×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमजोर नेतृत्वको दुष्परिणाम ! नबिल इन्भेष्टमेन्ट बैंकिङका ३ वटै म्युचुअल फन्डको न्याभ घट्यो, कमजोरीबारे बोल्दैनन् सीइओ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कमजोर नेतृत्वको दुष्परिणाम ! नबिल इन्भेष्टमेन्ट बैंकिङका ३ वटै म्युचुअल फन्डको न्याभ घट्यो, कमजोरीबारे बोल्दैनन् सीइओ !

Artha Sarokar

१५ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । निकै कमजोर व्यवस्थापनको बात लागेको र पटक पटक विभिन्न काण्डमा मुछिंदै आएको नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डहरुको खुद सम्पति मूल्य (न्याभ) घटेको छ । नेतृत्वले सहि निर्णय गर्न नसक्दा नबिल इक्विटी फण्डको न्याभ असोज मसान्तमा २२ पैसाले घटेर ९ रुपैयाँ ९३ पैसा कायम भएको  छ । अघिल्लो महिना यसको न्याभ १० रुपैयाँ १५ पैसा रहेको थियो । फन्डले असोज मसान्तसम्म ८२ करोड ८२ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । कुन समयमा कस्ता र कुन कम्पनीमा लगानी गर्ने भन्ने विषयमा नै नेतृत्व अलमल हुँदा र त्यसमा पनि सीइओ मनिष जोशीको ठाडो हस्तक्षेप हुँदा कम्पनीले संचालन गरेको म्युचुअल फण्ड बिजोग स्थितितर्फ पुगेको स्वयम् कम्पनीका उच्च अधिकारीहरु बताउँछन् ।

यस्तै, विवादित नेतृत्वले मनपरी गर्दा नेप्सेमा कारोबार नै होल्ड भएको र पछि कम्पनीले हारगुहार गरेपछि कारोबार खुला भएको नबिल ब्यालेन्स्ड फन्ड-२ को न्याभ असोज मसान्तमा १० रुपैयाँ १० पैसा कायम भएको छ । यो फण्डको न्याभ भदौ महिनाको तुलनामा २६ पैसाले थोरै हो । अघिल्लो महिना यस फन्डको न्याभ १० रुपैयाँ ३६ पैसा थियो । यस फन्डले असोज मसान्तसम्म ८० करोड २७ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । यस फन्डको मुद्दती निक्षेपमा २ करोड ६१ हजार रुपैयाँ छ । असोज मसान्तसम्म फन्ड ७ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको छ । यो फण्डलाई कसरी फाइदामा लैजाने भन्ने विषयमा सीइओ जोशीलाई अन्य अधिकारीले पटक पटक सुझाव दिंदा पनि उनले नमान्दा यस्तो दुष्परिणाम आएको कम्पनीका अन्य अधिकारीहरु बताउँछन् ।

यसैगरी, नबिलको अर्को म्युचुअल फन्ड ‘नबिल ब्यालेन्स्ड फन्ड-३’ को न्याभ असोज मसान्तमा १३ पैसाले घटेर ८ रुपैयाँ १३ पैसा कायम भएको छ । अघिल्लो महिनामा यस फन्डको न्याभ ८ रुपैयाँ २८ पैसा थियो । यस फन्डले असोज मसान्तसम्म ५८ करोड ८८ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । भदौमा यसले ६० करोड ८० लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । फन्डको असोजसम्म बैंक मौज्दात बढेर २२ करोड ४ लाख रुपैयाँ पुगेको छ । भदौमा भने बैंक मौज्दातमा १४ करोड १५ लाख रुपैयाँ रहेको थियो । यस फन्डको मुद्दती निक्षेपमा १० करोड ९५ लाख रुपैयाँ छ । असोज मसान्तसम्म नबिल ब्यालेन्स्ड फन्ड-३ ५ करोड ५३ लाख रुपैयाँ घाटामा रहेको छ ।

कम्पनीको बिजोग स्थिति हुँदा पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत भने तलवमात्र पचाएर बसेको भन्दै अहिले कम्पनीभित्र नै सीइओ जोशीको विरोध हुन थालेको छ । ‘उनकै जिद्दीका कारण नेप्सेले केहि समय अगाडी दुई फण्डको कारोबार नै रोक्का गरिदियो ।  अहिले फेरी उनकै कमजोरीका कारण न्याभको बिजोग भएको छ ।’ कम्पनीका अर्का एक उच्च अधिकारी भन्छन्- ‘जोशी सर रहेसम्म अव कम्पनीले प्रगति गर्लाजस्तो लाग्दैन । जनताको सम्पत्तिमाथि खेलबाड भईरहेको अनुभूति स्वयम् हामी कर्मचारीहरुले गरिरहेका छौं ।’

यता सीइओ जोशी भने केहि समय यता सम्पर्कमा छैनन् । यसअघि नेप्सेले दुई फण्डको कारोबार बन्द गरेपछि यस विषयमा थप जानकारी अफिस गएर दिन्छु भनेका उनले त्यसपछि फोन उठाएका छैनन् । हामीले कम्पनीको न्याभ यसरी घट्नुको सबै दोष अन्य कर्मचारीले तपाईंमाथि लगाईरहेका छन् नि भन्ने प्रश्न गर्न उनलाई सम्पर्क गर्न खोज्दा उनले हाम्रो फोन नै उठाएनन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी