काठमाडौं । नागार्जुन नगरपालिकामा गरीब तथा सुकुम्बासीका लागि सरकारले भव्य अपार्टमेन्टहरु बनाएको धेरै वर्ष बितिसक्दा पनि बागमती, विष्णुमति र मनहरा किनारका सुकुम्बासीले भने झुपडी छाडेका छैनन् । सरकारले १२ करोड रुपैयाँ लगानी गरेर दुई स्थानमा निर्माण गरेका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् ।अहिले ती भवनहरु भुत बंगलाझैं बनेका छन् । सुकुम्बासी बस्तीमा रहेका नागरिकका लागि बनेका ती भवनहरुमा सुकुम्बासीहरु सर्न पाएका छैनन् ।
अव त अझ नागार्जुन नगरपालिकाका जनप्रतिनिधिले यी भवनमा सुकुम्बासीलाई बस्न नदिने भन्दै आवाज उठाईरहेका छन्। शहरी विकास तथा भवन निर्माण विभागका प्रवक्ता कृष्णप्रसाद दुवाडीले यी अपार्टमेन्टमा शहरका गरिबलाई राख्ने भनिए पनि हालसम्म शहरका गरिबहरुको पहिचान गर्न नसकिएकाले भवनहरु खाली रहेको बताएका छन् । र त यता भवन खाली, उता सुकुम्बासीहरुको बिजोग अनि डोजर चलाउँदा महासंग्राम ।
स्थानीयको प्रतिकार तयारि बलियो
सोमबार कानुनविपरित बसालिएको भन्दै सुकुम्बासी बस्ती हटाउन काठमाडौँ महानगरको डोजर थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा पुग्यो । तर महानगरको टोली आउंदैछ भन्ने जानकारी सुलसुलेबाट पाएकाहरुले महानगरको टोलीमाथि ढुंगाप्रहार गरे, पेट्रोल बम हाने र महानगर प्रहरीकै टाउको फुटाए । महानगरको टोली पुग्नेबित्तिकै रणमैदानमा परिणत भएको सुकुम्बासी बस्तीमा हातमा खुकुरी बोकेर प्रतिकारमा देखिएकाहरुले खुलेआम काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई मार्ने धम्की दिए । सुकुम्बासी बस्ती खाली गराउन थापाथली पुगेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीढुंगा खाएर फर्कियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुट्यो भने अन्य घाइते भए ।
यसो त सुकुम्बासी बस्ती रणमैदानमा परिणत हुनुअगाडी नै त्यहाँको प्रतिकार तयारी बलियो थियो । सुकुम्बासी बस्ती भत्काउने आएकाहरुलाई रोक्न उनीहरुले बाटोमा टायरमात्र बालेनन, पेट्रोल बमको जोहो गरे, ढुंगा इँटाहरु थुपारे, र बलिया मान्छेहरुलाई सडकमा उतारे । दृश्य यस्तो पनि देखियो, किरिया बसेकाहरुसमेत प्रतिकारमा उत्रिए । बालेन्द्र विरुद्ध चर्को नाराबाजी भयो र सुकुम्बासी बस्तीमा रहेकाहरुले बालेन्द्रलाई ज्यान मार्ने धम्कीसमेत दिए ।
ज्यान मार्ने धम्कीपछि सुराक्षा व्यवस्थामाथि बालेनको प्रश्न
आफुलाई ज्यान मार्ने धम्की आएपछि गृह मन्त्रालय र प्रहरी प्रशासनमाथि प्रश्न उठाएका छन् । सुकुम्बासी बस्तीका स्थानीयले परे बालेन शाहलाई मार्न पनि पछि नपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि बालेनको यस्तो प्रतिक्रिया आएको हो । झडपकै क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा एक स्थानीयले मेयर साहको ज्यान खतरामा रहेको अभिव्यक्ति दिएका थिए। ‘बालेन साहको ज्यान अब खतरामा हुन्छ। मर्न पनि हामी ज्यान नै दिन्छौँ, सके त्यसलाई पनि मार्छौं हामीले’, ती व्यक्तिले भनेका छन्। सो भिडियोलाई सामाजिक सञ्जालमा शेयर गर्दै बालेनले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’, बालेनले लेखेका छन् ।
कुनै हालतमा बस्ति नछोड्ने अडान
यता, चुनावका बेला नेतालाई यहि सुकुम्बासी बस्ती चाहिने, अनि अहिले त्यहि सुकुम्बासी बस्ती घाँडो हुने ? भन्दै बस्तीका मान्छेहरु चर्का चर्का स्वरमा मेयर बालेनको विरोध गरिरहेका थिए । हुन पनि हरेक चुनावमा नेताहरुले यो सुकुम्बासी बस्तीलाई भोट बैंकका रुपमा प्रयोग गरिरहे । र त १७ वर्षदेखि यो बस्तीमा देखिएको बस्ती संघर्ष अझै रोकिएको छैन ।
सुकुम्बासीहरु भनिरहेका छन्- ‘उचित व्यवस्था नगरी उनीहरुका बस्तीमाथि डोजर चलाइनु अपराध हो । एकाएक घर भत्किंदा सामान कहाँ राख्ने ? छोराछोरी कहाँ राख्ने ? यो जाडोमा कहाँ बस्ने ? स्थानीयका अनुसार थापाथलीको ‘सुकुम्बासी बस्ती’ मा ५० जिल्लाका नागरिक छन् । सरकारले कुनैपनि सकारी सुविधा दिंदैन। र त उनीहरु भनिरहेका छन्, मरें मरौंला, मार्नु परे पनि पछाडी पर्दैनौँ । तर बस्ती छोड्दैनौं। अझ उनीहरु भनिरहेका थिए, २०६९ सालमा बाबुरामले डोजर चलाउन खोज्दा त ठाउँ छोडेनौं भने अव पनि छोड्दैनौं ।’
हुन पनि यो बस्ती हटाउन भनेर २०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि डोजर चलाएका थिए । भट्टराई सरकारले इचंगुनारायणमा गरिब तथा सुकुम्बासीका लागि भन्दै अपार्टमेन्ट भवन बनाउन लगाएका थिए । तर, ती भवन अहिले ‘भूत बंगला’ भएका छन् । अहिले त्यहाँ सुकुम्बासी बस्दैनन् ।
यो देश सुकुम्बासीको पनि हो, सुकुम्बासीका समस्या पनि सरकारले सुन्नुपर्छ र उनीहरुको उचित व्यवस्था गरिनुपर्छ । सुकुम्बासी पनि यहि देशका नागरिक हुन्, र नागरिकले पानुपर्ने प्रत्येक अधिकारबाट उनीहरु किञ्चित बन्चित हुनुहुँदैन । सुकुम्बासीले पाउनुपर्ने सबै सुविधाहरु उनीहरुले पाउनुपर्छ । तर ती सुकुम्बासी, वास्तवमै सुकुम्बासी हुनुपर्छ । सुकुम्बासीका नाममा कसैले उक्साएका हुकुम्बासी हुनु हुँदैन । सुकुम्बासी सहि अर्थमा सुकुम्बासी हुनुपर्छ । गलामा ५ तोलाको सिक्री भिर्नेहरु, एउटा छोरो जर्मनी र अर्की छोरी अमेरिकामा छ भनेर फुर्ती लगाउँदै काठमाडौँमा घर किन्नेहरु सहि अर्थमा सुकुम्बासी हुनै सक्दैनन् । र होइनन् ती सुकुम्बासी, जो सुकुम्बासी शब्दकै बेइज्जत गरेर लामो समयदेखि खास सुकुम्वासीको नाम बेचेर करोडौंका मालिक भएका छन् ।
यो देशमा विधिको शासन छ, र हुनुपर्छ । विधिको शासनमा कानुनभन्दा माथि कोहि हुनै सक्दैनन् । बालेनलाई मार्छु भन्नेहरु अपराधी हुन्, अपराध गर्न उन्मत्त भएका यस्ता व्यक्तिहरुलाई पनि कानुनी कठघरमा ल्याउनैपर्छ । किनकि यो देशमा दिनदहाडै मान्छे मार्छु भन्ने अधिकार कसैलाई छैन । काठमाडौँलाई थप सुन्दर, र बिकसित बनाउन अहोरात्र लागि परेका बालेन्द्र शाहलाई सिध्याउँछु भन्नु बालेनमाथिको धम्कीमात्र होइन, काठमाडौँको जनमतमाथिको अपमान पनि हो । मान्छे ताकेर पेट्रोल बम हान्नुलाई त कानुनले नै अपराध मानेको छ । त्यसैले बालेन्द्रको महानगर विकास गर्ने अभियानमा बालेनविरुद्ध लाग्नेहरुलाई कानुनी दण्ड आवश्यक छ । किनकि सुकुम्बासी बस्तीमा डोजर बालेनले रहरले चलाएका होइनन्, बरु हामीलाई कसले छुने ? भन्ने शैलीमा भएको दादागिरी पछि उनले म हटाउँछु सुकुम्बासी बस्ती भनेर लागेका हुन् । भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्