×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय परिचय पत्र बनाउने ठाउँमा हाम्रो छड्के, सेवाग्राहीको बिजोग, हाकिम सापले के भने ?

हामीलाई केहि समययता निरन्तर गुनासाहरु आईरहेका थिए कि राष्ट्रिय परिचयपत्र बनाउने नाममा नागरिकले सास्ती मात्र पाईरहेका छन् । आज गयो, सिष्टम डाउन भन्छन्, फर्किनैपर्यो, भोलि गयो, फेरी सिष्टम डाउन भयो भन्छन् फर्काईदिन्छन्, फर्किनैपर्यो । हुँदा हुँदा अव त अत्ति भयो भनेर विहानै गएर लाइन बस्दा पनि राष्ट्रिय परिचयपत्र नबन्ने भयो ।

हाकिमले चिनेका र दलालले खर्चपानी लिएर भित्र लगेका फाइल फटाफट अघि बढ्छन् । त्यस्ताको काम एकछिनमै हुन्छ । तर सोझो पाराले नियमसंगत रुपमा राष्ट्रिय परिचयपत्र लिन जाँदा भने अन्तरार्ष्ट्रिय झमेला भयो । अझ गुनासामा नागरिक भन्दै थिए, ‘हाकिमकहाँ सायद घुस मात्र चल्छ, सिष्टम चल्दैन । परिचयपत्र बनाउन जाँदा बिचौलियाको रजगज चल्छ, सिष्टम चल्दैन । नेताको पावर चल्छ, भीआईपीको भनसुन चल्छ, घुस चल्छ, कमिसन चल्छ, सब चल्छ तर त्यहाँको सिष्टम चल्दैन ।’

एक होइन, दुई होइन दिनैपिच्छे गुनासै गुनासा आउन थालेपछि हामी पनि कुरो के रहेछ भनेर राष्‍ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग नै पुग्यौं । तर त्यहाँको स्थिति हेर्दा लाग्यो, नेपालीहरु सहनशीलचाहिं सार्है हुन् ।

एउटा परिचयपत्र बनाउन समेत यो हदसम्मको दुख, हैरानी पाउँदा पनि उनीहरु विहानैदेखि लाइनमै थिए । सेवाग्राही लाइनमा थिए, हाकिम भित्र गफमा थिए, कर्मचारीहरु एउटै स्वर मिलाएर भन्दै थिए-‘सिष्टम नै चल्दैन ।’ र त्यसपछी के भयो रु हामी त्यहाँ गएपछी हामीले नागरिकका पीडा त सुनेका छौं नै, हाकिम सापलाई नै जनताका अगाडी उभ्याएर काम कहिले हुन्छ भनेर सोधेका छौं ।

सिष्टम नचलेर हो कि सूचना अधिकारीको मोबाइल नचलेर हो, वा चलाउने जाँगर नभएर हो, सूचना अधिकारीको फोन फिटिक्कै नउठेपछी हामीले हाकिमसापलाई नै भेटेर सोधेका छौं, ‘एउटा परिचय पत्र लिन यो हदसम्मको हैरानी त अत्ति भएन र भन्या ?’

परिचयपत्र बनाउन सेवाग्राहीले कुनै शुल्क नतिर्नुपरने हो, तर के गर्नु, अलि अलि पैसा नखुवाई भित्र सिष्टम नै नचल्ने रहेछ । केहि समयभित्र परिचयपत्र बनिसक्नुपर्ने हो, तर हामीकहाँ घन्टौं नकुरी एउटा परिचयपत्र बन्ने स्थिति अझै छैन ।

देशमा कस्ता कस्ता सफ्टवेर मज्जाले चल्छन्, दिनमा लाखौँले हेर्ने साइट र सिष्टममा कुनै समस्या छैन, अनि सरकारी भन्न पनि लाज हुनेगरी त्यहाँको सिष्टम भने डाउनका डाउन । यति सम्मकि अन्त कहिलेकाहीं सिष्टम खुल्छ, यहाँचाहिं कहिलेकाहीं सिष्टम चल्दोरहेछ । हुन त राम्रै कमिसन लिएर दिएर बनेको सिष्टम होला, अनि त डाउन हुने भैगो नै ।

खैर, हाकिम सापले काम हुन्छ भनेर भनिसकेका छन् । अव केहि दिन उनको कुरा पत्याएरै भए पनि आश गरेर बसौं । होइन, कामै भएन फेरी पनि भने, फेरी पनि जाउँला र सोधौंला हाकिम सापलाई अस्ती त मुखैले बोल्नुभएको थियो क्यार ! आज त काम भएन नि हाकिम साप ! किनकि जनता दास होइनन, रैती होइनन, जसले जसरी मन लाग्छ त्यसरी मात्र काम गराउन ।

जनता काम नपाएर त्यहाँ पुगेका होइनन, भनेजति समय कुर्नलाई । र जनता त्यति फुर्सदिला पनि छैनन्, एउटा परिचय पत्र बनाउनलाई हप्तौं कुर्नुपर्ने गरी । र हाकिमहरु बुझुन, जनतासँग घुस खानेहरुको जस्तो घुस खाएको रकम पनि छैन, एउटा परिचयपत्र बनाउन हप्तौंसम्म हिड्न । त्यसैले समयको काम समयमै हुनुपर्छ ।

कि तपाईं हाकिमले काम गराउन सक्नुपर्छ, नत्र कुर्सी छोडे भईगो नि, अर्को मान्छे आउँछ सिष्टम बसाउँछ । कि कसो त ?

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: