाउँबाट सोधनी भयो । केहि संचारमाध्यममा सोहि आसयको न्युज पनि देखें । तर नयाँ लाइसेन्स वितरण ३ बर्षसम्म धकेलिएको होइन ।’ धितोपत्र बोर्डका अध्यक्ष हमालले अर्थ सरोकारसँग भने, ‘अवको ३० दिनभित्र नयाँ लाइसेन्सका लागि आह्वान हुन्छ र त्यसको ३५ दिनभित्र नयाँ लाइसेन्सहरु वितरण भईसक्छ ।’

बरु यसोचाहिं हो ३ बर्षको भित्री कुरो !

यद्यपी एक पटक नयाँ लाइसेन्सका लागि आह्वान भईसकेपछि ३ बर्षपछि मात्र अर्कोपटक लाइसेन्स खुलाउनेगरी नियमावलीमा व्यवस्था गरिएको भने सत्य भएको हमालको भनाई छ ।

‘एक पटकलाई सबैका लागि लाइसेन्स खुल्छ । त्यसपछिचाहिं ३ बर्षपछि मात्र लाइसेन्स खुल्नेछ । हुन त हामीले हरेक बर्ष नयाँ लाइसेन्स पाउनेगरी नियमावली पास गरेर पठाएका थियौँ । तर एकपटक नयाँ लाइसेन्स दिएपछि बजारका बारेमा अध्ययनसमेत गर्नुपर्ने भएकाले अर्को ३ बर्षसम्मचाहिं हेर्नुपर्छ भन्ने कुरा सबैले राखेपछि हामी त्यसका लागि तयार भएका हौँ।’ अध्यक्ष हमालले अर्थ सरोकारसँग भने, ‘स्पष्ट कुरा के हो भने, यसपटक लाइसेन्स खुल्छ । मापदण्ड पुगेका सबैले लाइसेन्सका लागि आवेदन दिन पाउँछन् । त्यसको ३५ दिनभित्र मापदण्ड पुगेकाहरुले लाइसेन्स पनि पाउँछन् । एक पटक नयाँ लाइसेन्स वितरण गरेपछि अर्को ३ बर्षसम्म जारी भएका लाइसेन्सले के कस्तो प्रभाव बजारमा पार्यो भन्ने हेरेर ३ बर्षपछि पुन: लाइसेन्स खोल्नेगरी नियमावली पास भएको हो । ३ बर्षसम्म नयाँ लाइसेन्स वितरण टरेको भन्ने होइन ।’

उनका अनुसार त्यहि तीन बर्षसम्म अहिले भएका ब्रोकरहरुलाई पूँजी पुर्याउन समय पनि दिने भनिएकोचाहिं हो । ‘ब्रोकरको पूँजी घटाउने वा पूँजीका लागि समय बढाउने भन्ने विषयमा छलफल भएपछि पूँजी नघटाउने, बरु, अहिलेका ब्रोकरहरुलाई तोकिएको पूँजी पुर्याउन हामीले भनेको २ बर्षलाई बढाएर ३ बर्षसम्म समय दिने भनेका हौँ । अन्यथा केहि होइन । बजारमा चलेका अन्य अपव्याख्या र अफवाहतिर लाग्नुपर्ने स्थिति छैन । ढुक्क हुनुस्, यसपाली नै नै नयाँ लाइसेन्स वितरण हुन्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: