×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विवाहमा यसरी ठगिन्छन् बेहुला-बेहुलीहरु…(भिडियो रिपोर्ट)

काठमाडौं ।  विवाहको मौसम सुरु भएको छ । सँगै सुरु भएको छ, विवाहका नाममा बेहुलाबेहुलीहरु ठगिने क्रम पनि । खर्च गर्नेनै समयको रुपमा लिइने गरेको भएपनि विवाहको मौसममा किनमेल गर्न जाँदा ग्राहकहरु कपडादेखि पार्टी प्यालेससम्म नमज्जासँग ठगिने गरेका छन् । आखिर कहाँ-कहाँ ठगिन्छन् त बेहुलाबेहुलीहरु ?

बेहुलाबेहुली ठगिने क्रम सुरु हुन्छ कपडाबाट
विवाहको खर्च सूची लामै भएपनि किनमेल, पार्टी प्यालेस र सुन र कपडामा सबैभन्दा बढी खर्च हुन्छ । र ग्राहक यहीँ ठगिन्छन् । विशेषगरी बेहुलीका लागि किनिने सारी, ब्लाउज, भित्री कपडा, र बेहुलाका लागि किनिने दौरा सुरुवाल, वा सुट पाइन्टको मूल्य व्यापारी मनलाग्दी लिन्छन् । कपडा उही भए पनि यो विवाहका लागि विशेष हो भन्दै गफ दिएर व्यापारीहरुले सामान भिडाउँछन् । एक पटकको विवाह त हो नि, दुई चार हजारमा के लोभ गर्नु भनेर बेहुलाबेहुलीको किनमेल गर्नेहरु पनि पैसा तिर्न राजी हुन्छन् । बेहुलाबेहुली खर्चको हिसाब नगरुन्जेल मख्ख, व्यापारी यसै मख्ख ।

काठमाडौँमा उही सारी विवाहका लागि भने एउटा दाम, अरु समयका लागि भने अर्को दाम लिने गरेका छन् व्यापारीहरु । अन्य कपडामा पनि व्यापारीको मनलाग्दी यस्तै छ । कुन कपडाको मूल्य कति हो भन्ने दाम तोकिदिने निकाय नभएकाले व्यापारीले जति भन्छन् र किन्नेले जति दिन तयार हुन्छन्, त्यति नै दाम पर्छ कपडाको । यतिसम्म कि उही ब्राण्डको कपडा, न्युरोडमा मात्र ४ वटा पसलमा सोध्यो भने, त्यसको मूल्य पनि ४ थरी नै हुन्छ ।

विवाहको मौसममा कपडामा बेहुलीहरुमात्र होइनन्, बेहुलाहरु पनि नमज्जासँग ठगिन्छन् । विवाहमा बेहुलाले लगाउने दौरा सुरुवाल वा सुट पाइन्टको रेट पनि बजारमा मनलाग्दी छ । उही दौरा सुरुवाल अरु समयमा ३००० बेहुलालाई भने यो यस्तो राम्रो, उस्तो राम्रो, एक दिन त लगाउने हो खतरा लगाउनुपर्छ भन्ने गफ दिएर व्यापारीले २० हजारसम्म भिडाउँछन् । सुट पाइन्टमा पनि त्यस्तै छ । कोट, दुई पाइन्ट र दुई शर्ट, अझ वेष्ट कोट र टाइ सहित बजारमा ८ देखि ९ हजारमा मज्जाले पाइन्छ। तर बेहुलालाई भने पछि त्यहि कपडा २० हजार परिगो । विवाहमा लगाउने शुट भनेपछि बेहुलाले पनि दुई पैसा महँगो तिर्नलाई समस्या मान्दैनन् । अनि न व्यापारीलाई ठगें भन्ने लाग्छ, न किन्नेलाई ठगिएं भन्ने लाग्छ ।

बेहुलाबेहुलीलाई मुर्गा बनाउने अर्को ठाउँ हो पार्टी प्यालेस 

विवाहमा सबै भन्दा बढी खर्च हुने भनेको भोज दिंदा हो । तर, काठमाडौँका पार्टी प्यालेसमा मनलाग्दी शुल्क छ । सामान्यता स् काठमाडौँमा खानाको सूची हेरेर प्रति प्लेट ५०० रुपैयाँदेखि प्रति प्लेट ४५ सय रुपैयाँ सम्मको खानाका विकल्प छन् । तर, एउटै मेनुका खाने कुरा पनि ठाउँ हेरेर फरक हुन्छ । र यहीं हो ग्राहक ठगिने । कतिपय पार्टी प्यालेसले खानामा सामान्य मूल्य सूची राखेपनि आफ्नो पार्र्टी प्यालेसको ठाउँको भाडा निकै महँगो राख्ने गरेका छन् । यता यी पार्टी प्यालेसमा खुवाइने खाना सम्बन्धि खास मापदण्ड नहुँदा र भएको मापदण्डको समेत अनुगमन नहुँदा ग्राहक मर्कामा पर्ने गरेका छन् । धेरै पार्टी प्यालेसमा बढी भएका खानेकुरा काठमाडौँका विभिन्न रेस्टुराँमा समेत खपत हुने गरेका छन् । पार्टी प्यालेसमा बढी भएको खाना रेष्टुरेन्टहरुले दाम मिलाएर लिने गर्छन् ।

विवाहमा ठगी हुने अर्को ठाउँ हो फोटो भिडियो खिच्दा
पछिल्लो समय विवाहमा बरु दुलाहा आउन ढिलो भए केहि फरक पर्दैन, फोटोग्राफर त एकाविहानै पुग्नुपरीहाल्यो । अनिवार्यजस्तै मानिएको फोटो र भिडियो खिचाईको पनि बजारमा आ–आफ्नै दर छन् । प्रतिदिन ३ हजार देखि प्रतिदिन ४० हजारसम्मका रेट छन् फोटो र भिडियो खिच्नेहरुका । प्याकेजमा पूरै विवाहको १० हजारदेखि २ लाखसम्म लिने गरेका छन् बजारमा । फोटो वा भिडियो खिचेको कति पैसा लिने भन्ने कुनै निश्चित मापदण्ड छैन । कतिपय ठाउँमा त स्थिति यस्तो पनि छ, क्यामरा उही, क्यामराम्यान उही, खिचाई उही, ड्रोन उडाई उही, सबै उही तर त्यहि काम गरेको कसैलाई टाकनटूकन सबै गर्दा १० हजार कतिलाई ३ लाख ।

ठगी हुने अर्को ठाउँ हो, मेकअप 
सबैभन्दा राम्री हुनुपर्ने नै बेहुली हुँदा हो । अनुहार थोपडा न सोपडाको भएपनि विवाहको दिन त प्रियंका चोपडा हुनैपर्यो । र राम्री हुँदा सबैभन्दा महत्वपूर्ण चीज भनेकै मेकअप हो । र त मेक अप जति भने त्यति पैसा दिन तयार हुनैपर्यो बेहुलीहरु । काठमाडौँमा स्थान हेरेर प्रतिदिन ३५ सय देखि १ लाख रुपैयाँ लिएर बेहुली सिङ्गारिदिने ब्युटीसियन पाइने गरेको छन् । आफ्नो कला वा माग अनुसार विभिन्न ब्युटिशियनले आफ्नो दर राखेका छन् ।

कतिपय ब्युटी पार्लरहरुले एकै दिन बढी विवाहमा जानु परेको खण्डमा सिकारुलाई पठाउने गरेका छन् । तर, पैसा भने बढीनै लिने गरेको समेत पाइएको छ । यसरी बढी पैसा लिने तर कम गुणस्तरको सेवा दिएर कतिपय ब्युटिसियन वा ब्युटी पार्लरले समेत सेवाग्राहीलाई ठग्ने गरेको गुनासो सेवाग्राहीको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: